<

काठमाडौं, २४ असोज ।

ललितबहादुर शाहीको परिवारले उनको नाममा पाँच लाखको अक्षयकोष स्थापना गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा माध्यामिक विद्यालयको मातहतमा रहने गरी पाँच लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो।

अक्षयकोषको संरक्षकमा स्वर्गीय ललितबहादुरकी पत्नी चन्द्रा राज्यलक्ष्मी शाही रहने छिन्। ललितबहादुरका छोरा अरुणबहादुर शाही, दीपक शाही र छोरी शान्ति राणा, हेमन्ती राणा, बसन्ती बस्नेतलगायतले अक्षयकोषका लागि रकम प्रदान गरेका हुन्।

मंगलबार काठमाडौंमा एक समारोहकाबीच विद्यालयका प्राधानाध्यापक तेजबहादुर सिंहलाई परिवारका सदस्यले अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गरेका छन्।

अरुणबहादुर शाहीले बुवाको नामबाट अक्षयकोष राख्न पाउँदा निकै खुसी लागेको बताए। यस्तै दीपक शाहीले आफ्ना पिताले सिभिल इन्जिनियरका रूपमा सुदूरश्चिममा गरेको सेवाको स्मरण गर्दै यो सानो प्रयासले उनको योगदानको जिवन्ततामा इट्टा थप्ने विश्वास व्यक्त गरे। उनले आफ्नी आमाको इच्छा अनुसार अक्षयकोष स्थापना गरिएको जानकारी दिए।

ललितबहादुरको जन्म डडेलधुरामा भएको थियो। पछि उनी धनगढी-२ मा बसाइ सरेका थिए। त्यही वडामा शारदा स्कुल रहेकाले आफूहरूको पहिलो रोजाइ बनेको परिवारले जनाएको छ।

प्रधानाध्यापक सिंहले तीन जना छात्र र तीन जना छात्रालाई अक्षयकोषको व्याजबाट आउने रकमले प्रत्येक वर्ष छात्रवृतिका रूपमा प्रदान गरिने जानकारी दिए। गरिव र जेहन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिने उनले बताए।

विद्यालयमा अन्य व्यक्तिले पनि यस्ता खाले छात्रवृति स्थापना गरेको र विद्यालयले पारदर्शी रूपमा प्रत्येक वर्ष छात्रवृति प्रदान गर्दै आएको उनले बताएका छन्। हाल विद्यालयमा २३ लाख १२ हजार १ सय ११ रुपैयाँको अक्षयकोष पुगेको उनी बताउँछन्।

यसका साथै उनले आफू विद्यालयको गुणस्तर अभिवृद्धिमा समेत केन्द्रित रहेको जानकारी दिए। अहिले विद्यालयमा करिव दुई हजार विद्यार्थी रहेको र नतिजा पनि सन्तोषजनक रहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0