<

 

रौतहट,असोज १४ गते ।
रौतहटमा निर्माणधिन विद्यालय भवन प्रयोगमा नआउँदा एक विद्यालयका विद्यार्थीहरु खुला आकाशमुनी पढ्न बाध्य भएका छन् ।


जिल्लाको देवाही गोनाही नगरपालिका–६ आधारभुत विद्यालय कर्कच गुठ्ठिका बालबालिकाहरु भवनको अभावमा खुला आकाशमुनी भुईमा बसेर पढ्न बाध्य छन् ।


प्राप्त जानकारी अनुसार सो विद्यालयका बालबालिकाका लागि चन्द्रशेखर साह नामका ठेकेदारले दुई महिना अघि निर्माण गरिसकेको दुई तल्ले आठ कोठे भवन अझै नगरपालिका वा विद्यालयलाई हस्तान्त्रण गर्न सकेका छैनन । जसका कारण बस्ने कोठा नपाएर सो विद्यालयका सयौं छात्रछात्राहरु विद्यालयको चौर र ब्रण्डामा बसेर पढ्ने गरेका छन् ।


नगरपालिकाको ७८ लाख रुपैयाको लागतमा २०८० साल कार्तिक मसान्त भित्रमा निर्माण कार्य पुरा गर्ने समय पाएका ठेकेदार साहले निर्माण कार्य पुरा गर्ने समय भन्दा तिन महिना अगाबै गत असारमा नै विद्यालय भवन निर्माण कार्य पुरा गरेर भुक्तानीका लागि नगरपालिकामा बिल भर्पाई पेश गरेका थिए ।
तर रकम अपुग भएको भन्दै नगरपालिकाले गएको असारमा भुक्तानी दिन नसक्दा भुक्तानी पाउनुपर्ने माग राख्दै निर्माण कम्पनीका ठेकेदार साहले नव निर्मित विद्यालयको भवन अझै पालिकालाई हस्तान्त्रण गरेका छैनन ।
निर्माण कार्यका लागि समझौता भएका ७८ लाख रुपैयाँ मध्ये ठेकेदारले ५० लाख रुपैया भुक्तानी पाइसकेका छन भने २८ लाख रुपैयाँ भुक्तानी पाउन अझै बाँकी छ ।


भुक्तानी पाउने माग गर्दै ठेकेदार साहले विद्यालय भवनको आठवटै कोठाहरुमा ताल्चा लगाइदिएका छन् । भुक्तानी नदिएसम्म ताल्चा नखोल्ने साहको अडानका कारण प्रयाप्त कोठाको अभावमा विद्यार्थीहरु महिनौ देखी घाम पानी सहेर खुला आकाशमुनी भुईमै बसेर पढ्दै आएका छन् ।
“खुला आकाशमुनि बसेर पढ्दा सा साना विद्यार्थीहरुलाई घाम र पानीले सताउने गर्छ,” विद्यालयका एक शिक्षकले भने् । कक्षा कोठामा जस्तो खुला आकाशको पढाइ सहज नभएको उनको भनाइ छ ।


कक्षा १ देखी ८ सम्म पढाई हुने सो विद्यालयका कक्षा ४ देखी ८ सम्मका विद्यार्थीहरुलाई अर्को भवनमा पढाउँदै आएको भए पनि कक्षा १ देखी ४ कक्षाका विद्यार्थीलाई कक्षा कोठा नपुगेका कारण खुला आकाशमुनि पढाउनुको विकल्प नभएको विद्यालयको भनाइ छ ।

वडा अध्यक्ष विष्णु कुमार दासले कार्यपालिकाको बैठकले निर्माण कम्पनीलाई बाँकी रहेको रकम भुक्तानी दिने विषयमा छलफल भइरहेको बताउँदै बक्यौता रकम बारे चाडै कुनै ठोस निर्णय हुने र तालाबन्दी पनि खुल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0