<

 

धनगढी, ४ भदौं ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजू राणा देउवाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सरकारले विशेष रणनीति अपनाउनु पर्नेमा जोड दिएकी छन् ।

 

उनले निजी शिक्षण संस्थाको नतिजा उत्कृष्ट भइरहेका बेला सामुदायिक विद्यालयको गुणस्तर खस्कनु चिन्ताको विषय भएको बताइन् ।

आईतबार कैलालीको धनगढीमा आयोजित समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि बजेट सम्बन्धी सूदुरपश्चिम प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले भनिन्,  ‘सामुदायिक विद्यालयले जस्तो किसिमको गुणस्तरीय शिक्षा दिनुपर्ने हो, हामी त्यसमा चुकिरहेका छौं । सरकारको प्रतिवद्धता छैन भने त्यो पनि होइन । बजेट छैन भनौं, बजेट पनि छ । तालिम पनि छ । तर जस्तो अपेक्षाकृत नतिजा आइरहेको छैन ।’

 

प्रतिनिधिसभा सदस्यसमेत रहेकी कांग्रेस नेतृ देउवाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालय मर्जर गर्नुपर्ने बेला आइसकेको बताइन् । ‘निजी विद्यालयको नतिजा राम्रो छ तर सामुदायिक र सरकारी विद्यालयहरु खुम्चिरहेका छन् । यसले गर्दा सामुदायिक विद्यालयहरु मर्जर गर्नुपर्ने बेला आइसकेको छ,’ उनले भनिन्, ‘सरकारी स्रोत साधनबाट कसरी उत्कृष्ट शिक्षा दिन सकिन्छ भन्नेमा हामी लाग्नुपर्नेछ ।’

उनले नेपालमै उच्च शिक्षा अध्ययन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । रानाथारु समुदायमा नेपालमै उच्च शिक्षा हासिल गर्नेको संख्या न्यून रहेको उल्लेख गर्दै उनले भनिन्,  ‘युवा विदेश पलायन डरलाग्दो अवस्था छ । यो चुनौतिलाई कसरी निकास दिन सकिन्छ भन्नेमा सरकारले काम गर्नुपर्छ । एडुकेसन कन्सलटेन्सी साँच्चिकै कन्सलटेन्सी हुन् कि म्यानपावर कम्पनी ? यसबारेमा अध्ययन गर्न जरुरी छ ।’

 

उनले नेपालमै पढ्दा पढ्दै विद्यार्थीले कमाउने व्यवस्था गर्न सके युवाहरु स्वदेशमै बस्न सहयोग पुग्ने विश्वास गरिन् । ‘विद्यार्थीको चाहना पनि यहि हुन्छ अनि अभिभावक पनि यहि चाहन्छन्,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0