आरके श्रीवास्तव,रौतहट,१४ गते असार ।
रौतहटको कटहरिया स्थित श्री बाल कल्याण विद्या मन्दिरले शैक्षिक सत्रका लागि आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । विद्यालयले अभिभावकहरूको हातहातमा क्यालेन्डर वितरण गर्दै औपचारिक रूपमा सार्वजनिक गरेको हो ।
विद्यालयका संस्थापक बैजु दास कथबनियाका अनुसार क्यालेन्डरमा शैक्षिक वर्षभर सञ्चालन हुने मासिक कार्यक्रम, विभिन्न अतिरिक्त क्रियाकलाप, सार्वजनिक तथा विद्यालय बिदा, परीक्षा तालिका, साथै बोर्डिङ विद्यालयका विविध गतिविधिहरू समावेश गरिएको छ । यसबाट विद्यार्थी, अभिभावक र शिक्षकलाई शैक्षिक योजना बनाउन सहज हुने विश्वास विद्यालयले लिएको छ । संस्थापक कथबनियाले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

अभिभावकलाई विद्यालयका गतिविधिबारे समयमै जानकारी गराउने उद्देश्यले वार्षिक शैक्षिक क्यालेन्डर तयार गरी वितरण गरिएको उनको भनाइ छ । वि.सं. २०७२ सालमा स्थापना भएको श्री बाल कल्याण विद्या मन्दिरले छोटो अवधिमै गुणस्तरीय शिक्षाका कारण कटहरिया क्षेत्रका अभिभावकको विश्वास जित्दै आएको छ । विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप, नैतिक शिक्षा र व्यक्तित्व विकासमा समेत विशेष जोड दिँदै आएको छ । विद्यालय प्रशासनले आगामी दिनमा पनि विद्यार्थीमैत्री र गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्दै उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।








