रामअधार प्रसाद यादव, रौतहट, असार १४ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत ूपूर्ण खोप, सुरक्षित भविष्यू भन्ने मूल नारासहित नगर खोप समन्वय समितिको सचिवालय, राजदेवी नगरपालिका, रौतहटको आयोजनामा आज २०८३ साल असार १४ गते आइतबार राजदेवी नगरपालिकाको सभाहलमा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
राजदेवी नगरपालिकाका नगर प्रमुख श्री भिखारी प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं प्रमुख अतिथि श्री राम अयोध्या राय यादव, स्वास्थ्य कार्यालय रौतहटका विशिष्ट अतिथि श्री अनिल कुमार कर्ण, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा राजदेवी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो। साथै पूर्ण खोप अभियानलाई थप प्रभावकारी र दिगो बनाउन घोषणा समारोह तथा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको थियो।
वक्ताहरूले प्रत्येक बालबालिकाले समयमै सबै खोप प्राप्त गर्नु उनीहरूको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै पूर्ण खोप सुनिश्चिततालाई दिगो रूपमा कायम राख्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रमको अवसरमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियानलाई सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै स्वास्थ्य शाखा प्रमुख रामाकान्त यादव, सह–संयोजक राकेश यादव तथा स्वास्थ्य शाखाका कर्मचारीहरूलाई उनीहरूको कार्यसम्पादनका आधारमा प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। नगर प्रमुख भिखारी प्रसाद यादव तथा उपस्थित अतिथिहरूले सम्मानित कर्मचारीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गरेका थिए।
राजदेवी नगरपालिकाले आगामी दिनमा पनि राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै पूर्ण खोप सुनिश्चितताको अवस्थालाई निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
उक्त कार्यक्रम भव्य एवं सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको जानकारी राजदेवी नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक राकेश यादवले दिएका हुन्।







