शिवनाथ कुशवाहा ,रौतहट, साउन ४ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८३ को असार महिनामा जिल्लाभर सञ्चालन गरेका सुरक्षा, अपराध अनुसन्धान तथा सेवा प्रवाहसम्बन्धी गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार असार महिनामा विभिन्न प्रकृतिका १२२ वटा अपराधका मुद्दा दर्ता भएका छन् भने ६३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार असार महिनामा ज्यानसम्बन्धी २२, आत्महत्यासम्बन्धी १९, चोरीका ५, संगठित तथा आर्थिक अपराधका २२, सामाजिक अपराधका १७, महिला तथा बालबालिकासम्बन्धी ६, सवारी ज्यानका ८ र अन्य २३ गरी कुल १२२ वटा मुद्दा दर्ता भएका छन् । गम्भीर अपराधतर्फ ३ वटा कर्तव्य ज्यान, १ हातहतियार, १९ बैंकिङ कसुर र ३ ठगीसम्बन्धी मुद्दा दर्ता भएका छन् ।
फैसला कार्यान्वयन अभियानअन्तर्गत प्रहरीले ६३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट ११ वर्ष ५ महिना २ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै ७ लाख ६९ हजार २०० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ९३ वटा उजुरी दर्ता भएका छन् भने घरेलु हिंसाका ३० उजुरीमध्ये २६ वटा मिलापत्रमार्फत समाधान गरिएको छ। यस अवधिमा ४२ जना हराएकामध्ये २० जनालाई प्रहरीले फेला पारेको छ ।
लागूऔषध नियन्त्रण अभियानमा प्रहरीले ४ वटा मुद्दा दर्ता गर्दै ६ जनालाई पक्राउ गरेको छ । बरामद लागूऔषधमा १ किलो ६५० ग्राम गाँजा, ७ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर, ४३ वटा ट्याब्लेट र २ वटा नाइट्रोभेट रहेका छन् ।
असार महिनामा जिल्लामा ९३ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन्। दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही रहेको प्रहरीको विश्लेषण छ। ट्राफिक कारबाहीबाट ९ लाख ९ हजार ५०० रुपैयाँ जरिवाना संकलन गरिएको छ ।
अवैध हातहतियार नियन्त्रण अभियानमा गरुडाबाट एक कटुवा पेस्तोल, ६ राउण्ड गोली, नगद नेपाली तथा भारतीय रुपैयाँ बरामद गरिएको छ। त्यस्तै भन्सार छली नियन्त्रणका क्रममा करिब २३ लाख ९२ हजार ५४५ रुपैयाँ बराबरका सामान बरामद गरी एक जनालाई पक्राउ तथा ६ वटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
विपद् व्यवस्थापनतर्फ आगलागी, बाढी, करेन्ट, डुबान तथा सर्पदंश लगायत २५ वटा विपद्का घटना भएका छन्। ती घटनामा ८ जनाको मृत्यु, ९ जना घाइते र १ जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध, आत्महत्या, महिला हिंसा, साइबर अपराध, ट्राफिक सचेतना लगायतका ९९ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी २ हजार ९ सय ३२ जनालाई प्रत्यक्ष लाभान्वित गरिएको छ। विद्यालय केन्द्रित २६ वटा कार्यक्रममा थप १ हजार ६ सय १५ विद्यार्थी सहभागी भएका छन् ।
प्रहरीले असार महिनाभर ८१५ वटा सार्वजनिक उजुरीमध्ये ८०२ वटा फछ्र्योट गरेको, २३० वटा नागरिकता मुचुल्का तयार गरेको, १६ हजारभन्दा बढी टेलिफोन कलमा सेवा दिएको तथा ४ हजार २ सय ७४ जना सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गरेको जनाएको छ। साथै हराएका तथा चोरी भएका ३१ वटा मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको पनि प्रहरीको उपलब्धिमा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आगामी दिनमा आधुनिक प्रविधिको प्रयोग, प्रभावकारी प्रहरी परिचालन तथा नागरिकमैत्री सेवामार्फत अपराध नियन्त्रण र शान्ति सुरक्षालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।







