काठमाडौँ । जारी फिफा विश्वकप फुटबल अन्तर्गत पहिलो सेमिफाइनलमा आजराती फ्रान्स र स्पेन आमनेसामने हुँदैछन् । अमेरिकाको डलास रंगशालामा हुने यो खेल नेपाली समय अनुसार आजराती १२: ४५ बजेदेखि शुरु हुदैछ ।
प्रतियोगिताका दुई प्रमुख उपाधि दाबेदार मानिएका यी टोलीबीचको प्रतिस्पर्धालाई विश्वकपकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एकका रूपमा हेरिएको छ । यस खेलको विजेताले उपाधिका लागि इङ्ग्ल्यान्ड वा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।
फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै यस विश्वकपमा लगातार छैटौं जित निकालेको थियो । अब स्पेनलाई पराजित गर्न सके फ्रान्स विश्वकप इतिहासमा लगातार सात खेल जित्ने दोस्रो युरोपेली टोली बन्नेछ । यसअघि इटालीले सन् १९३४ र १९३८ को विश्वकपमा लगातार सात जित हासिल गरेको थियो । विश्वकपको अन्तिम चारमा फ्रान्सको यो आठौं यात्रा हो । जर्मनीपछि सबैभन्दा धेरै पटक सेमिफाइनल पुगेको टोली पनि फ्रान्स नै हो । सन् १९९८, २००६, २०१८ र २०२२ मा फ्रान्सले लगातार चारपटक सेमिफाइनल जितेको छ । पछिल्ला तीन सेमिफाइनलमा उसले कुनै गोल पनि खाएको छैन । यदि फ्रान्स फाइनलमा पुग्न सफल भयो भने जर्मनी र ब्राजिलपछि लगातार तीन विश्वकप फाइनल खेल्ने तेस्रो राष्ट्र बन्नेछ । फ्रान्सका कप्तान किलियन एम्बाप्पे यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मोरक्कोविरुद्ध खेल्दा सामान्य समस्या देखिए पनि स्पेनविरुद्ध खेल्नेछन् ।
यस प्रतियोगितामा उनले आठ गोल गरिसकेका छन् । गोल्डेन बुटको दौडमा उनी लियोनेल मेसीसँग बराबरीमा छन् । विश्वकपका नकआउट चरणमा एम्बाप्पेको कुल गोल संख्या १२ पुगेको छ, जुन अहिलेसम्मकै सर्वाधिक हो । यद्यपि उनले यसअघि खेलेका दुवै सेमिफाइनलमा भने गोल गर्न सकेका छैनन् । एम्बाप्पे र उस्मान डेम्बेलेबीचको समझदारी पनि फ्रान्सका लागि बलियो पक्ष बनेको छ । उनीहरूले एकअर्काका लागि १९ अवसर सिर्जना गरिसकेका छन्, जुन विश्वकप इतिहासकै उत्कृष्ट साझेदारीमध्ये एक हो ।
अर्कोतर्फ स्पेनले यस विश्वकपमा उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको छ । क्वार्टरफाइनलमा बेल्जियमलाई २-१ ले हराउदा चार्ल्स डे केटेलारेले गरेको हेडर नै प्रतियोगिताभर स्पेनले खाएको एकमात्र गोल हो । बेल्जियमविरुद्धको खेल अतिरिक्त समयमा जाने देखिएको अवस्थामा वैकल्पिक खेलाडी मिकेल मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्याएका थिए । उनी विश्वकप इतिहासमा नकआउट चरणका दुई खेलमा वैकल्पिक खेलाडीका रूपमा विजयी गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २०१८ विश्वकपयता स्पेनले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका २७ खेलमध्ये केवल एक खेल मात्र हारेको छ । सन् २०२२ को विश्वकपमा जापानसँग पराजित भएपछि स्पेन लगातार १४ खेलमा अपराजित छ । यस अवधिमा उसले केवल पाँच गोल मात्र खाएको छ र नौ खेलमा कुनै गोल खाएको छैन । स्पेन सन् २०१० पछि पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
दुवै टोलीमा कुनै खेलाडी प्रतिबन्धमा छैनन् । फ्रान्सले विलियम सालिबा, दायो उपामेकानो र ओरेलिए चुआमेनीको शारीरिक अवस्थामाथि विशेष निगरानी राखेको छ । चुआमेनी मांसपेशीको समस्याका कारण पछिल्ला दुई खेल गुमाएका थिए । त्यस्तै स्पेनका निको विलियम्स चोटमुक्त भएपछि खेल्ने अपेक्षा गरिएको छ भने येरेमी पिनो पनि काँधको चोटबाट फर्किन सक्ने सम्भावना छ ।
विश्वकपमा फ्रान्स र स्पेनबीच यो दोस्रो भेट हुनेछ । यसअघि सन् २००६ को अन्तिम १६ को खेलमा फ्रान्सले ३-१ को जित निकालेको थियो । तर पछिल्ला १० अन्तर्राष्ट्रिय भेटमध्ये स्पेनले सात खेल जितेको छ भने फ्रान्सले केवल दुई खेलमा सफलता पाएको छ । स्पेनले पछिल्ला दुई भेटमा लगातार जित निकालेको छ ।
युरोकप २०२४ को सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले हराएको थियो । त्यसपछि गत वर्ष राष्ट्र लिगको अन्तिम चारको रोमाञ्चक खेलमा पनि स्पेनले फ्रान्सलाई ५-४ ले पराजित गरेको थियो ।
स्पेनका युवा स्टार लामिन यमालले सेमिफाइनलअघि भनेका छन्- ‘फ्रान्स लगातार तेस्रो विश्वकप फाइनलमा पुग्ने कि हामी उनीहरूलाई लगातार तेस्रो पटक हराउने भन्ने कुरा मैदानमै तय हुनेछ । जे भए पनि हामी फ्रान्ससँग डराएका छैनौँ ।’एभरेष्ट न्यूज एजेन्सी






