२०८३ श्रावण ५
२०८३ श्रावण ५

रविन्द्र प्रजापतिको स्मृति दिवसमा न्यायको माग

बज्जिकाञ्चल संवाददाता,रौतहट,०४ गते साउन ।
रौतहटको कटहरिया नगरपालिका–५ निवासी स्वर्गीय युवा पत्रकार रविन्द्र प्रजापतिको प्रथम स्मृति दिवस आइतबार कटहरियास्थित विवाह भवनमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरी भावपूर्ण रूपमा मनाइएको छ ।

भावपूर्ण हार्दिक श्रद्धाञ्जली,आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कारबाही गर, पीडितलाई न्याय देऊ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा स्वर्गीय पत्रकार प्रजापतिको तस्वीरमा माल्यार्पण, दीप प्रज्वलन तथा मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा वक्ताहरूले स्वर्गीय पत्रकार प्रजापतिले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँको निधनको घटनालाई गम्भीर रूपमा अनुसन्धान गरी आत्महत्याका लागि दुरुत्साहन गर्ने व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याउन राज्यसँग माग गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दलित पत्रकार संघ, रौतहटका अध्यक्ष राजेश पासवानले पत्रकार प्रजापति एक इमानदार, मेहनती र निडर पत्रकार भएको उल्लेख गर्दै यस्ता दुःखद घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए । उनले दोषीमाथि कानुनी कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरे ।

त्यसैगरी पत्रकार सागर संगम ठाकुरले आफूले नजिकको सहकर्मी गुमाउनुपरेको पीडा व्यक्त गर्दै पत्रकार रविन्द्र प्रजापतिलाई आत्महत्याको अवस्थासम्म पुर्‍याउने जो–कोही भए पनि उनीहरूमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने बताए । उनले पत्रकारको सुरक्षासँगै मानसिक तथा सामाजिक दबाबका विषयमा समेत राज्यले गम्भीर ध्यान दिनुपर्ने धारणा राखे ।

यस्तै आम जनता पार्टी आजपा रौतहटका जिल्ला अध्यक्ष नरेश तुरहा तथा आजपा नेता विवेक साहले पनि स्वर्गीय पत्रकार प्रजापतिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरे ।

कार्यक्रममा कटहरिया नगरपालिकाका पूर्व नगरप्रमुख सियाराम कुशवाहा,कटहरिया–५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, बज्जिकाञ्चल एफएमका सञ्चालक आर.के.श्रीवास्तव,स्थानिय मञ्जु गिरी लगायतले स्वर्गीय पत्रकार प्रजापतिको व्यक्तित्व, पत्रकारिताप्रतिको समर्पण र सामाजिक योगदानको स्मरण गरेका थिए ।

सो अवसरमा स्थानीय जनप्रतिनिधि, पत्रकार, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शुभेच्छुक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

स्वर्गीय पत्रकार रविन्द्र प्रजापतिको जन्म मिति २०५३ साल भदौ १५ गते तथा स्वर्गारोहण मिति २०८२ साल साउन ३ गते रहेको स्मरण गर्दै उहाँको पवित्र स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

वक्ताहरूले पत्रकार प्रजापतिको निधन केवल एक व्यक्तिको क्षति नभई सम्पूर्ण पत्रकारिता क्षेत्रकै अपूरणीय क्षति भएको उल्लेख गर्दै सत्य, न्याय र उत्तरदायित्व सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका थिए । साथै, उहाँको स्मृतिलाई सदैव सम्मानपूर्वक जीवित राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।