आरके श्रीवास्तव,रौतहट, असोज ९ गते ।
बडादशैंको चाैथाे दिन आज देशभर सर्वसाधारण आ–आफ्ना घर तथा मठ–मन्दिरहरूमा विशेष पूजा–पाठमा व्यस्त देखिएका छन् । रौतहट जिल्लाको कटहरिया, गरूडा, विजयपुर, मौलापुर लगायतका ठाउँहरूमा पनि धार्मिक आस्थाले ओतप्रोत वातावरण छाएको छ ।
स्थानीय मन्दिरहरूमा बिहानैदेखि सर्वमंगल मांगल्यकाे धुनले गुञ्जमान भएको छ । धार्मिक सङ्गीत, वैदिक मन्त्रोच्चारण र दुर्गा स्तोत्र पाठले सम्पूर्ण वातावरण भक्तिमय बनेको छ ।
विभिन्न चाैक,देवि शक्तिपिठमा दुर्गा भगवतीको विशेष पूजा, घटस्थापना र दुर्गा सप्तशती पाठको आयोजना गरिएको छ ।
गरूडामा रहेको प्रसिद्ध दुर्गा मन्दिरमा आज बिहानदेखि दर्शनार्थीहरूको भीड लागेको छ । मौलापुर र विजयपुरका मन्दिरहरूमा पनि विशेष सजावटसहित पूजा सम्पन्न गरिएको छ ।
दशैंको समयमा भीडभाडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ । नगरपालिकाहरूले सरसफाइ तथा सार्वजनिक स्थानहरूमा बत्तीको राम्रो व्यवस्था गरेका छन् ।
“दशैं हाम्रो चाड मात्र होइन, संस्कृति हो,” कटहरियाका एक स्थानीय बासिन्दाले भने, “हरेक वर्ष झैं यसपालि पनि हामी श्रद्धा र उल्लासका साथ पर्व मनाइरहेका छौं।”








