बज्जिकाञ्चल,१६ गते माघ
यो चुनावको मुखमा गोविन्द चौधरीको बारेमा लेख्नु ‘गोविन्द चौधरी’ को प्रचार हुने जस्तो लागेर मैले केही पनि नलेख्ने विचार गरें । तर पुनः सोचें, मतदानको आधारमा आफ्नो जन प्रतिनिधि छनौट गर्दा मतदाताहरूले आफूले छनौट गर्ने जन प्रतिनिधिको बारेमा थाहा पाउन आवश्यक हुन्छ छ । मतदाताहरूलाई जे जति जानकारी उम्मेदवारहरूको बारेमा प्राप्त हुन्छ सोही अनुसार मतदाताहरूलाई योग्य जन प्रतिनिधि छनौट गर्न सजिलो हुन्छ । कसैको करकाप वा धाक धम्कीमा परेर होइन, कुनै लोभ लालचमा परेर होइन, मतदाताहरूले स्वतन्त्र रुपमा आफूले योग्य ठानेको जन प्रतिनिधि छनौट गर्न सजिलो हुन्छ ।
यस आलेखको आशय गौविन्द चौधरीलाई नै मत दिनु होस भनी मतदाताहरूलाई मनोवैज्ञानिक दबाब दिनु भने होइन् । यो आलेख गोविन्द चौधरीबारे मसङ्ग भएको अनुभव साझा गर्नु हो । गोविन्द चौधरीले यस क्षेत्रको विकासमा पुर्याएको योगदानको बारेमा भन्नु हो ।

गोविन्द चौधरीसङ्ग मैले समयको एक महत्वपूर्ण काल खण्ड साथ साथ रहेर बिताएका छु । सो क्रममा हामी दुई, गोविन्द चौधरी र म, हामी दुबैले एउटै थालमा खाएका छौ । एउटै कोठमा सुतेका छांै । साथ साथ हिँडेका छौं । यस हिसाबले गोविन्द चौधरीलाई नजिकबाट थाहा पाउने व्यक्तिहरू मध्ये म पनि एक पर्दछु । सिमरा भवानीपुरको स्कूलमा हामीले सङ्गै पढेको हो । मेरो घर पनि सिमरा भवानीपुरमा नै (थियो) हो ।
हामीले २०३३ सालमा सङ्गै एस एल सी परीक्षा गौरबाट दिएका हौ । एउटै कोठमा बसेर, सङ्गै अध्ययन गरेर परीक्षा दिएका हौ । सङ्गै उतिर्ण गरेका हौं । बाल्यकाल देखिनै गोविन्द चौधरीमा ज्ञानको ठूलो भोक थियो । उच्च शिक्षा हासिल गर्ने उद्देश्य थियो । सोही अनुसार उच्च शिक्षाका लागि, आफ्नो घरको वातावरण प्रतिकूल हुँदा हुँदै पनि, उनी उच्च शिक्षा प्राप्त गर्ने वनारस हिंडे । मेरो बुझाइमा, उनको पिता स्व रामसुरत चौधरीको मनसाय छोराले घर गृहस्थीको व्यवस्थापन गरोस भन्ने थियो । सम्पत्तिको संरक्षण गरोस भन्ने थियो । त्यसबेलमा रामसुरत चौधरीको स्वामित्वमा ३५० बिघाको आसपासमा जमिन थियो । यो मैले सुनेको हो । ठूलो लगानी–बझानी थियो । यो भने मैले स्वयंले देखेको हो ।
अब गोविन्द चौधरीसङ्ग मैले बिताएका केही महत्वपूर्ण क्षणहरूको चर्चा गर्ने अनुमति माग्छु । २०३२ सालतिर म र गोविन्द चौधरी मिलेर सिमरा भवानीपुर स्थिति आधार प्राइमरी स्कूल ( त्यस बेला पाँच कक्षासम्म मात्र पढाइने) मा एक पुस्तकालयको स्थापना गरेका थियौ । हामी दुईको उद्देश्य सिमरा भवानीपुर लगायत वरिपरिका गाउँका व्यक्तिहरूलाई सहजै र निःशुल्क अध्यन गर्न सजिलो होस भन्ने थियो । त्यो पुस्तकालयको स्थापनाले गोविन्द चौधरीमा युवा कालदेखि नै आफ्नो क्षेत्रका जनता साक्षर होस्, शिक्षित होस् भन्ने चाहना रहेको पुष्टि हुन्छ । उनी शिक्षा प्रेमी रहको पुष्टि हुन्छ । आज भन्दा दसकौ पहिले शिक्षाको चेत गोविन्द चौधरीमा थियो ।
अर्को एक घटना । यो घटना २०३७ सालतिरको हो । त्यसबेला हाम्रो बसाई (घर) वीरगंजमा थियो । मेरो पिता देवराज उपाध्याय मात्र सिमरा भवानीपुरमा बस्नु हुन्थ्यो र उहाँ काम विशेषले वीरगंजमा हुनु हुन्थ्यो । देवराज उपाध्याय सिमरा भवानीपुर स्थिति स्कूलको स्थापना कालदेखिको प्रधान अध्यापक हुनु हुन्थ्यो । पिता वीरगंज रहेको स्थितिमा, २०३७ साल तिर, केवल म मात्र सिमरा भवानीपुरमा थिए, खेती गराउनका लागि बसेको थिएँ ।
म सिमरा भवानीपुर रहेको बेला, २०३७ सालमा, मलाई– ‘काठमाण्डौ जानु, त्यहाँ अस्थाई जागिरे पाउने सम्भावन छ’ भनी जानकारी प्राप्त भयो । म काठमाडौ जान सुरिएँ । त्यो बेलामा सरकारी जागिर पाउनु भनेको भाग्य खुल्नु सरह थियो । तर मसङ्ग काठमाडौ जान एक पैसा पनि थिएन । अर्कोतिर खबर पाएको दुई दिन भित्रमा काठमाण्डौ जानु पर्ने बाध्यता थियो। के गर्ने ? म ठूलो समस्यामा परें ।
यस्तो बेलामा साथीलाई गुहार्नु पर्छ भनेर म गोविन्द चौधरीको घर पुगें । गोविन्द चौधरीलाई भने ‘म त ठूलो समस्यामा परें । ’ गोविन्द चौधरीले प्रश्न गरे, ‘के हो त्यस्तो ठूलो समस्या?’ मलै भने, मैले भोली नै चन्द्रनिगाहपुर, वीरगंज हुँदै काठमाडौ जानु छ । तर मसङ्ग खल्तीमा एक पैसा पनि छैन् ।’ मेरो कुरा सुनेर गोविन्द चौधरी एक छिन हाँसे । पछि हाँस्दै भने, ‘यो पनि कुनै समस्या हो ।’ उनले मेरो खल्तीमा काठमाडौ जान, त्यस बेलाको खर्च अनुसार, पुग्ने जति पैसा हालिदिए ।
गोविन्द चौधरीबाट पैसा पाएको भोलि पल्ट म काठमाण्डौ पुगे । जागिर पाएँ पनि । मन मनै गोविन्द चौधरीलाई हृदयभरिको धन्यवाद दिए । गोविन्द चौधरी आफ्नो युवा कालदेखि नै अति नै सहयोगी व्यक्ति रहेको मैले अनुभूत गरेको छु ।
माथि उल्लेख गरेका केही प्रतिनिधि घटनाहरू मात्र हुन् । गोविन्द चौधरीबाट मैले अनेक सहयोग पाएको छु । साथीको रुपमा अटुट स्नेह पाएको छु । यस क्षेत्रको विकासको लागि गोविन्द चौधरीले गरेका योगदानहरूको सूची लामो छ ।
एउटा महत्वपूर्ण प्रशंग यहाँ ल्याएर गोविन्द चौधरीसङ्गको मेरो अनुभव टुंयाउँ छु । राजनीतिमा लागेर अनेक व्यक्तिहरूले करोडौं कमाए । महल बनाए । तर गोविन्द चौधरीले, उल्टो, आफ्नो सम्पत्ति राजनीतिमा खर्च गरे । उनको पिता त्यसबेला रौटहट भरिमा, गिनेचुनेका दुई चार धनी मध्ये एकमा पथ्र्यो । त्यति सम्पति चौधरी परिवारसङ्ग थियो । तर गोविन्द चौधरीले आफ्नो सम्पत्ति राजनीतिमा लगाए । जनसेवामा केन्द्रित रहे । धन कमाउन पट्टी उनी लागेनन् । कुनै बेला ३५० बिघाको हाराहारीमा जग्गा हुने गोविन्द चौधरीसङ्ग अहिले केवल आठ दस बिघा जति मात्र बाँकि छ रे । यो मैले सिमरा भवानीपुरका बासिन्दाहरूले नै भनेको सुनेको हो ।
गोविन्द चौधरीसङ्ग मैले केही लाभ लिनु छैन् । मैले उनको लागि भक्ति–गान गाउनु पनि छैन् । मैले उनलाई जस्तो देखें त्यस्तै भनेको मानिसमा अनके किसिमका कमजोरीहरू पनि हुन्छन् । त्यस अर्थमा उनका पनि केही कमजोरी होलान् । तर आफ्नो क्षेत्रको विकासको लागि, आफ्नो क्षेत्रको जनताको सुख र समृद्धिका लागि, गोविन्द चौधरी कटिवद्ध रहेको मैले आफ्नै आँखाले देखेको छु । भोगेको छु ।
भबतु सब्ब मङगलम ।
विश्वराज आधिकारी









