रौतहट, साउन ०९ गते । रौतहट जिल्ला अदालत बार एसोसिएसन, गौरको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन भइरहेको छ। ६६ जना मतदाता रहेको उक्त संस्थामा ९ सदस्यीय कार्यसमितिका पदाधिकारी चयन गर्न १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

निर्वाचनमा अध्यक्ष पदका लागि अधिवक्ता लालबाबु राय यादव र अधिवक्ता हेमचन्द्र लाल कर्ण नेतृत्वका दुई समूहबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। दुवै पक्षले आफ्नो समूहको जित सुनिश्चित गर्न मतदातासँग अन्तिम चरणको भेटघाट र समन्वयलाई तीव्र बनाएका छन्।
कानुन व्यवसायीहरूको साझा संस्था बार एसोसिएसनको नयाँ नेतृत्वले संस्थागत विकास, पेशागत हकहितको संरक्षण तथा न्यायिक क्षेत्रको प्रभावकारी समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। निर्वाचन शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न हुने विश्वास गरिएको छ।

निर्वाचनबाट विजयी हुने सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै, संस्थाको गरिमा अभिवृद्धि, कानुन व्यवसायीहरूको हकहित संरक्षण तथा न्यायिक सेवाको सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याउन सफल रहून् भन्ने कामना गरिएको छ।







