आरके श्रीवास्तव, रौतहट, साउन ८ गते —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कटहरिया नगर कार्यसमितिले रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी फ्यालिएको घटनाको घोर भर्त्सना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ।
शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा नगर उपसभापति सिला कुमारी साहले उक्त घटना अलोकतान्त्रिक, अमानवीय तथा आपराधिक भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनमाथिको गम्भीर प्रहार भएको बताएकी छन्।
विज्ञप्तिमा जनताको मतबाट निर्वाचित भई संसदमा जनताका समस्या तथा सुशासनका पक्षमा आवाज उठाइरहेका सांसदमाथि गरिएको यस्तो दुर्व्यवहार कुनै पनि दृष्टिले स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ। असहमति वा फरक विचार व्यक्त गर्न लोकतान्त्रिक र कानुनी माध्यम उपलब्ध हुँदाहुँदै यस्ता अराजक गतिविधि गर्नु विकृत मानसिकताको उपज भएको रास्वपाको ठहर छ।
रास्वपा कटहरिया नगर कार्यसमितिले घटनामा संलग्न व्यक्ति वा समूहको तत्काल पहिचान गरी कानुनबमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासन, नेपाल प्रहरी तथा गृह प्रशासनसँग माग गरेको छ। साथै, जनप्रतिनिधिहरूले शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
नगर उपसभापति सिला कुमारी साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक संस्कृतिको संरक्षण, कानुनी शासनको सम्मान तथा राजनीतिक असहमतिलाई सभ्य र शान्तिपूर्ण ढंगबाट अभिव्यक्त गर्न सबै पक्षलाई आग्रह गरिएको छ।
[9:05 am, 25/07/2026] आरके श्रीवास्तव अध्यक्ष-लाेकतान्त्रिक पत्रकार संघ राैतहट: डिभिजनल वन अधिकृत मनोज ठाकुरको अग्रसरतामा वन अतिक्रमण हटाइयो, २ बिघा क्षेत्रमा पुनः वृक्षारोपण
आरके श्रीवास्तव,राैतहट,०८ गते साउन ।
रौतहट जिल्लाको गुजरा नगरपालिका–३, बलुवा स्थित श्री अन्जुमन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र अतिक्रमण गरी करिब एक महिनाअघि खनजोत गरेर धान रोपिएको क्षेत्रमा डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत मनोज ठाकुरको नेतृत्व र अग्रसरतामा संयुक्त टोलीले अतिक्रमण हटाई पुनः वृक्षारोपण गरेको छ ।
वन क्षेत्र संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै डिभिजनल वन अधिकृत ठाकुरको पहलमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखसँग आवश्यक समन्वय गरी मिति २०८३ साउन ८ गते वन कर्मचारी, जङ्गलसहिया तथा सशस्त्र प्रहरीका विभिन्न बेसहरूको संयुक्त टोली परिचालन गरिएको थियो ।
संयुक्त टोलीले अनुमानित २ बिघा वन क्षेत्र अतिक्रमण गरी रोपिएको धान हटाई उक्त क्षेत्रमा टिक (सागवान) जातका बिरुवा रोपण गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजनल वन अधिकृत मनोज ठाकुरले वन अतिक्रमण कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै वन क्षेत्रको संरक्षणका लागि कानुनअनुसार कडा रूपमा अघि बढिने बताए । उनले सामुदायिक वनको संरक्षण सरकार, सुरक्षा निकाय र स्थानीय समुदायको साझा दायित्व भएकाले वन अतिक्रमण गर्ने कार्यविरुद्ध निरन्तर अभियान सञ्चालन गरिने उल्लेख गरे ।
डिभिजन वन कार्यालयका अनुसार यसअघि पनि उक्त अतिक्रमित क्षेत्रमा वृक्षारोपण गरिएको थियो। तर पुनः वन क्षेत्र जोतेर खेती गरिएको पाइएपछि तत्काल संयुक्त टोली परिचालन गरी अतिक्रमण हटाइएको हो ।
वन संरक्षण अभियानलाई प्रभावकारी बनाउन डिभिजनल वन अधिकृत ठाकुरले सुरक्षा निकाय र स्थानीय सरोकारवालासँगको समन्वयलाई अझ सुदृढ बनाउने तथा अतिक्रमित वन क्षेत्रको पुनःस्थापना अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।







