काठमाडौँ । जिल्ला सिरहाको लहान नगरपालिका–६ स्थित आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम एस पाल पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर लेखापरीक्षणका लागि सेवाग्राहीले पेस गरेका कागजात नमिलेको भन्दै दुःख हैरानी दिएर कर अधिकृत पालले घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
उक्त सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाललाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार आफ्नै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो ।
पक्राउका क्रममा घुसस्वरूप लिइएको पाँच लाख रुपैयाँ नगद र एउटा मोबाइल फोन समेत बरामद गरिएको आयोगले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी







