२०८३ श्रावण ७
२०८३ श्रावण ७

सम्पादकिय/ समाज परिवर्तनका ठूला कथाहरू प्रायः सहरका चम्किला भवनहरूबाट होइन, गाउँका धुलाम्मे गल्लीहरूबाट सुरु हुन्छन्। र इतिहास गाउँका धुलाम्मे बाटो, अभावले चर्किएका घर, विभेदले थिचिएका बस्ती र न्यायको खोजीमा उठेका साहसी आवाजबाट जन्मिन्छन्। रौतहट जिल्लाको वृन्दावन नगरपालिका–८, बहुअरी गाउँका राजेश कुमार पासवान (निर्माणी) को जीवन यात्रा पनि त्यस्तै एउटा संघर्षको इतिहास हो—जहाँ आँसु छ, पीडा छ, अपमान छ, तर त्यसभन्दा ठूलो साहस, आत्मविश्वास र अन्यायविरुद्ध नझुक्ने अडान पनि छ।

आर्थिक अभाव, सामाजिक विभेद र विकासको चरम उपेक्षाबीच हुर्किएका उनले बाल्यकालदेखि नै आफ्नो गाउँको वास्तविकता नजिकबाट देखे। सडक थिएन, अवसर थिएन,शिक्षा थिएन,समान व्यवहार थिएन। चुनावका बेला ठूलाठूला वाचा गर्नेहरू चुनाव सकिएपछि गाउँ फर्केर नआउने दृश्य उनले पटक–पटक देखे।

जनताको विश्वासमाथि राजनीति गर्ने प्रवृत्ति र दलित बस्तीप्रतिको बेवास्ताले उनको मनमा एउटा प्रश्न जन्मायो—यदि अन्यायका विरुद्ध कोही बोल्दैन भने परिवर्तन कसरी सम्भव हुन्छ? त्यही प्रश्नको उत्तर खोज्दै उनले पत्रकारितालाई आफ्नो हतियार बनाए। कलमलाई आवाजविहीनहरूको आवाज बनाए। गाउँका समस्या, भ्रष्टाचार, सामाजिक विभेद, विकास निर्माणका अवरोध र जनताको पीडालाई निरन्तर सार्वजनिक गर्दै उनी सत्ता होइन, सत्यको पक्षमा उभिए।

दलित समुदायका मुद्दालाई राष्ट्रिय स्तरमा संस्थागत रूपमा उठाउने उद्देश्यले उनले राष्ट्रिय दलित पत्रकार संघ, नेपालको स्थापना अभियानमा अग्रणी भूमिका निर्वाह गरे। रौतहटका संस्थापक अध्यक्षका रूपमा दुई कार्यकाल नेतृत्व गर्दै उनले दलित पत्रकारिताको पहिचान निर्माणमा योगदान दिए। अहिले पनि केन्द्रीय सचिवका रूपमा उनी सामाजिक न्यायको अभियानलाई निरन्तर अघि बढाइरहेका छन्। उनका लागि पत्रकारिता समाचार लेख्ने पेशा मात्र होइन, अन्यायविरुद्धको प्रतिरोध हो।

जनताले उनको संघर्ष देखे, इमानदारी देखे र विश्वास गरे। यही विश्वासले २०७९ सालको स्थानीय तह निर्वाचनमा उनलाई दलित अल्पसंख्यक कोटाबाट वृन्दावन नगरपालिकाको नगर कार्यपालिका सदस्य बनायो। तर उनी पद पाएपछि फेरिने नेतामध्येका भएनन्। उनले पदलाई सुविधा होइन, जिम्मेवारी माने।

उनले आफ्नै व्यक्तिगत जग्गा उपलब्ध गराएर दलित धर्मशाला निर्माणमा योगदान दिए। वर्षौंदेखि उपेक्षित सडकमा ढलान र नाला निर्माण गराए। बहुअरी–पिपरिया छठघाट निर्माण तथा सौन्दर्यीकरणमार्फत धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा भूमिका खेले।यसका साथै उनले दलित तथा अति विपन्न परिवारका बालबालिकाका लागि निःशुल्क ट्युशन सञ्चालन गरेर स्वयं अध्यापनसमेत गरे। यी कामहरू भाषणबाट होइन, व्यवहारबाट नेतृत्व देखाउने उदाहरण बने।

यद्यपि, आफ्ना सबै उपलब्धिको श्रेय उनले कहिल्यै एक्लैले लिँदैनन्। बरु, यो यात्रा सामूहिक प्रयासको परिणाम भएको उनी बारम्बार बताउने गर्छन्। उनका अनुसार यस अभियानमा निरन्तर साथ, सहयोग र विश्वास गर्ने वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मी, वडा नं. ८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह, आफ्ना निकट सहयात्री मित्र सलामोदिन दर्जी तथा आफ्ना समुदायका हरेक अधिकारकर्मी, शुभेच्छुक र आम नागरिकप्रति उनी सधैं कृतज्ञ छन्। “मैले गरेको हरेक काममा उहाँहरूको साथ, विश्वास र प्रेरणा जोडिएको छ। यो सफलता मेरो एक्लैको होइन, सामाजिक न्यायमा विश्वास गर्ने सम्पूर्ण समुदायको साझा उपलब्धि हो,” भन्ने उनको भनाइ छ।

तर न्यायको पक्षमा उभिने बाटो कहिल्यै सहज हुँदैन। जनताको पक्षमा बोलेको मूल्य उनले पनि चुकाए। उनीमाथि विभिन्न मुद्दा दर्ता भए, हिरासत बस्नुपर्‍यो, चरित्रहत्या गर्ने प्रयासहरू भए। तर कानुनी प्रक्रियापछि अदालतबाट उनी सबै आरोपबाट सफाइ पाए। यसले एउटा सन्देश दियो—झुट केही समयका लागि ठूलो देखिन सक्छ, तर सत्यलाई स्थायी रूपमा हराउन सक्दैन।

उनको जीवनको सबैभन्दा पीडादायी अध्याय भने त्यतिबेला आयो, जब जनप्रतिनिधि हुँदाहुँदै पनि उनी आफ्नै गाउँमा जातीय विभेद र छुवाछुतको शिकार बने। सार्वजनिक अपमान, कुटपिट र जातीय भेदभावको त्यो घटना कुनै एक व्यक्तिमाथिको आक्रमण मात्र थिएन; त्यो संविधानले सुनिश्चित गरेको समानताको अधिकारमाथिको चुनौती पनि थियो।

तर उनले झुकेनन्। उनी चुप बसेनन्। कानुनी बाटो रोजे। राष्ट्रिय दलित आयोग, मानव अधिकारकर्मी, जनप्रतिनिधि र अधिकारकर्मीहरूको साथमा उनले न्यायका लागि संघर्ष जारी राखे। र कानुनी लडाई लड्नथाले त्यसपछी पासवान झन् पिडामा पर्न थाले,राजेश कुमार पासवानका अनुसार जनपक्षीय मुद्दामा खुलेर बोल्ने र जातीय विभेदविरुद्ध निरन्तर आवाज उठाउने क्रममा उनीमाथि ज्यान मार्ने उद्योग, कुटपिट, अंगभंग, अभद्र व्यवहार तथा आपराधिक उपद्रव लगायतका विभिन्न मुद्दा दर्ता गरिए। उनले केही दिन हिरासतको जीवन पनि बिताउनुपर्‍यो। तर लामो कानुनी प्रक्रियापछि ती मुद्दामा आफूले सफाइ पाए  र अहिले पनि केहिमुदामा उनि जिल्ला अदालत गौर रौतहटमा तारिख रहेको उनी बताउँछन्।

पासवानका अनुसार, लाखौँ चुनौती, बाधा र अवरोधका बीच पनि आफूले लडिरहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुर मुद्दामा उनले कुनै सम्झौता गरेनन्। उनका अनुसार विपक्षीहरूको मूल उद्देश्य झुटा मुद्दा लगाएर छुवाछूतसम्बन्धी मुद्दालाई कमजोर बनाउनु र पीडितलाई सम्झौताका लागि बाध्य पार्नु थियो। तर उनी झुकेनन्।लामो कानुनी लडाईपछि अदालतले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुर मुद्दामा उनका विपक्षीहरुलाई दोषी ठहर गर्दै कानुनबमोजिम सजाय सुनायो। यो फैसला एउटा व्यक्तिको मात्र जित थिएन; अन्यायविरुद्ध कानुनी संघर्ष गरेर पनि न्याय प्राप्त गर्न सकिन्छ भन्ने विश्वासको जित थियो।

आज राजेश कुमार पासवान (निर्माणी) केवल जनप्रतिनिधि वा पत्रकारका रूपमा चिनिँदैनन्। उनी संघर्षलाई शक्तिमा बदल्ने, विभेदको सामना गर्दै समानताको पक्षमा उभिने र जनसेवालाई राजनीति भन्दा माथि राख्ने सक्रिय सामाजिक अभियन्ताका रूपमा परिचित छन्।

बाबा सलहेश मिडियाको दृष्टिमा, राजेश कुमार पासवान (निर्माणी) को जीवनले एउटा गहिरो सन्देश दिन्छ—सत्ता प्राप्त गर्नु नेतृत्व होइन, अन्यायका विरुद्ध उभिनु नै नेतृत्व हो। संघर्षले मानिसलाई कमजोर बनाउँदैन, बरु इतिहास लेख्ने साहस दिन्छ। सत्यलाई केही समय दबाउन सकिएला, तर पराजित गर्न सकिँदैन। सामाजिक न्याय कुनै दया होइन, प्रत्येक नागरिकको संवैधानिक अधिकार हो। र त्यो अधिकारका लागि उठेको आवाज नै लोकतन्त्रको वास्तविक शक्ति हो।

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ ।

सिरिजको दोस्रो खेलमा आज नेपाल र नेदरल्याण्डस आमने सामने हुदैछन् । यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि शुरु हुदैछ ।

नेपालले पछिल्लो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसको यस सिरिजमा पहिलो खेल खेल्दैछ ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ५ एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले ३ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ ।

पछिल्लो पटक दुवै देशबीच २०२५ जुनमा खेल भएको थियो र सो खेल नेपालले १६ रनले जितेको थियो ।

यस सिरिज खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टिम नेदरल्याण्डस पठाएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, इशान पाण्डे, आरिफ सेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।

लिग-२ यो सिरिज ३१ जुलाईसम्म हुने छ । यस सिरिजमा जुलाई २५ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने छ भने जुलाई २७ मा नेपाल र नामिबिया,  जुलाई २९ मा नेपाल र नेदरल्याण्डस र जुलाई ३१ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने तालिका छन् ।

लिग-२ को अहिलेसम्मको अंक तालिकामा नेदरल्याण्डस २८ खेलमा ३२ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल २९ खेलमा २४ अंकसहित पाँचौं स्थानमा छ । त्यस्तै नामिबिया २९ खेलमा २६ अंकसहित छैटौं स्थानमा रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीबीच आज मन्त्रालयमा विस्तृत छलफल भएको छ ।

छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय जनचेतना अभियान मधेश प्रदेशबाट प्रारम्भ गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने विषयमा विस्तृत विचारविमर्श भएको थियो। अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक अगुवा, युवा, महिला समूह तथा नागरिक समाजको सक्रिय सहभागितामा देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो ।

दुवै पक्षले दाइजो प्रथा महिला हिंसा, लैङ्गिक विभेद तथा सामाजिक अन्यायको प्रमुख कारणमध्ये एक भएको उल्लेख गर्दै यसको अन्त्यका लागि कडा कानुनी कार्यान्वयन, प्रभावकारी अनुगमन र व्यापक सामाजिक सचेतना अभियानलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

मन्त्री सिता बादीले दाइजो प्रथा केवल कानुनी नभई सामाजिक चुनौती भएकाले यसको अन्त्यका लागि राज्य, स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज, सञ्चारमाध्यम तथा समुदायको साझा प्रतिबद्धता आवश्यक रहेको बताएकी थिइन् ।

त्यस्तै उपसभामुख रुबी कुमारीले मधेश प्रदेशबाट सुरु हुने अभियानले दाइजो प्रथाविरुद्ध राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै दाइजोमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा सबै सरोकारवालाको सक्रिय सहकार्य अपरिहार्य रहेको बताएकी थिइन् ।

भेटका क्रममा दाइजो प्रथा अन्त्यका लागि कानुनी व्यवस्था थप प्रभावकारी बनाउने, जनचेतनामूलक अभियानलाई संस्थागत रूपमा अघि बढाउने तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । प्रत्येक वर्ष जुलाई २३ मा विश्वभर विश्व ह्वेल तथा डल्फिन दिवस मनाइन्छ । समुद्री पारिस्थितिक प्रणालीमा ह्वेल र डल्फिनको महत्वपूर्ण भूमिकाबारे जनचेतना फैलाउने तथा तिनलाई बन्दीकरण, जलवायु परिवर्तन, समुद्री प्रदूषण र अवैध सिकारजस्ता खतराबाट जोगाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

यो दिवस सन् १९८२ मा अन्तर्राष्ट्रिय ह्वेल आयोगले व्यावसायिक रूपमा ह्वेलको सिकारमा पूर्ण प्रतिबन्ध लगाउने ऐतिहासिक निर्णय गरेको सम्झनामा मनाइन्छ । त्यस निर्णयको कार्यान्वयनसँगै सन् १९८६ देखि यो दिवसलाई औपचारिक रूपमा मनाउन थालिएको हो ।

व्यावसायिक सिकारमा प्रतिबन्ध लागे पनि ह्वेल र डल्फिन अझै पनि विभिन्न चुनौतीसँग जुधिरहेका छन् । समुद्रमा बढ्दो प्लास्टिकजन्य फोहोर, जहाजसँग हुने ठक्कर, समुद्री ध्वनि प्रदूषण, जलवायु परिवर्तनका असर तथा केही क्षेत्रमा हुने अवैध सिकारले यी समुद्री स्तनधारी जीवको अस्तित्वमा गम्भीर खतरा सिर्जना गरेको छ ।

विज्ञहरूका अनुसार ह्वेल समुद्री जैविक विविधता जोगाउन मात्र होइन, जलवायु सन्तुलन कायम गर्न पनि महत्वपूर्ण मानिन्छ। ह्वेलबाट निस्कने मलले समुद्रमा सूक्ष्म वनस्पतिको वृद्धि गर्न सहयोग पुर्‍याउँछ, जसले वायुमण्डलको कार्बन डाइअक्साइड अवशोषण गरेर जलवायु परिवर्तनको प्रभाव कम गर्न योगदान दिने विश्वास गरिएको छ ।

यस दिवसका अवसरमा समुद्री जीव संरक्षणका अभियानमा सहयोग गर्न, संरक्षणमा सक्रिय संस्थालाई समर्थन गर्न तथा समुद्री क्षेत्रमा भ्रमण गर्दा वातावरणमैत्री र जिम्मेवार पर्यटन अपनाउन आग्रह गरिन्छ । संरक्षणकर्मीहरूका अनुसार ह्वेल र डल्फिनको सुरक्षा समुद्री पारिस्थितिक प्रणालीको दीर्घकालीन संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जानकारी दिएको छ ।

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागको केही र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ साउन ७ गते विहिबार ईस २०२६ जुलाई २३ नेपाल सम्बत ११४६ दिल्लाथ्व नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल नवमी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, शुभ योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २२ मिनेटमा र सूर्यास्त साँझ ७ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन आत्मविश्वास, उत्साह र सकारात्मक सोचका साथ सुरु हुनेछ। बिहानदेखि नै नयाँ कामको सुरुवात गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको नेतृत्व क्षमता, मेहनत र समयमै निर्णय गर्ने बानीले राम्रो परिणाम दिलाउनेछ। लामो समयदेखि रोकिएका योजनाले गति लिने सम्भावना देखिन्छ। व्यापार–व्यवसायमा नयाँ सम्झौता वा लाभदायक अवसर प्राप्त हुन सक्छ। आर्थिक पक्ष बलियो बन्दै जाने संकेत देखिएको छ, तर खर्चमा संयम अपनाउनु राम्रो हुनेछ। परिवारमा सुख, शान्ति र आपसी विश्वास बढ्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्लित बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ, नियमित व्यायाम र पर्याप्त आरामले थप स्फूर्ति प्रदान गर्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य, विवेक र संयमले तपाईंलाई सफलता दिलाउने दिन रहनेछ। कार्यक्षेत्रमा विगतको मेहनतले राम्रो प्रतिफल दिन थाल्नेछ। वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ भने सहकर्मीबाट पनि पूर्ण सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा नियमित आम्दानी कायम रहनेछ र नयाँ ग्राहक वा साझेदारसँग सम्बन्ध विस्तार हुन सक्छ। आर्थिक अवस्था सन्तुलित रहनेछ। परिवारका सदस्यहरूसँग खुसीका क्षण बिताउने अवसर मिल्नेछ। घरको वातावरण सौहार्दपूर्ण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि शान्ति तथा सन्तुष्टि महसुस हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज सिर्जनशीलता, चतुर व्यवहार र प्रभावकारी अभिव्यक्तिका कारण तपाईंको व्यक्तित्व चम्किनेछ। अध्ययन, लेखन, सञ्चार, शिक्षा तथा सिर्जनात्मक क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि दिन अत्यन्त शुभ रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र आफ्नो क्षमता देखाउने मौका पनि मिल्नेछ। आर्थिक रूपमा सुधार आउने सम्भावना छ। साथीभाइ तथा सहकर्मीको सहयोगले जटिल काम सहज रूपमा सम्पन्न हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर उत्साह तथा ऊर्जा कायम रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज परिवारसँग सम्बन्धित विषयले मनमा विशेष खुसी ल्याउनेछ। घरमा सुखद वातावरण रहनेछ र परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। कार्यक्षेत्रमा तपाईंको इमानदारी, जिम्मेवारी र लगनशीलताको प्रशंसा हुनेछ। रोकिएका काम पूरा हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सामान्य सुधार आउनेछ। नयाँ योजना बनाउन वा महत्त्वपूर्ण निर्णय लिन दिन अनुकूल रहनेछ। प्रियजनसँगको आत्मीय संवादले सम्बन्धलाई अझ मजबुत बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुलित महसुस हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज आत्मविश्वास, साहस र नेतृत्व क्षमताले तपाईंलाई उल्लेखनीय सफलता दिलाउनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। व्यापार–व्यवसायमा राम्रो लाभ हुने सम्भावना देखिन्छ। आर्थिक रूपमा प्रगतिको संकेत देखिएको छ। सामाजिक क्षेत्रमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ। परिवारको साथ र प्रोत्साहनले मनोबल थप उच्च रहनेछ। कुनै शुभ समाचारले मनमा थप उत्साह जगाउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र शरीरमा पर्याप्त ऊर्जा कायम रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ सीप सिक्ने कार्यमा उल्लेखनीय उपलब्धि प्राप्त हुनेछ। कार्यक्षेत्रमा अनुशासन, धैर्य र निरन्तर प्रयासले उत्कृष्ट परिणाम दिलाउनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। खर्च गर्दा आवश्यकताअनुसार मात्र खर्च गर्नु राम्रो हुनेछ। परिवारमा सुखद वातावरण कायम रहनेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट लाभदायक बन्न सक्छ। नयाँ ज्ञान र अनुभवले भविष्यमा प्रगतिको नयाँ ढोका खोल्नेछ। स्वास्थ्य राम्रो रहनेछ र नियमित जीवनशैलीले शरीरमा स्फूर्ति कायम राख्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो देखिन्छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा आम्दानीको नयाँ स्रोत फेला पर्न सक्छ। व्यापार–व्यवसायमा लाभ बढ्नेछ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। परिवारसँग खुसीका क्षण बिताउने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा लाभदायक अवसर सिर्जना गर्न सक्छ। आत्मविश्वास बढ्ने भएकाले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि स्फूर्ति महसुस हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनत, धैर्य र अनुभवले उल्लेखनीय सफलता दिलाउने दिन रहनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ र नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि दीर्घकालीन निर्णय गर्दा सोचविचार गरेर अघि बढ्नु उपयुक्त हुनेछ। परिवारमा खुसी, विश्वास र आत्मीयताको वातावरण कायम रहनेछ। सम्बन्ध थप प्रगाढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि आत्मविश्वास बढ्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच, उत्साह र आत्मविश्वासले तपाईंलाई नयाँ उपलब्धितर्फ डोर्‍याउनेछ। व्यापार, अध्ययन, यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ। नयाँ योजना सुरु गर्न र भविष्यका लक्ष्य निर्धारण गर्न दिन अत्यन्त अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मन उत्साहित रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा काम गर्दा सबै कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ। बचत गर्ने योजनाले भविष्यमा राम्रो परिणाम दिनेछ। परिवारका सदस्यहरूको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्‍याउनेछ। घरमा शान्त र सुखद वातावरण कायम रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त विश्राम गर्नु आवश्यक हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले आत्मविश्वास बढाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई नयाँ सफलतातर्फ अघि बढाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा पूरा हुनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा खुसी, मेलमिलाप र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ परिचय भविष्यका लागि लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह तथा स्फूर्ति कायम रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई उपलब्धिमूलक बनाउनेछ। केही काममा ढिलाइ भए पनि अन्ततः परिणाम तपाईंको पक्षमा आउने सम्भावना बलियो छ। कार्यक्षेत्रमा आफ्नो अनुभव र सीपको प्रभावकारी उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति तथा आत्मबल बढाउनेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना बलियो छ। साँझतिर प्राप्त हुने शुभ समाचारले मनमा नयाँ आशा, ऊर्जा र भविष्यप्रतिको विश्वास अझ बलियो बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर सकारात्मक ऊर्जा कायम रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।