हेटौंडा, ९ फागुन ।
चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला १३ बुँदे घोषणापत्र जारी भएसँगै सकिएको छ । गत शनिबारदेखि सुरु भएको भेला मंगलबार घोषणापत्र जारी सँगै सकिएको हो । बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको भेलामा विभिन्न विषयमा अन्तरसंवादका साथै कार्यशाला गरी सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी हुन देशभरबाट करिब दुई सय चलचित्र पत्रकार र कलाकारहरूको उपस्थिती रहेको थियो । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा संघको आयोजनामा भएको भेलामा सिनेमा र पर्यटन संवाद, अन्तक्र्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विषयका सेसन सञ्चालन भएका थिए ।
भेलाको उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले गरेकी थिईन् भने समापन कार्यक्रम प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम संघका केन्द्रीय अध्यक्ष समीर बलामीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले समन्वय र व्यवस्थापन गरेको थियो ।
भेलामा विभिन्न विषयका सेसन सञ्चालन गरिएको थियो । कार्यक्रमको सुरुवातमै संघका पूर्व अध्यक्ष शान्तिप्रियले चलचित्र पत्रकारिताको ईतिहास र वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिनुका साथै उक्त कार्यपत्रमा पत्रकार एंव नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बलले टिप्पणी गरेका थिए । त्यस्तै बागमती प्रदेशको सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले प्रदेश सरकारले निर्माण गर्दै गरेको चलचित्र विधेयक मस्यौदाबारे कार्यपत्र प्रस्तुत गरिनुका साथै उक्त कार्यपत्रका विषयमा पत्रकार विजयरत्न तुलाधार र सञ्जु राई, निर्माता नरेन्द्र महर्जन र आकाश अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफ्नो राय सहितको सुझावका राखेका थिए ।
यसैगरी भेलामा पत्रकार ध्रव लम्सालले नेपाली चलचित्र उद्योगको अवस्था (हिजो, आज र भोली) भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमा पत्रकार विदुर गिरीले टिप्पणी गरेका थिए । आजको चलचित्र पत्रकारिता र आचारसंहिताको सवालमा प्रेस काउन्सिलका सदस्य ठाकुर वेलबासेले आफ्नो भनाईसँगै टेलिभिजनका महाप्रवन्धक फुलमान बलले आचारसंहिताको कसीमा अबको चलचित्र पत्रकारिता विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरी बृहत छलफल गरिएको थियो । यस विषयमा उठेका सवालको जवाफ प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले दिएका थिए ।
यस्तै, विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईले चलचित्र पत्रकारिता, विज्ञापन रहित नीति र अनलाईन बजार व्यवास्थापन विषयमा कार्यपत्र प्रस्तुत गरी बृहत छलफल समेत गरिएको थियो ।
कार्यक्रमको विशेष संवादमा चलचित्र सेन्सर की ग्रेडिङ? भन्ने विषयमा निर्देशक मनोज पण्डित, निर्देशक दयाराम दाहाल, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी, सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यबीच संजोक बत्स्यालले छलफल गराएका थिए । त्यस्तै, मिडिया प्रमोशन र कर्पोरेट लगानीको विषयमा भने निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारी, निर्माता रवीन्द्रसिंह बानियाँ, नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बल, निर्देशक निश्चल बस्नेतबीच छलफल गराइएको थियो । उक्त छलफललाई पत्रकार अशोकप्यासी राईले सहजीकरण गरेका थिए । यसैगरी चलचित्र वितरक नरेन्द्र महर्जन, नायिका स्वस्तिमा खड्का, चलचित्र विकास बोर्ड सदस्य राजु केसी, हाइलाईट्स नेपालका प्रवन्धक जनक तामाङलाई पत्रकार सुव्रत आचार्यले सिनेमा बजार (राष्ट्रिय अन्तरराष्ट्रिय र ओटीटी) विषयमा छलफल गराएका थिए ।
कार्यक्रममा विशेष संवाद अन्तरगत सिनेमा र पर्यटन संवादमा सञ्चारकर्मी दिनेश डिसीले चलचित्र बोर्ड सदस्य भूवन केसी, निर्देशक दयाराम दाहाल, नायिकका केकी अधिकारी र पर्यटन बोर्डका सदस्य सूर्य थपलियालाई सिनेमा र पर्यटन विषयक बृहत छलफल गराइएको थियो । कार्यक्रममा चलचित्र पत्रकारिताको फिचर लेखनका साथै पत्रकारिता केहो ? भन्ने विषयमा प्रशिक्षक अरुण बराल र चिरन्जीवी पौडेलले प्रशिक्षण दिएका थिए ।
हेटौँडामा भएको चार दिने राष्ट्रिय भेलाले १३ बुँदे घोषणा पत्र २०८० जारी गरेको छ । उक्त जारी घोषणा पत्रमा यी कुरा उल्लेख गरीएको छ । डब्बु क्षेत्रीको संयोजकत्वको पाँच सदस्यीय टोलीले उक्त घोषणापत्र जारी हो ।
यस्तो छ १३ बुँदे जारी घोषणा पत्र
१. भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माण गरी हेटौँडासहित समग्र मकवानपुरलाई फिल्म हवको रुपमा विकास गर्न चलचित्र पत्रकार संघ नेपाल सम्बन्धित सरोकारवाला निकायसँग माग गर्दछ ।
२. केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले स्थानीय पर्यटकीय ठाउँको पर्यटन प्रवद्र्धनका लागि सिनेमा पर्यटनलाई जोड दिँदै विभिन्न कार्यक्रमहरु तय गर्न तीनै तहको सरकारसँग यो भेला माग गर्दछ ।
३. हेटौँडाको विभिन्न आसपासका क्षेत्र र मकवनपुरको चित्लाङ, कुलेखानी, दामन, थाहा, मकवानपुरगढीलगायतका ठाउँमा सिनेमा पर्यटनलाई जोड दिई आवश्यक पुर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहका दुबै सरकारसँग यो भेला माग गर्दछ ।
४. नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्न र नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ती तथा सस्थाहरुसँग सहकार्य समन्वय गरी प्रोत्साहन र प्रवद्र्धन गर्न यो भेला सम्बन्धित पक्षसँग माग गर्दछ ।
५. विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाउन सम्बन्धित निकायसँग यो भेला माग गर्दछ ।
६. अनलाईन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो भेला माग गर्दछ ।
७. स्वायत्त चलचित्र उद्योगका लागि समयानुकुल र नेपाली चलचित्रको विकासका लागि प्रभावकारी रुपमा चलचित्र ऐन यथाशक्य संशोधन गर्न यो भेला माग गर्दछ ।
८. नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रमहरु तय गर्न यो भेला तीनै तहका सरकार र सम्बन्धीत निकायसँग जोडदार माग गर्दछ ।
९. कला, संस्कृति र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरुमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन तथा प्रवद्र्धन प्रचार प्रसार गर्न यो भेला सम्बन्धीत निकायसँग माग गर्दछ ।
१०. श्रमजीवी पत्रकार ऐनको पूणर् कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।
११. सरकारले पत्रकार सम्बद्ध संघ संस्थालाई दिइँदै आएको सहुलियत अनुदान रकम निकै न्यून छ । चलचित्र पत्रकार संघ नेपालले सो अनुदान समेत प्राप्त गर्न सकेको छैन । चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकम उपलब्ध गराउन केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारलाई यो भेला माग गर्दछ ।
१२. हेटौँडाको मकवानपुरगढी, शहिद स्मारक, कुष्माण्ड सरोवर त्रिवेणी धाम, वनस्खण्डी, भुटनदेवी मन्दिर, पाथिभरा, पुष्पलाल पार्क, चिप्लेटी गाउँ, हर्नामाडी मुर्तिपार्क लगायतका ठाउँहरुलाई प्रवद्र्धनका लागि सिनेमामार्फत प्रस्तुत गर्न र त्यसको लागि स्थानीय सरकारले समन्वय र सहुलियतको व्यवस्था गर्न यो भेला माग गर्दछ ।
१३. संघको प्रथम राष्ट्रिय भेला सम्पन्न गर्न सहयोग गर्नुहुने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सञ्चार रजिष्ट्रार कार्यालय, बागमती प्रदेश सरकारको संस्कृती तथा पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्ड, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिभिजन, चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखा लगायत सम्पूणर् संघ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।न्युज कारखाना
बारा, ९ फागुन ।
वीरगन्जमा केही दिन यता दुई फरक धर्मका समुदायबीच तनाव बढ्दै गएपछि बुधवार बाराको जीतपुरमा ‘सद्भाव र्याली’ निकालिएको छ ।
रौतहटको इशनाथ नगरपालिकामा गत बिहीबार सरस्वती माताको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको भिडन्तको घटनालाई लिएर वीरगन्जमा पनि तीनदिन यतादेखि तनाव भइरहेको छ । उक्त घटनाको विरोधमा सोमबार हिन्दुवादीहरूले वीरगन्ज बजार बन्द गराउनुका साथै प्रदर्शन पनि गरेका थिए ।
यसैलाई मध्यनजर गरी बाराको जीतपुरमा ‘सद्भाव रयाली’ निकालिएको हो । प्राप्तीको लागि प्रेरणा समूह नेपाल र ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरको अगुवाईमा ‘सद्भाव रयाली’ निकालिएको हो । जीतपुर स्थित वडा कार्यालय परिसरबाट सुरू भएको ‘सद्भाव रयाली’ बकुलिया सडक, केराढोका , हुँदै नगर परिक्रमा गरेको थियो ।
सो ‘सद्भाव रयाली’ मा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी ,जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ता शिक्षक–शिक्षिका बिद्यार्थीहरु,नागरिक समाजका अगुवा,मानवअधिकारकर्मी ,सञ्चारकर्मीलगायतको सहभागीता थियो ।
‘सद्भाव रयाली’ मा सहभागीले ‘ धार्मिक सद्भाव कायम गरौं ’ सामुदायिक सदभाव कायम राखौं,’ ‘हिन्दू–मुस्लिम भाइ भाइ’भन्ने नारासहित जीतपुरमा कुनै अप्रिय घटना न घटोस भनेर सदभाव र्याली निकालिएको प्राप्तिका लागि प्रेरणा समुह नेपालका अध्यक्ष अनिल कुमार साहले बताए । धर्म कै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरू देखि जीतपुरबासी सचेत छन् भन्ने सन्देश प्रवाह गर्नका लागि सद्भाव र्याली निकालिएको अध्यक्ष साहले बताए ।
उनले भने, ‘हामी जीतपुरबासी एकदम सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस र्यालीबाट दिन खोजेका हौँ ।’
आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति र्याली मा सहभागी हिन्दु र मुस्लिम धर्मका अगुवाहरुले चिन्ता व्यक्त गरे । समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ति प्रक्रियामा खलल गर्नेहरूलाई कानुनको दायराभित्र ल्याई कारबाही गर्न र्यालीमा सहभागी भएकाहरुले माँग गरेका छन ।न्युज कारखाना
काठमाडौं, ९ फागुन ।
परराष्ट्रमन्त्री नारायण प्रकाश साउद आज नयाँदिल्ली जाँदैछन् ।
बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन परराष्ट्र मन्त्री साउँद आज नयाँदिल्ली जान लागेका हुन ।
परराष्ट्र मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार हुने फोरमको बिशेष कार्यक्रमला सम्बोधन गर्ने छन् ।
रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजनामा सो सम्मेलन गर्दै आएको छ ।न्युज कारखाना
काठमाडौं, ९ फागुन ।
विज्ञान र विशेष गरी चिकित्सा विज्ञानको संसारमा हरेक दिन नयाँ चमत्कारहरू भइरहेका छन्।
चिकित्सा विज्ञानले यति धेरै प्रगति गरेको छ कि केहि दशक अघिको अब कल्पनासमेत गर्न सकिदैन।
केही दिन अघि मात्र एलोन मस्कको कम्पनीले चमत्कार गरेको थियो । मस्कको कम्पनी न्यूरालिङ्कले मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न सफल भएको थियो । अब बैज्ञानिकहरुले अर्को अचम्मको काम गरेका छन् । वैज्ञानिकहरूले थ्रीडी प्रिन्टिङ प्रविधिबाट मस्तिष्कको तन्तु बनाउन सफल भएका छन् ।
अचम्मको कुरा के छ भने यसको टिस्युले प्राकृतिक ब्रेन टिस्युजस्तै काम गर्छ । यो संसारको पहिलो थ्रीडी प्रिन्टेड ब्रेन टिस्युले मानव मस्तिष्क जस्तै काम गर्छ। यो न्यूरोलोजिकल र न्यूरो डेवलपमेन्ट समस्याहरू समाधान गर्ने दिशामा ठूलो छलांग हो भन्ने विश्वास गरिन्छ। यो सफलताले बैज्ञानिकहरुमा निकै उत्साह छाएको छ । यसले विशेष गरी अल्जाइमर र पार्किन्सन रोग जस्ता न्यूरोलोजिकल र न्यूरो डेवलपमेन्टल रोगहरूमा अनुसन्धान गर्न मद्दत गर्नेछ।
वैज्ञानिकहरू भन्छन् कि यो एक अत्यन्त शक्तिशाली मोडेल हुन सक्छ जसले हामीलाई मस्तिष्कका कोशिकाहरू र मस्तिष्कका भागहरूले मानिसमा कसरी सञ्चार गर्छन् भनेर बुझ्न मद्दत गर्न सक्छ। यसले स्टेम सेल जीवविज्ञान, न्यूरोसाइन्स, र धेरै न्यूरोलोजिकल र मानसिक विकारहरूलाई हेर्ने तरिका परिवर्तन गर्न सक्छ। यसबाट मस्तिष्कका जटिल अंगहरू बुझ्न सकिन्छ।
यसले मस्तिष्कसँग सम्बन्धित धेरै प्रकारका समस्याहरू बुझ्न मद्दत गर्नेछ। धेरै रोगको उपचार पत्ता लाग्नेछ जसको उपचार अहिलेसम्म सम्भव थिएन। यसले अनुसन्धानको क्षेत्रमा ठूलो प्रगति गर्नेछ। यद्यपि, पूर्ण मस्तिष्क बनाउन अझै धेरै टाढा छ।न्युज कारखाना
काठमाडौं, ९ फागुन ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नामिबियाबीच खेल हुँदैछ।
यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। जस अनुसार नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।
आजको खेलमा नेपालले एक परिवर्तन गर्दै गुलशन झाको ठाउमा करण केसीलाई टिम सामेल गरेको छ।
यस अघि नेपालले पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। त्यस्तै नामिबियाले नेदरल्याण्डससँग हार बेहोरेको थियो।
नेपाल र नामिबियाबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्। जसमा नामिबियाले ४ खेल जितेको छ भने नेपालले २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन।
नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र ललित राजवंशी।
लिग- २ मा ८ देश खेलिरहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्।
आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्।
सिरिजको खेल तालिका:
फागुन ११ गते शुक्रबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स।
फागुन १३ गते आइतबार- नेपालविरुद्ध नेदरल्यान्ड्स। न्युज कारखाना
काठमाडौं, ९ फागुन ।
अन्तरिक्ष वैज्ञानिकहरूले ब्रह्माण्डको सबैभन्दा चम्किलो चिज फेला पारेका छन्, जुन करिब १२ अर्ब वर्ष पुरानो र सूर्यभन्दा १७ गुणा ठूलो छ। यसलाई ब्ल्याक होल भनिन्छ।
यसको नाम क्वासर जिओ ५२९–४३५१ हो , जसलाई आजसम्मको ‘भोको ब्ल्याक होल’ को रूपमा वर्णन गरिएको छ किनभने यसले एक दिनमा एक सूर्य र एक वर्षमा ३७० सुर्य बराबरको ग्यास निल्छ। वैज्ञानिकहरूले यसलाई ब्रह्माण्डमा देखेको सबैभन्दा चम्किलो वस्तुको रूपमा वर्णन गरेका छन्, किनभने यसको द्रव्यमानले यसलाई ५०० ट्रिलियन गुणा उज्यालो बनाउँछ।
अष्ट्रेलियाली नेशनल युनिभर्सिटीका वैज्ञानिकहरूले युरोपेली दक्षिणी अब्जर्भेटरी (इसओ० मा जडान गरिएको भेरी लार्ज टेलिस्कोप (भीएलटी) मार्फत खोजी गरेका हुन । क्वासार ब्ल्याक होल यति ठूलो भएकोले ब्रह्माण्डको अन्य कुनै पनि वस्तुभन्दा धेरै ऊर्जा उत्सर्जन गरिरहेको वैज्ञानिकहरूले दाबी गरेका छन् । यो विशाल ब्ल्याक होलले आफ्नो वरिपरि आउने सबै चीजहरू निलिरहेको छ र कसैले कल्पना गर्न नसक्ने दरमा बढिरहेको छ।
खगोलविद् क्रिस्चियन वुल्फ भन्छन् कि हामीले अहिलेसम्मको सबैभन्दा छिटो बढिरहेको ब्ल्याक होल पत्ता लगाएका छौं, सबैभन्दा हिंस्रक र राक्षस जस्तै ब्याबहार यसले गरिरहेको छ ।
वैज्ञानिकहरुका अनुसार क्वासार ब्ल्याक होल टाढाबाट तारा जस्तो देखिन्छ। यो हाम्रो ग्रह पृथ्वीबाट यति धेरै टाढा छ कि यो हेर्न हामीलाई ज्ञद्द अरब वर्ष लाग्यो। हाल ब्रह्माण्डको आयु १३.८ बिलियन वर्ष छ। गत वर्ष ओटावा विश्वविद्यालयका राजेन्द्र गुप्ताले ब्रह्माण्ड करिब २६.७ अर्ब वर्ष पुरानो भएको दाबी गर्दै एक रिर्पोट प्रकाशित गरेका थिए ।
यस ब्रह्माण्डमा आकाशगंगाहरूमा ब्ल्याक होलहरू बनेका छन्, जसले आफ्नो चरम गुरुत्वाकर्षण प्रयोग गरेर वरपरका चीजहरूलाई निल्छन्। यस ब्ल्याक होलले उत्सर्जन गर्ने कण र विकिरण यसको वरिपरि सर्कलमा घुमि रहन्छन्।न्युज कारखाना
रौतहट ९ फागुन।
रौतहटस्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले विशेष सक्रियता देखाउँदै बन्दुक पड्काएर भए अवैध सालको गोलिया काठसहित टायर गाडा र पाडा बरामद गरेको छ।
जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका-१ रामलाल वृन्दावन साझेदारी वन क्षेत्रभित्र वन सुरक्षा टोली र सर्लाहीका तस्करबीच जम्काभेट हुँदा टोलीले हवाई फायर गरेर गोलिया काठ लोड रहेको टायर गाडा र पाडा बरामद गरेको हो।
डिवीजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रका अनुसार वन अधिकृत अनिल कुमार महतोको कमाण्डमा गएको टोलीले गएराति ११ बजे वन क्षेत्रभित्र गस्तीको क्रममा तस्कर समूहसँग भिडन्त भएको थियो। सो क्रममा टोलीले तीन राउण्ड हवाई फायर गरेपछि तस्कर समूह टायर सहितको काठ छोडेर भागेको थियो।

टोलीले उक्त स्थानबाट तिनाथान गोलिया साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको प्रमुख मिश्रले जानकारी दिए। झण्डै दुई लाखभन्दा बढी मूल्यको काठसहितको टायर गाडा र पाडो आवश्यक कारबाहीको लागि डिवीजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।
हिन्दूहरूको पर्व होली नजिकिँदै गर्दा जिल्लाको पूर्वी भेगमा सर्लाहीका अन्य क्षेत्रमा स्थानीय तस्करहरू चोरीलुकी काठ कटानी गर्न बढी सक्रिय देखिएकाले अहिले वन सुरक्षा गस्ती टोली अहोरात्र खटिएको डिवीजन वन कार्यालय रौतहटले जनाएको छ।
चाँडपर्वको अवसरमा कर्मचारी तथा सशस्त्र वन सुरक्षा गार्ड विदामा बस्ने पुरानो मानसिक्ता बोकेका तस्कर हाल कर्मचारी र सुरक्षा टोलीको विशेष सक्रियताले हरेस खाएको डिवीजन वन कार्यालय रौतहटले दाबी गरेको छ।न्यूज कारखाना
फाल्गुन ९ गते प्रेमचन्द्र झा राैतहट ।
देवाही गोनाही नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघात भई निधन भएकोमा स्वास्थ्य कार्यालय राैतहटले श्रदाञ्जली व्यक्त गरेका छन ।
स्वास्थ्य कार्यालय राैतहटको आयोजनामा जिल्ला समन्वय समिति राैतहटका प्रमुख राम अयाेध्या यादवकाे अध्यक्षतामा सियापैलेस गाैरमा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख यादवको निधन भएकोमा एक कार्यक्रम बिच श्रदाञ्जली व्यक्त गरिएको हो । देवाही गोनाही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवका मृत आत्माको चिर शान्तिका लागि कामना सहित एक मिनट माैन धारण गरि श्रदाञ्जली अर्पन गरेका छन।
साे कार्यक्रममा राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, स्वास्थ्य कार्यालय प्रमुख विपिन कुमार साह ,नेपाल रेडक्रसका सभापति राजकिशाेर यादव सशस्त्र प्रहरी बल राैतहटका सशस्त्र प्रहरी उपरीक्षक बिक्रम कुमार राई सहितले स्वास्थ्य प्रमुख यादवको असामयिक निधन भएको खबरले दुखी बनाएको भन्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन एवम् आफन्तजनमा गहिरो समवेदना समेतब प्रकट गरेका छन ।
बारा, ९ फागुन ।
बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक राम कुमार महतोले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बुलेरो र विपरित दिशाबाट जादै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक ठोक्किएको जानकारी दिए।

घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो असपतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। हालसम्म मृत्यु भएका र घाइतेको पहिचान खुल्न सकेको छैन।
न्युज कारखाना