आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहका निकटस्थ मानिने अनिल कुमार झाले पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरेका छन्।
आफूलाई आमजनता पार्टीको केन्द्रीय सचिवालय सदस्य बताउँदै आएका झाले पार्टीका गतिविधि समग्रमा ठीक नभएको भन्दै आजपाबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।
देवाही गोनाही नगरपालिकाको एउटा वडाका निवर्तमान अध्यक्षसमेत रहेका झाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आजपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
प्रभु साहका निकटस्थ मानिने झाको पार्टी छाड्ने निर्णयलाई आजपाभित्रको असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ। पार्टी नेतृत्वसँग निकट सम्बन्ध रहेका व्यक्तिले नै पार्टीको गतिविधिप्रति प्रश्न उठाउँदै बाहिरिनुले संगठनभित्रको आन्तरिक अवस्था र नेतृत्वको कार्यशैलीबारे चर्चा बढाएको छ।
स्थानीय राजनीतिमा प्रभाव राख्ने नेताको पार्टी परित्यागले विशेषगरी रौतहटमा आजपाको संगठनात्मक अवस्थामाथि प्रभाव पार्न सक्ने देखिन्छ। निवर्तमान वडा अध्यक्षसमेत रहेका झाको निर्णयले पार्टीको स्थानीय राजनीतिक समीकरणमा कस्तो असर पार्छ भन्ने चासो बढेको छ।
यद्यपि, झाले पार्टीका कुन-कुन गतिविधिप्रति असन्तुष्टि जनाएका हुन् भन्ने विषयमा विस्तृत कारण सार्वजनिक गरेका छैनन्। पार्टी नेतृत्वको प्रतिक्रिया पनि आउन बाँकी छ।
राजनीतिक दलमा असन्तुष्टि व्यक्त गर्नु र पार्टी छाड्नु व्यक्तिगत राजनीतिक निर्णय भए पनि नेतृत्वको निकटस्थबाटै यस्तो कदम चालिनुले संगठनभित्रको असन्तुष्टिलाई सार्वजनिक रूपमा उजागर गरेको छ। नेपाल परिवेश
आरके श्रीवास्तव,राैतहट,०६ गते मंसिर ।
रौतहट ।
रौतहटको गुजरा नगरपालिका–३ स्थित बलुवा टोल कुनै समय हिउँदमा धुलो र बर्खामा हिलोले ढाकिएको, विकासको मूल प्रवाहबाट पछि परेको बस्ती थियो । तर, भारतमा ब्याग कारखाना सञ्चालन गरी परिवारको जीविकोपार्जन गर्दै आएका स्थानीय युवा नेता शेख सेराज गाउँ फर्किएपछि त्यहाँको मुहार फेरिन थालेको छ ।
गुजरा नगरपालिका–३ अन्तर्गत जंगलसैया, सेमरी, भोलानटार, सिमरा र बलुवा गरी पाँचवटा टोल पर्दछन् । वडाका अन्य टोलमा सडक ढलान र कालोपत्र लगायतका विकास निर्माणका काम भइरहँदा बलुवा टोल भने उपेक्षित थियो । गाउँ फर्केपछि सेराजले स्थानीय सरकारको एक कार्यकाल सकिएर अर्को कार्यकालमा प्रवेश गर्दासम्म पनि बलुवामा किन विकास हुन सकेन भनी स्थानीय बासिन्दासँग चासो राख्नुभयो । स्थानीयले जनप्रतिनिधिहरूले गुनासो सुन्न नचाहने र काम गर्न कोही अग्रसर नहुने समस्या सुनाएपछि उहाँले स्थानीय युवा र बासिन्दाको साथ लिएर विकासको अभियान थाल्नुभएको हो ।
स्थानीय युवा र बासिन्दाको सहकार्य तथा विभिन्न तहका सरकारसँगको पहलपछि बलुवा टोलमा पूर्वाधार विकासले गति लिएको छ । हालसम्म गाउँमा करिब ६० प्रतिशत पक्कीकरणको काम पूरा भइसकेको र बाँकी ४० प्रतिशत कामका लागि पनि निरन्तर पहल भइरहेको सेराजले जानकारी दिनुभयो ।
हालसम्म सम्पन्न तथा अघि बढेका मुख्य कामहरू
सेराजका अनुसार आर्थिक वर्ष २०८२/८३ मा स्थानीय सरकारको बजेटबाट रु. ९ लाखको लागतमा ६४ मिटर र रु. ४ लाखको लागतमा ४८ मिटर सडक ढलान गरिएको छ । त्यसैगरी पानी निकासको समस्या समाधान गर्न रु. ३६ लाख (९–९ लाखका दरले चार ठाउँमा) को लागतमा क्रमशः ७२ मिटर, ६१ मिटर, ७२ मिटर र ८७ मिटर गरी कुल २९२ मिटर नाला निर्माण गर्नुका साथै १६ भन्दा बढी ह्युमपाइप जडान गरिएको उहाँले बताउनुभयो ।
प्रदेश सरकारतर्फ नेकपा (एमाले) को तर्फबाट सेराजकै पहलमा रु. २० लाखको लागतमा ९३ मिटर आरसीसी ढलान र ६०० मिटर सडक ग्राभेलको काम भएको छ । त्यस्तै नेपाली कांग्रेसका नेता जमिल अख्तरको पहलमा रु. २० लाखको लागतमा १४५ मिटर पीसीसी (PCC) ढलान सम्पन्न भएको छ । भौतिक संरचनाबाहेक गत वर्षको दीपावली तथा छठ पर्वका अवसरमा सेराजले व्यक्तिगत लगानीमा गाउँमा बिजुली बत्ती समेत जडान गरिदिनुभएको थियो ।
आगामी आर्थिक वर्षको योजना
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पनि विभिन्न योजना तय भएको सेराजले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारबाट कब्रस्तानको घेराबेराका लागि रु. २० लाख बजेट आइसकेको छ। यस्तै स्थानीय सरकारबाट रु. ९–९ लाखका दरले दुई ठाउँमा ६४–६४ मिटर सडक ढलान, रु. ८ लाखको लागतमा पीसीसी (PCC) ढलान तथा रु. ९ लाखको लागतमा मस्जिदमा शौचालय निर्माण गर्ने योजना रहेको छ ।
शिक्षा र स्वास्थ्यमा कमजोर अवस्थाप्रति चिन्ता
सडक, नाला र अन्य भौतिक पूर्वाधारमा क्रमशः सुधार आइरहे पनि बलुवा टोलमा शिक्षा र स्वास्थ्यको अवस्था भने अझै निकै कमजोर रहेको सेराजले स्वीकार गर्नुभयो । उहाँले यो अवस्थाप्रति स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। अब पूर्वाधारसँगै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा विशेष पहल गरी ध्यान दिन उहाँले स्थानीय तह तथा सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।
निर्माण कार्य हुनुअघि

निर्माण कार्य भएपछि



जङ्गलसैया रौतहटमा बाला चतुर्दशी मेला लाग्दै, पितृहरूको सम्झनामा दीप प्रज्वलन गरिने
राजेश निर्माणी | रौतहट, मंसिर ६।
रौतहटको गुजरा नगरपालिका–३ जङ्गलसैया, पशुपति टोलस्थित प्राचीन सदाशिव पशुपति मन्दिरमा बाला चतुर्दशीको अवसरमा यस वर्ष पनि भव्य मेला आयोजना हुने भएको छ। मंसिर १८ गते शुक्रबारदेखि २३ गते बुधबारसम्म सञ्चालन हुने मेलामा धार्मिक पूजापाठ, रातभर जाग्राम, दिवंगत पितृहरूको सम्झनामा दीप प्रज्वलन, सांस्कृतिक कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ।
करिब ४० वर्षदेखि धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा निरन्तर सञ्चालन हुँदै आएको यस मेलामा रौतहटसहित आसपासका जिल्लाहरुबाट श्रद्धालु तथा भक्तजनहरू आउने गरेका छन्। बाला चतुर्दशीको अवसरमा दिवंगत पितृहरूको सम्झनामा रातभर जाग्राम बसेर दीप प्रज्वलन गर्ने परम्परा मेलाको मुख्य विशेषता हो।
रातभर प्रज्वलन गरिएका दीप भोलिपल्ट बिहान मन्दिर परिसर नजिकै रहेको लालबकैया नदीमा विसर्जन गरी सदबीज छर्ने धार्मिक विधि पूरा गरिन्छ। पितृहरूको सम्झना, श्रद्धा र धार्मिक आस्थासँग जोडिएको यस परम्पराले स्थानीय धार्मिक तथा सांस्कृतिक पहिचानलाई समेत जोगाउँदै आएको छ।
काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बाला चतुर्दशीका अवसरमा हुने धार्मिक गतिविधिको महत्त्व र परम्परालाई स्मरण गर्दै जङ्गलसैयास्थित प्राचीन पशुपति मन्दिरमा पनि वर्षौंदेखि मेला सञ्चालन हुँदै आएको आयोजकको भनाइ छ।
मेलाको उद्घाटनका अवसरमा स्थानीय कलाकार तथा प्रतिभाहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। मंसिर १९ गतेदेखि नेपाल तथा छिमेकी भारतका कलाकार, नृत्यकर्मी र सामाजिक सञ्जालमा चर्चित प्रतिभाहरूले नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ। स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै दर्शकलाई मनोरञ्जन दिलाउने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ।
मेलामा विभिन्न मनोरञ्जनात्मक सामग्री, पिङ, बालबालिका तथा सर्वसाधारणका लागि रमाइलो गतिविधि र व्यापारिक स्टलहरू रहनेछन्। यद्यपि, मेला सञ्चालनका लागि उपलब्ध स्थान सीमित भएकाले ठूला मनोरञ्जनात्मक संरचना तथा विशाल पिङहरू राख्न कठिनाइ भइरहेको आयोजकले जनाएको छ। मेलालाई थप व्यवस्थित र विस्तार गर्न आगामी दिनमा आवश्यक जग्गा तथा स्थान व्यवस्थापनका लागि पहल भइरहेको समेत बताइएको छ।
मेलामा आउने श्रद्धालु, दर्शक तथा व्यापारीहरूको सहजताका लागि आयोजक समितिले आवश्यक व्यवस्थापन गरिरहेको छ। टाढाबाट आउने भक्तजनहरू रातभर दीप प्रज्वलन गरी बस्नुपर्ने भएकाले हाल सीमित रूपमा टेन्टको व्यवस्था गरिएको छ। टेन्ट प्रयोग गरेबापत न्यूनतम शुल्क लिने व्यवस्था रहेको छ। तर, परिवारसहित आएर रातभर बस्न तथा दीप प्रज्वलन गर्न सहज हुने छुट्टै सुरक्षित स्थान, छाना तथा व्यवस्थित बसोबासको सुविधा पर्याप्त नभएकाले आगामी वर्षहरूमा यस्तो सुविधा विस्तार गर्ने योजना बनाइएको आयोजकले जनाएको छ।
त्यस्तै, मेलामा व्यापार गर्न आउने व्यापारीहरूका लागि समेत थप सहज वातावरण सिर्जना गर्ने, बसोबास तथा अन्य आवश्यक सुविधा उपलब्ध गराउने योजना रहेको छ। सुरक्षाकर्मी तथा पत्रकारहरूका लागि बस्ने, खाना र खाजाको व्यवस्थापनसमेत मिलाइएको आयोजकले जनाएको छ।
मेलाको शान्ति सुरक्षा तथा व्यवस्थापनका विषयमा आयोजक समितिले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेको छ। मेला सञ्चालनका लागि आवश्यक अनुमति लिइसकेको र शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिने आश्वासन प्राप्त भएको आयोजकको भनाइ छ। मेलामा भक्तजन तथा दर्शकहरूको भीडलाई मध्यनजर गर्दै सुरक्षा, अनुशासन र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
मंसिर २३ गते सदबीज छर्ने धार्मिक विधि सम्पन्न गरी नदीमा दीप विसर्जन गरेसँगै मेला औपचारिक रूपमा समापन हुनेछ।
आयोजक समितिले धार्मिक आस्था बोकेका श्रद्धालु, स्थानीयवासी तथा मनोरञ्जनका लागि आउने सम्पूर्ण दर्शकलाई मेलामा सहभागी हुन आग्रह गरेको छ। पशुपति मन्दिरको दर्शन, धार्मिक विधिमा सहभागिता, स्थानीय कलाकारहरूको प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको अवलोकन गर्दै सभ्य, अनुशासित र शान्त वातावरणमा मेलाको आनन्द लिन आयोजकले सबैमा अनुरोध गरेको छ।