<
ओम प्रकाश यादव, रौतहट ,साउन २२ गते ।
नवलपुरका एक व्यक्तिबाट रौतहटका किसानहरु नराम्ररी ठगिएका छन् । नवलपुर जिल्लाको कावासोती घर भएका बलराम ढकाल नामका व्यक्तिले रौतहटका मकै खेती गर्ने सयौ किसानहरुलाई लाखौं ठगि गरेको पाइएको छ । ढकालले एकसाता भित्रमा भुक्तानि दिने भनी जिल्लाको विभिन्न पालिकाका २ सय भन्दा बढी किसानहरुबाट १ करोड भन्दा बढीको मकै उधारो लगेर अहिले भुक्तानी दिन आनाकानी गर्न थालेपछि उधारोमा मकै बिक्री गरेका किसानहरु समस्यामा परेका छन् । एकसातामै मकैको रकम भुक्तान गरिदिन्छु भनी झुक्कयाएर ढकालले २०८० सालको बैशाखमै मकै लगेको भएपनि अझै भुक्तानी दिन नसक्दा आफुहरु ठुलो समस्यामा परेको ठगीमा परेका किसानहरुले बताएका छन् ।
२०८० साल बैशाख मसान्तमा ढकालले रौतहटको गुजरा, परोहा, राजपुर लगाएत विभिन्न पालिकाका २ सय ६५ जना किसानहरुबाट करोडौंको मकै उधारोमा लगेको थियो । पीडित किसानहरुका अनुसार एक सातापछि मकैको सबै पैसा दिने भनी ढकालले यहाँका किसानहरुबाट १ करोड भन्दा बढीको ४ सय टन मकै खरिद गरेर लगेको थियो । जिल्लाको परोहा नगरपालिकामा रहेको गणपति इन्टरप्राइजेजको माध्यमले ढकालले उक्त मकै खरिद गरेका थिए । ढकालले नवलपरासीको रामग्राममा आफैले सञ्चालन गरेको जनता एग्रो एण्ड फिड प्राइबेट लिमिटेडको लागि भनी उक्त मकै खरिद गरेर लगेको थिए । ढकालले उधारोमा करोडौंको मकै लगेर अहिले भुक्तानी दिने डरले सम्पर्क विहिन जस्तै बनेको पीडित किसानहरुको भनाई छ । आफुहरुबाट लगेको मकैमध्ये ढकालले २७ लाख रुपैया मात्र भुक्तानी दिएको र उनले ५४ लाख रुपैया भुक्तानी दिन अझै बाँकी राखेको गणपति इन्टरप्राइजेजका सञ्चालक विवेक पटेलले बताएका छन् । उक्त बाँकी ५४ लाख रुपैया दिन ताकेता गर्दा ढकालले पैसा दिनुको सटा उल्टै आफुहरुलाई ज्यान मार्ने धम्की दिने गरेको पटेलले बताए । ढकालबाट आफु पनि ठगिएको गुजरा नगरपालिका वडा नं. ४ कनकपुरका शेख सफिउल्लाहले बताएका छन् । ढकालले धेरै भरोसा र विश्वास दिलाएर एकसातामै भुक्तानी दिन्छु भनी आफुहरुबाट लाखौंको मकै उधारोमा लगेको एक वर्षभन्दा बढी दिन भएपनि भुक्तानी दिन विभिन्न बहाना बनाउँदै आलटाल गर्दै आएको पीडित किसान सफिउल्लाहले दुखेसो गरे ।
आफुहरु ठुलो लगानी र दुख तथा परिश्रम गरी खेतमा उब्जाएको मकै ढकालले सितैमा लगेर पैसा नदिएपछि आफुहरु नघरको न घाटको भएको उनले बताए । आफुहरुको बाँकी रहेको रकम भुक्तानी गरिदिन ढकाललाई बारम्बार तोकता गर्दा उल्टै कुटपिट गर्ने, अंगभंग गरिदिने, ज्यान मार्ने धम्की दिने जस्ता डरत्रास देखाउने गरेका कारण आफुहरु निकै त्रसित भएको उनले बताए । गुजरा नगरपालिका वडा नं ५ का किसान अब्दुल हमिद अन्सारीले पनि ढकालबाट आफुहरु नराम्ररी ठगिएको बताउँछन । आफुहरु ढकालबाट गठीमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा केहिदिन अघि उजुरी दिदा प्रहरीसंगको छलफलमा ढकालले ५ हजार रुपैया मात्र दिएको किसानलाई ५ लाख रुपैयाँ दिएको छु भन्दै झुठो बोल्ने काम गरेको अन्सारीले बताए । किसानहरुको बाँकी पैसा नदिने नियतका साथ ढकालले झुठो बोलेपछि त्यो छलफल निषकर्षमा नपुगेको उनले बताए । प्रहरी प्रशासनले पनि ढकालबाट आफुहरुको बक्यौता रकम चुक्ता गराउन खासै चासो नदेखाएको किसानहरुको आरोप छ । ढकाल विरुद्ध आफुहरु ठगी सम्बन्धी मुद्दा दिएको बताउँदै किसानहरु अब चाहि छिटै न्यालयबाट न्याय पाउनेमा आशावादी रहेको बताए ।
ढकालले रौतहटमा मात्र नभई तराई मधेशका विभिन्न जिल्लाका मकै किसानहरुलाई यस्तै उधारोमा मकै लगी गठि गर्दै आएको बताइएको छ । एकसातामा भुक्तानी गरिदिने भनी ढकालले किसानहरुबाट उधारोमा लाखौं करोडौंको मकै लग्ने गरेको र पछि भुक्तानी दिन आनाकानी गर्ने, विभिन्न बखेडा झिक्ने, उल्टै कुटपिट गर्ने, विभिन्न धाकधम्की देखाउने, ज्यान मार्ने, मोवाईल स्वीच अफ गरी सम्पर्क विहिन हुने जस्ता काम गर्ने गरेकोले उनलाई पक्राउ गरी हदैसम्मको कार्यवाही गर्न रौतहटका पीडित किसानहरुले प्रशासनसंग माग गरेका छन् ।
यस विषयमा बलराम ढकालसंग प्रतिक्रिया उनले आफुमाथी कुनै किसानको बक्यौता रकम नरहेको भन्दै घुमाउरो पारामा जवाफ दिएका छन् । आफुले रौतहटको गुजरा नगरपालिकाको कनकपुर घर भएका उमाशंकर तिवारीसंग मकै खरिद गरेर लगेको स्वीकार गर्दै ढकालले किसानको ५४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी राखेको रकमको विषयमा जवाफ दिन चाहेनन् । तर ढकालसंगै आएको उनको मैनेजर राजकुमार उप्रेतीसंग कुरा गर्दा साहु ढकालले गणपति ईन्टरप्राइजेजका सञ्चालक विवेक पटेलसंग नै उधारोमा मकै लगेको र पछि कति रकम लेनदेन भयो भन्ने बारोमा आफुलाई केही थाहा नभएको उनले बताए । ईन्टरप्राइजेज मार्फत बलराम ढकालसंग मकै बेचेका किसानहरुको धेरै पैसा भुक्तानी गर्न ढकालले बाँकी राखेको कुरा आफुले सुनेको तर किसानको कति पैसा तिर्न बाँकी छ भन्ने कुरा जानकारी नभएको उप्रेतीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
0
+1
0