<

जनकपुर, २१ साउन ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मन्त्रिपरिषद्बाट स्वीकृत भएर सदनमा टेबलको तयारीमा रहेको शिक्षा ऐन सर्वस्वीकार्य रूपमा आउनु पर्ने बताएका छन्।

 

शहीदनगर नगरपालिका यदुकहा पुगेर २०२९ साल असोज १ गते तत्कालीन पञ्चायती शासन उत्कर्षमा रहेकोबेला प्रहरीको गोली लागेर निधन भएका धनुषा हडबाडाका कामेश्वर मण्डल र मुरीवाका कुशेश्वर यादवको सालिकमा माल्यार्पण गर्दै नेता महरले शिक्षक, विद्यार्थी र अभिभावकले अपनत्व ग्रहण गर्ने खालको शिक्षा नीति ल्याउनु पर्ने बताएका हुन्।

 

‘२०२९ असोज १ गते कामेश्वर र कुशेश्वरमाथि तत्कालीन पञ्चायती सरकारको प्रहरीले गोली चलायो। र, कामेश्वर-कुशेश्वरको गोली लागि घटनास्थलमै मृत्यु भयो। तत्कालीन पञ्चायती सरकारले नयाँ शिक्षा योजना लागू गरेको थियो। जसको विरोधमा कांग्रेस र नेविसंघ थियो। अहिले पनि शिक्षा ऐन सबैले अपनत्व गर्ने खालको ल्याउनु पर्छ। नत्र कांग्रेस र नेविस‌ंघ पुनः त्यसको विरुद्धमा रहने छ,’ महरले भने। उनले हचुवाका भरमा शिक्षा ऐन ल्याउन समस्या हुने चेतावनी दिएका छन्।

 

‘बढीभन्दा बढी जनताको भावना सम्बोधन हुने गरी शिक्षा ऐन ल्याउनु पर्छ। सरोकारवालाहरूसँगको छलफल र सहमतिपछि मात्र शिक्षा ऐन ल्याउनु पर्छ। त्यसैले विद्यार्थी, शिक्षक र अभिभावकलाई मन पर्ने शिक्षा ऐन आयमात्र शिक्षाले फड्को मार्न सक्छ। सदनमा पनि जनताको सरोकारको विषय बनाएर यसमा बढीभन्दा बढी छलफल हुनुपर्छ,’ उनले भने।

 

२०४६ सालमा शिवधारी यादवको नेतृत्वमा आन्दोलन चलेको र प्रहरी धडपकड हुँदा पाँच जना महिलाले साहदत्त प्राप्त गरेको स्मरण गर्दै उनले अहिले बेलैमा सोचविचार गरेर त्यस्तो अवस्था आउनबाट रोक्न सरकार गम्भीर हुनुपर्ने उनले बताए। उनले नेपाली माटो छुने किसिमको शिक्षा नीति ल्याउन आवश्यक रहेको बताउँदै सरकारलाई जिम्मेवार हुन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0