<

 

रौतहट ,साउन ८ गते ।
गढिमाइमा नगरसभामा ढिलाइ हुनुको कारण बारे वडा नम्बर १ का वडा अध्यक्ष रामपुकार यादवले खुलासा गरेका छन् । जनप्रतिनिधि बीच रहेको वादविवाद, आपसी द्धन्द्ध एवं मतभेदका कारण रौतहटको गढिमाई नगरपालिकाको नगरसभा अनिश्चित बनेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा÷नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
तर जनप्रतिनिधिबीचको विवादका कारण गढिमाइ नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को अझै नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेका छैनन् ।
बजेट भागबण्डा, करार कर्मचारीको तलव निकासा, यो भन्दा अघिका करोडौं बाँकी बक्यौता रकम भुक्तानी इत्यादी विषयमा जनप्रतिनिधि बीच कुरा नमिल्दा गढीमाईको नगरसभा अझै कहिले हुने हो भन्ने टुंगो लाग्न सकेको छैन ।
नगरपालिकाका वडा अध्यक्षहरुले नगर प्रमुख श्याम प्रसाद यादवसंग नगरसभा हुनुभन्दा अघि विभिन्न पाँच वटा माग पुरा गर्नुपर्ने शर्त राखेको बुझिएको छ । नगर प्रमुख यादवले आफुहरुको पाँच वटा माग पुरा गरेपछि मात्र नगरसभाका लागि सहमती जनाउने अडान वडा अध्यक्षहरुको रहेको बताईएको छ ।
नगरपालिकामा करारमा खटिरहेका सयौं करारका कर्मचारीको तलव भुक्तानी गर्न बाँकी रहेको ७ करोड ५६ लाख रुपैया भुक्तानी गर्नुपर्ने, गत आर्थिक वर्षको विकास निर्माण देखि लिएर अन्य कामको बाँकी रहेको करिव १८ करोड बक्यौता रकम भुक्तानी गर्नुपर्ने, गत आर्थिक वर्ष २०७९÷०८० मा भएको सम्पुर्ण खर्च सार्वजनिक गर्नुपर्ने, चालु आर्थिक वर्षमा आफुहरुलाई वडाको बजेट तिन करोड दिनुपर्ने लगाएतका माग आफुहरुले गरेको गढिमाई नगरपालिका–१ का वडा अध्यक्ष यादवले बताए ।
आफुहरुको यी मागहरु पुरा गरेपछि मात्र नगरसभाको माइन्युटमा हस्ताक्षर गर्ने प्रस्ताव मेयर यादव समक्ष गरेको भएपनि मेयर यादवले अहिलेसम्म यी माग पुरा गर्नेबारेमा कुनै जवाफ नदिएकोले नगरसभा हुन ढिलाई भएको वडा अध्यक्ष यादवको भनाई छ ।
नगरमा आवश्यक्ता भन्दा बढी करारका कर्मचारी भर्ति गरेका कारण उनिहरुको तलव अपुग हुने र नगरपालिकामाथी अनावश्यक आर्थिक भार थपिने भएको हुँदा करारका कर्मचारीको संख्या घटाउनुपर्ने उनले बताए ।
यसअघिको विभिन्न योजना र कामको गरी नगरपालिकाले उपभोक्ता समिति र संघ संस्थाको गरी अझै १८ करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।
नगरपालिकाले करोडौं रकम अझै भुक्तान गर्न राखेको बक्यौता रकम अनुसार नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण लगाएतका क्षेत्रमा व्यापक परिवर्तण एवं सुधार हुनुपर्ने थियो तर पालिकामाथी करोडौं रकम बक्यौता भएपनि नगरको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगाएतमा कुनै सुधार नभएको वडा अध्यक्ष यादवले बताए ।
नगरपालिकालाई समृद्ध र विकसित बनाउन यस चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, र कृषिलाई विशेष प्राथमिकता दिएर रकम छुट्टयानुपर्ने उनको माग छ ।
जनप्रतिनिधिबीच कै विवादका कारण गढिमाई जस्तै जिल्लाको माधवनारायण, फतुवा विजयपुर नगरपालिका, यमुनामाई गाउँपालिका र दुर्गाभगवती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को अझै नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0