नयाँ दिल्ली, १४ असार ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बहुप्रतिक्षित चन्द्रयान मिशन चन्द्रयान ३ को प्रक्षेपणको लागि अनुमानित मिति तोकेको छ।
इसरोका अधिकारीहरूले चन्द्रयान जुलाई १३ मा दिउँसो २ः३० मा प्रक्षेपण गरिन लागेको जनाएका छन् ।
इसरो प्रमुख एस सोमनाथले भने, अहिले चन्द्रयान–३ अन्तरिक्ष यान पूर्ण रूपमा तयार छ । हामीले परीक्षण पूरा गरिसकेका छौं । हामी अब रकेटको तयारी गर्दैछौं।
उनले चन्द्रयान–३ मा रकेट जडान गरी प्रक्षेपण गरिने बताए । उनले जुलाई १२ र १९ को बीचमा चन्द्रयान–३ प्रक्षेपण गर्न सकिने तर निकटतम मिति तय हुने आशा व्यक्त गरेका छन् ।
अधिकारीहरुका अनुसार चन्द्रयान–३ लाई आन्ध्र प्रदेशको श्रीहरि कोटास्थित सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण वाहन मार्क–३ मार्फत प्रक्षेपण गरिने छ । प्रोपेलेन्ट मोड्युलले ल्यान्डर र रोभरलाई चन्द्रमाको वरिपरि १०० किलोमिटरको परिक्रमामा लैजाने छ। यसमा चन्द्रमाको कक्षाबाट पृथ्वीको ध्रुवीय मापन अध्ययन गर्न स्पेक्ट्रो पोलारिमेट्री पेलोड पनि थपिएको छ।
यसअघि ७ सेप्टेम्बर २०१९ मा भारतको दोस्रो चन्द्र अभियान चन्द्रयान–२ ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ असफल भएको थियो । यो चन्द्रमाको सतहको दक्षिणी ध्रुव नजिकै अवतरण गर्नु पर्ने थियो तर चन्द्रमाको सतहमा अवतरण गर्न लाग्दा ल्यान्डर विक्रमसँगको सम्पर्क टुटेको थियो ।
त्यसबेला प्रधानमन्त्री नरेन्द्र मोदी पनि ऐतिहासिक क्षणको साक्षी हुन बेंगलुरुस्थित इसरोको मुख्यालयसमेत पुगेका थिए। अब तेस्रो पटक चन्द्रमा मिशनमा उपस्थित हुनेछन कि हुने छैनन ? त्यो भने अझै तय भएको छैन ।