<
ओम प्रकाश यादव कार्तिक २४ गते,
रौतहट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई भोलि रौतहट आउन लागेका छन् । यही कार्तिक २५ गते रौतहटको मध्यभाग गरुडा स्थित रहेको श्रीराम सुगर चीनी मिल परिसरमा आयोजना हुने विशाल आम सभालाई सम्वोधन गर्न दुर्गा प्रसाई रौतहट आउन लागेको जनाइएको छ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका रौतहट जिल्ला कमिटीले आज एन प्लाजा होटल गरुडामा पत्रकार सम्मेलनको आयोजना गरी कार्तिक २५ गते अभियानका केन्द्रीय संयोजक प्रसाई रौतहट आउन लागेको जनाएको हो ।
दुर्गा प्रसाईको भोलि आईतबार पहिलो पटक रौतहटमा आगमन हुँदै छ। बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर समस्यामा परेका नागरिक र मीटर व्याज पीडितहरु सहभागी हुने सभालाई सम्वोधन गर्न प्रसाई पहिलो पटक रौतहट आउन लागेको पत्रकार सम्मेलनमा बताइएको छ।
प्रसाई आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान जिल्ला कार्य समिति रौतहटका अध्यक्ष तेज नारायण यादवले जानकारी दिएका छन्। जिल्लाको विभिन्न ठाउँबाट लघुवित्त र साहु महाजनबाट पीडित नागरिकहरु ठूलो संख्यामा भोलि गरुडा चीनी मिल्समा आयोजना हुने विशाल आम सभामा सहभागी हुने अध्यक्ष यादवले बताए । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले पछिलो समय बैंक तथा वित्तीय संस्थाबाट लिईएका २० लाख मुनिका ऋण मिनाहा गराइदिने र मीटर व्याजबाट पीडितहरुलाई न्याय दिलाउने भनी देश व्यापी रूपमा सभा, गोष्ठी, भेला, बन्द हडताल सहित आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
प्रसाईंले २० लाखसम्मको ऋण मिनाहा र साहु महाजनबाट मुक्ति पाउन आफ्नो नेतृत्वमा रहेको महाअभियानलाई साथ दिन सम्पूर्ण शोषित र उत्पीडित जनतालाई आग्रह गर्दै आएका छन्। पत्रकार सम्मेलनमा प्रसाईका प्रमुख स्वकीय सचिव तथा अभियानका संस्कृति विभाग प्रमुख माधव कल्पिकले राज्यले नागरिक प्रति उत्तरदायी नभएको र चोर, दलाल, तस्कर, भ्रष्टहरुलाई कार्यवाही गर्नुको सट्टा उनीहरुलाई उल्टै संरक्षण गर्ने काम गरेकोले शोषित, पीडित आम नागरिकको रक्षाका लागि प्रसाईंले देशैभर नागरिक बचाउ महाअभियानको सुरुवात गरेको बताएका छन्।
बैंक लघुवित्त सहकारी बीमा कम्पनीहरुलाई तुरुन्तै राष्ट्रियकरण गरी निक्षेपकर्ताको निक्षेपलाई ध्यानमा राख्दै निक्षेपकर्ताको व्याज ६ प्रतिशत भन्दा माथि नहुने गरी लघुवित्त र सहकारीका ऋणीहरुको २० लाख भन्द मुनिको ऋण मिनाह गरी विखण्डन भएको परिवार र घरबाट निकाली सुकुम्वासी बनाइ सडकमा पुर्याइएका परिवारलाई एकै ठाउँमा बस्ने वातावरण मिलाउनु पर्ने, २० लाख भन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत हुनु पर्ने र
उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदेशिकर रोजगारमा गएका नेपाली युवाहरुलाई नेपालमै स्वरोजगारको ग्यारेन्टी गर्नु पर्ने, बैंकले धितोमा लिलाम गरी सुकुम्बासी बनाएकाहरुको धितो फिर्ता गरी उक्त ऋण पुनर्संरचना गरी १५ वर्षमा तिर्ने गरी किस्तामा बैंकको ऋणतिर्ने वातावरण बनाउनु पर्ने त्यसको जिम्मा सरकारले लिनु पर्ने, सम्पुर्ण सरकारकारका मातहत रहेका संघ संस्थाको रकम बैंकमा राख्दा सून्य प्रतिशत व्याजदरमा राखिनु पर्ने, सरकारले एफडी खाता खोल्न नपाउने निजामति कर्मचारीको तलब तल्लो तहका कर सुरक्षाकर्मीको तलब सुविधा कम्तिमा एक लाख ५० हजार हुने ग्यारेन्टी गर्नु पर्ने, नेपालको अर्थतन्त्रमा राम्रो सहयोग गर्ने तथा विभिन्न रोगमा औषधीको रुपमा प्रयोग गर्न सकिने हुँदा गाजा खेतिलाई बैधानिकता दिनु पर्ने, राजाका पालामा स्थापना भएका र
प्रजातन्त्र स्थापना पछि बेचिएका सम्पुर्ण उद्योग धन्दा कल कारखाना फिर्ता गरी पुन सञ्चालनमा ल्याउनु पर्ने, वेरोजगार युवाहरुलाई विनाधितो ऋण उपलब्ध गराइ रोजगारी सिर्जना गर्नु पर्ने लगाएतका माग राख्दै दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महा अभियानले संघर्ष गर्दै आएका छन् ।