<

बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते असाेज । 

 

रौतहट म्याराथनको उपाधि कविन्द्र शर्मालाई

हरेक वर्षझैँ बडादशैँको अवसरमा फूलपातीको दिन रौतहटमा आयोजना हुने म्याराथन दौड प्रतियोगिताको १३औँ संस्करणमा कविन्द्र शर्माले बाजी मारेका छन् । पाँच किलोमिटरको दुरी शर्माले १७ मिनेट ४० सेकेन्डमा पूरा गरेर सहभागी ४५ जनालाई उछिनेर प्रथम स्थान हासिल गरेका हुन् । गत वर्ष पनि शर्माले नै प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।

प्रथम स्थान हासिल गर्दै शर्माले फ्रिज जित्न सफल भएका छन् । यसै गरी १७ मिनेट ४३ सेकेन्डमा उक्त दुरी पूरा गर्दै राहुल रामले द्वितीय स्थान हासिल गर्दै एलइडी टिभी जित्न सफल भएका छन् । दुवै विजेता गरुडा नगरपालिका  ४ गरुडाकै हुन् । प्रतियोगितामा बाजी मारेपछि दुवै जनाले डिजे बजाएर साथीहरुसित सामूहिक नृत्य गर्दै बजार परिक्रमा गरेका थिए ।

रेडियो मधेश मसला एफएम  १०६.४ मेगाहर्ज, गरुडाको आयोजनामा भएको स्वर्गीय मनोजकुमार चौधरी म्याराथन दौड प्रतियोगिताको १३औँ संस्करणको अवसरमा मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार (जितेन्द्र) यादव र इलाका प्रहरी कार्यालय गरुडालाई सम्मानपत्र र अंगवस्त्रले सम्मानित गरिएको छ । सम्मानित दुवै जनालाई रेडियो मधेश मसला एफएम गरुडाका अध्यक्ष तथा कार्यक्रमका सभापति बृजकिशोर यादव र व्यवस्थापन पुनमकुमारी चौधरीले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार (जितेन्द्र) यादवले सबैको सुझावअनुसार आफूले प्रदेशको आर्थिक विकास, शिक्षा र स्वास्थ्यका साथै भौतिक पूर्वाधारको विकासका लागि काम गरिरहेको बताएका छन् । प्रदेशको विकासको लागि स्थिर सरकारको आवश्यकता रहेकोमा पनि मन्त्री यादवले जोड दिएका छन् । मन्त्री यादवले कार्यक्रमको प्रशंसा पनि गरेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले शान्ति सुरक्षा कायम गर्नु आफूहरुको प्रमुख दायित्व भएकोले यसका लागि अहोरात्र खटिरहेको बताएका छन् ।

कार्यक्रमकी विशिष्ट अतिथि तथा स्वर्गीय मनोजकुमार चौधरीकी धर्मपत्नी र गरुडा नगरपालिकाको वर्तमान नगर उपप्रमुख पुनमकुमारी चौधरीले कार्यक्रमको आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सहभागी र विजेता सबैलाई बधाई दिएकी छन् । मनोजकुमार चौधरीको स्मृतिमा भइरहेको म्याराथन दौड प्रतियोगिताले रौतहटमा एउटा संस्कृति निर्माण गरिरहेको पनि उपप्रमुख चौधरीको भनाइ छ । आगामी दिनमा अझ सभ्य र भव्य रुपमा कार्यक्रमको आयोजनाको लागि सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा रहेको उपप्रमुख चौधरीको भनाइ छ ।

कार्यक्रममा मध्यरौतहट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेमलाल साह, व्यवस्थापन समिति अध्यक्ष लछुमन साह तेली, वडाध्यक्षद्वय सुनिलकुमार जयसवाल र प्रवीण सिंह यादव, पूर्व वडाध्यक्ष चुनचुनप्रसाद साह, समाजसेवी हृदयनारायण यादव, रामभरोस राय यादव, गरुडाको नगर प्रमुख प्रत्याशीद्वय सुनिलकुमार यादव र दीपक राय यादव, नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेश अध्यक्ष रामजी साह सोनार, गरुडा गाविसका पूर्व उपाध्यक्ष तथा स्वर्गीय मनोजकुमार चौधरीका सहोदर दाजु रामकृष्ण चौधरीलगायतलाई प्रशंसापत्र र अंगवस्त्रले सम्मानित गरिएको छ । कार्यक्रमका वक्ताहरुले मनोजकुमार चौधरीको व्यक्तित्व र कृतित्वको बारेमा विभिन्न कोणबाट चर्चा गरेका थिए । स्वर्गीय चौधरी शिक्षा, संचार, समाजसेवा तथा साहित्य लगायत विभिन्न क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्वको रुपमा रहेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका रेडियो मधेश मसला एफएम गरुडाका अध्यक्ष बृजकिशोर यादवले कार्यक्रमलाई सम्भव र भव्य बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । कार्यक्रममा उपस्थित सबैलाई रेडियो मधेश मसला एफएमका संचालक समिति सदस्य नागेन्द्र चौरसियाले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सञ्जय साह मित्रले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0