<
राैतहट,१४ गते भादाे ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा राजेश कुमार पासवान को संयोजकत्वमा जातीय विभेद तथा छुवाछूत अनुगमन गठन गरिएको छ। स्थानीय स्तरमा जातीय विभेद तथा छुवाछूत जस्ता घटनाहरुलाई नियन्त्रण तथा निगरानी गर्ने उदेश्यले प्रत्येक गाउँपालिका तथा नगरपालिकामा एक जातीय विभेद तथा छुवाछूत अनुगमन समिति रहनेगरी मधेस प्रदेशको ८ वटै जिल्लाहरुको हरेक पालिकाहरुमा सो समितिको गठन भइरहेको छ।
जातीय विभेद तथा छुवाछूतको घटनाहरुको अध्ययन, अनुगमन तथा जातीय विभेद तथा छुवाछूत सम्बन्धी कानूनको कार्यान्वयन, रेखदेख, निवन्त्रण र सुपरिवेक्षण गर्ने काम समेतका लागि प्रदेशस्तरमा पनि सो जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन भइसकेको छ ।
गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखले तोकेको दलित सदस्य मध्येबाट छानिएको एकजना व्यक्तिलाई संयोजकमा मनोनीत गर्ने प्रावधान रहेकोले सो समितिको संयोजकमा सोही पालिकाका कार्यपालिका सदस्य राजेश कुमार पासवानलाई मनोनीत गरिएको छ।
त्यसैगरी दलित अधिकारको क्षेत्रमा कम्तीमा ५ वर्षदेखि कार्य गर्दै आएका दलित समुदायको व्यक्तिमध्ये स्थानीय सरकारले मनोनित गरेको स्थानीय एकजना महिला र एकजना पुरुष सहित दुई जना लाई सदस्यमा राख्ने प्रावधान रहेकोले सदस्यमा लक्ष्मिनिया देवी र सुरेश पासवानलाई मनोनय गरिएको हो। त्यस्तै गाउँ तथा नगरपालिकाका कार्यपालिकामा प्रतिनिधित्व गर्ने एक जना दलित सदस्यलाई उक्त समितिको सदस्यमा राखने प्रावधान रहेकोले सो समितिको अर्को सदस्यमा पुनम देवीलाई चयन गरिएको छ।
र प्रदेशस्तरमा प्रतिनिधित्व गर्ने राजनितिक दलको प्रतिनिधि कम्तीमा चार जना सदस्य राख्ने प्रावधान रहेकोले राजनीतिक दलहरुको तर्फबाट राधेश्याम बैठा,रामजिवन राम,सुखल दास तत्मा,धरिक्षण राम र सो पालिकाको सामाजिक शाखा अधिकृत रासनरायण पटेललाई सदस्य सचिवमा चयन गरिएको हो। उक्त समितिले दलितको हक संरक्षण र हित प्रवर्द्धनको लागि स्थानीय स्तरमा प्रचार-प्रसार र पैरवी गर्ने,दलितको हक संरक्षण र हित प्रवर्द्धनको लागि स्थानीय तहमा देखा परेका बाधा अवरोध समस्या निराकरण गर्ने,दलितको हक संरक्षण र हित प्रवर्द्धनको लागि स्थानीयस्तरमा गर्नुपर्ने कार्यको लागि प्रदेश
अनुगमन समितिलाई प्रतिवेदन तथा पृष्ठपोषण गर्ने,दलित उपरको भेदभाव विरुद्धको कानून कार्यान्वयन गर्न सहयोग गर्ने गराउने,स्थानीय स्तरमा दलितको हक संरक्षण र हित प्रवर्द्धनका लागि गर्नुपर्ने आवश्यक अन्य कार्यहरु गर्ने,दलित विद्यार्थीको निःशुल्क तथा अनिवार्य शिक्षाको व्यवस्था मिलाउने सम्बन्धी सम्पुर्ण काम गर्ने, गराउने,दलित विकास तथा उत्थानका लागि स्थानीय सरकारबाट बजेट विनियोजन गरी पारित गर्ने,
गराउने र दलितहरुको अगुवाइमा उक्त कार्यक्रम कार्यान्वयन गराउन सहयोग गर्ने,जातीय छुवाछूतका घटना हुन नदिन नगर तथा गाउँस्तरमा चेतनामूलक कार्यक्रम संचालन गर्ने गराउने,तोकिए बमोजिमका अन्य कार्य गर्ने गराउने, समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम कार्य गर्नेछ। उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद प्रसाद कुर्मीले उक्त समिति गठन प्रति खुसी व्यक्त गर्दै चयन भएका सम्पूर्ण पदाधिकारीहरुलाई शुभकामना समेत व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो”समितिको गठनले वृन्दावन नगरपालिकामा जातीय विभेद विरुद्धको लडाइँलाई अझ सशक्त बनाउने छ।
हामी सबैले मिलेर समतामूलक समाज निर्माण गर्ने दिशामा अघि बढ्न आवश्यक छ।” प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल र नगर उप प्रमुख संगीता रामले पनि समितिको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै आगामी दिनमा नगरपालिकाले यस समितिलाई आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए। त्यसैगरी सो कार्यक्रममा बोल्दै नव गठित समितिका संयोजक तथा वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवानले सामाजिक,आर्थिक र धार्मिक रुपले पछाडि पारिएका दलित समुदायको पिडा बुझ्न र
ति समुदायले भोग्दै आएको जातिय विभेद तथा छुवाछूत जस्ता जघन्य अपराधको नियन्त्रणका लागि आफुलाई दिएको जिम्मेवारी ईमानदारीताका साथ निर्वाह गर्ने बताउनुभयो।उनले“आफु एउटा स्थानीय सरकारको सदस्य रहे पनि आफु संग समेत जातीय विभेद भइसकेको र त्यसको विरुद्धमा आफुले न्यायको खोजी गर्दै मुदा समेत लडिरहेको बताउनु भयो। समितिले दलित समुदायको हक अधिकारको संरक्षण, विकास, र
उत्थानका लागि विभिन्न उपायहरु अगाडि बढाउने छ। राजेश कुमार पासवानको नेतृत्वमा गठित सो समितिले छुवाछूत र विभेद विरुद्धको अभियानलाई थप सक्रिय र प्रभावकारी बनाउने विश्वास गरिएको छ। नगरपालिकाले दलित समुदायको हितका लागि थप सहयोगात्मक भूमिका खेल्ने कुरामा आशावादी देखिएको छ।
उक्त कार्यक्रममा वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मी,उपप्रमुख संगिता कु.राम,सो पालिकाका प्रमुख प्रसासकिय अधिकृ खिम बहादुर भुजेल,वडा नं.१ का वडा अध्यक्ष रामनाथ सहनी,वडा नं.५ का वडा अध्यक्ष फेकु दास,वडा नं.६ का वडा अध्यक्ष मजहर मन्सुर,वडा नं.७ का वडा अध्यक्ष जगरनाथ प्रसाद भेडियर र वडा नं.९ का वडा अध्यक्ष प्रवेज आलम लगायत सो पालिक भित्रका विभिन्न दलित जनप्रतिनिधि,दलित अधिकारकर्मी तथा विभिन्न कर्मचारहरुको उपस्थिति समेत रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1