<

जनकपुरधाम, २९ साउन । धनुषाको जनकपुरधाम स्थित जनकपुर एफ.एम.ममा कार्यरत पत्रकार निभा कुमारी झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण गरिएको छ । आमसञ्चार प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले वहाँलाई मङ्गलबार २३ हजार ५ सय ४५ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । हाल २९ वर्षिया वहाँ जनकपुर एफ.एम. १०१.८ मेगाहर्जमा समाचार वाचिकाको रुपमा कार्यरत हुनुहुन्छ ।

 

केपी खबर डट्कमको म्यानेजिङ्ग डायरेक्टरको रुपमा समेत कार्यरत रहनुभएकी वहाँ विगत ९ वर्षदेखि सञ्चारक्षेत्रमा सक्रिय हुनुहुन्छ । गत चैत्रमा सिकिस्त बिरामी भई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भई धरान स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोकर्मी झाको थप उपचार गरिएको थियो । मधेश प्रदेश प्रदेश सरकारको मन्त्री परिषद्बाट पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा सम्बन्धी कार्यविधि २०७९ पारित गरेको थियो ।

 

सोही अनुसार आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० मा जीटुजी पोलिसी अन्तर्गत सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग मधेश प्रदेशका एक सय १० जना पत्रकार महिलाहरुको बीमा गरेको थियो । शुरुका दुई वर्षसम्म प्राधिकरणले प्रदेशका पत्रकार महिलाहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यका साथ एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गर्दैआएकोमा गत आ.व.मा बजेट कटौती गरिएपछि कार्यक्रम प्रभावित भएको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

 

वहाँका अनुसार चालु आ.व.२०८१/०८२ को बजेटमा भने मधेश प्रदेशका सम्पूर्ण पत्रकारहरुको बीमा गर्ने गरी ३० लाख रुपैयाँ बिनियोजन गरिएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको निकायको रुपमा रहेको प्राधिकरणले गरेको बीमा कार्यक्रमबाट नेपाल पत्रकार महासंघकी सदस्य समेत रहनुभएकी रेडियो पत्रकार रञ्जना खतिवडालाई २६ हजार ६ सय ७३ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

 

प्राधिकरणका कम्प्युटर अधिकृत प्रसन्नराज कर्णका अनुसार बीमाको सुविधा रकम उपलब्ध गराउनका लागि थप दुई जना पत्रकार महिलाको नाम राष्ट्रिय बीमा कम्पनी लिमिटेड जनकपुरधाम कार्यालयलाई सिफारिस गरिएको छ । उक्त रकमको चेक आए लगत्तै हस्तान्तरण गरिने अधिकृत कर्णले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0