<
आरके श्रीवास्तव,
राैतहट,२२ गते साउन ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाको शिक्षा क्षेत्र भताभुंग भइरहेको छ । शिक्षा शाखाको नेतृत्व बारम्बर परिवर्तन भइरहँदा त्यहाँको शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव बढिरहेको छ ।
गत ६ महिनामा फतुवा विजयपुर नगरपालिकामा ४ जनालाई शिक्षा शाखा प्रमुख बनाइएको छ । एकपछि अर्को शिक्षा शाखा प्रमुख बनाउने चलखेलमा नगरपालिका र शिक्षा तथा समन्वय इकाई लागेपछि नगरको शिक्षाको बेहाल भएको हो ।
नगरपालिकामा रहेका विद्यालयहरुको रेखदेख, पठनपाठन तथा शैक्षिक गुणस्तर सुधार सबै पक्षमा राजनीति पसिसकेको छ । निर्वाचित नगर प्रमुख निलम्बित भइसकेको र कार्यवाहक नगर प्रमुखले चलाउन नसकेको नगरपालिकाको रुपमा चिनिएको फतुवा विजयपुरमा सधै विवाद हुने गरेको छ ।
नपाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रमान प्रधान कहिल्यै कार्यालय नजाने र जो निकट हुन खोज्यो उसैलाई कार्यवाहक नगर प्रमुख अम्बेया खातुनसित सल्लाह गरी शिक्षा शाखा प्रमुखको जिम्मेवारीको लागि शिक्षा तथा समन्वय इकाइ रौतहटलाई सिफारिश गर्ने गरिएको छ ।
गत साउन २० मा शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले प्राविधिक सहायक राजेशकुमार यादवलाई फतुवा विजयपुर नगरपालिकाको शिक्षा शाखा प्रमुखको रुपमा कामकाजमा खटाएको छ । यादवलाई पुनः शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइएपछि व्यापक विवाद सुरु भएको छ ।
फतुवा विजयपुरमा शिक्षा शाखा प्रमुखको विषयमा व्यापक विवाद चुलिएपछि शिक्षा विकास तथा समन्वय इकाइ रौतहट प्रमुख राम विनय कुमार सिंहले रौतहटको तीनओटा पालिकामा मात्र नियमानुसार शिक्षा शाखा प्रमुख भएको र बाँकी पालिकामा अनियमित अधिकारले शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइएको स्वीकार गरेका छन् ।
रौतहटको गुजरा, चन्द्रपुर र गरुडा नगरपालिका बाहेक जिल्लाका १५ पालिकामा नियमले अयोग्य व्यक्ति शिक्षा शाखा प्रमुखको रुपमा रहेको सिंहको भनाइ छ ।
गुजरा, चन्द्रपुर र गरुडा नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहमा शिक्षक वा अन्यले अनियमित अधिकारले शिक्षा शाखा चलाइरहेको देखिएको छ । सिंहका अनुसार शिक्षा शाखा प्रमुख हुनको लागि शिक्षाशास्त्रमा स्नातकोत्तर गरेको निजामती सेवाका कर्मचारी हुनु पर्ने प्रावधान रहेको छ ।
फतुवा विजयपुरमा कानुनले अयोग्य व्यक्तिलाई बारम्बार शिक्षा शाखा प्रमुख बनाइँदा शिक्षा क्षेत्रको बेहाल भएको छ । कानुनले नमिले पनि नगरको कार्यवाहक प्रमुख खातुन, प्रमुख प्रशासकीय अधिकृत प्रधान र इकाइ प्रमुख सिंहको मिलोमतोमा ६ महिनामै ४ शिक्षा शाखा प्रमुख फेरिएका छन् ।
नगरपालिकामा संचालनमा रहेका सामुदायिक विद्यालयको पाठ्यपुस्तक, परीक्षा तथा विद्यालय दिवा खाजाको रकम निकासा हुँदा ठुलो चलखेल हुने गरेकोले शिक्षा शाखामा अनियमित तरिकाले आफ्नो मानिस राख्न तँछाडमछाड हुने गरेको छ ।
६ महिनामै ४ शाखा प्रमुख फेरिएपछि शिक्षा क्षेत्रका स्थानीयवासी आक्रोशित भएका छन् । यता सामाजिक संजालमा यसबारे थुप्रै प्रतिक्रिया आएका छन् । श्री मावि टेंग्राहाका प्रअ अनिल यादव लेख्छन् प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार नभए यस्ताे हालत हुन पुगेकाे हाे ।
यता यूवा नेता अबरारूल हक भने जनप्रतिनिधिकाे कमजोरी रहेकाे आराेप लगाएका छन् । बिके मिश्राले गैरजिम्मेवार पन का कारण यस्ताे हुन पुगेकाे बताउँछन् । यसमा प्रतिक्रिया दिदै पत्रकार मेवालाल यादव लेख्छन् यसमा धेरै चलखेल छ ।
नरेन्द्र श्रीवास्तवले आफनाे प्रतिक्रिया दिदै भनेका छन् याे स्थानीय तहकाे राजनीतिकाे असरकाे उपज हाे । शिक्षक रामलखन यादवले जसकाे लाठी उसकाे भैंस भनेका छन् ।
राजनितीक विशलेषक एवम् शिक्षा जानकार बिन्दा सहनीले लेखेका छन् ,चिन्ता यो छैन कि शिक्षा शाखा वा कुनै प्रशाखा प्रमुख निरन्तर फेरिन्छ,चिन्ता यो छ, यहाँका सरकार वा सरकारहरू कति चाँडो फेरिन्छ। अस्थिर देशको अस्तित्त्व कतिखेर समाप्त हुन्छ, सामुहिक सोच राखेर गम्भीरतापूर्वक विचार गर्न सक्नु भएन भने हामी सबै धरापमा पर्नेछौं।
रमेश पटेलले भनेका छन् पालैपालो नगरपालिका लुट्नलाई यस्ताे हर्कत बारम्बार भईरहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1