<

राैतहट,०६ गते साउन । गत असार २८ गते शुक्रबार चितवनको सिमलताल खसेको गणपति डिलक्समा यात्रारत सरोज कुमार साहले चार जनाको पुतला बनाई संस्कृतिअनुसार अन्तिम संस्कार गरेका छन् । त्रिशुली नदीमा बस खसेपछि साह पौडेर बाहिर निस्कन सफल भएका थिए । साहसँगै काठमाडौँबाट घरका लागि सोही बसमा थिए बुवा परशुराम साह, आमा मीनादेवी, भिनाजु नरेश साह र बहिनी रिंकु साह ।

असारको अन्तिम शुक्रबार त्रिशुलीमा खसेको बसमा सँगै यात्रा गरिरहेका धेरै जनाको शव बरामद भए पनि साहका चारै जनामध्ये कसैको पनि शव बरामद भएको छैन । आज शनिवार भारतीय एनडिआरएफको टोलीले सिमलताल क्षेत्रमा उद्धारको काममा लागेको सुनेपछि साह भक्कानिएका छन् । उनी भन्छन् – संस्कृतिअनुसार पुतला बनाएर दाह संस्कार गरिसकेको भए पनि कतै भेटिइहाल्छन् कि भन्ने लागिरहन्छ ।

एकसाथ पाँच जना हिँडेकामा चार आफन्त गुमाई आफू मात्र बाँच्न सफल साह भन्छन् – म आफैँ बाँचेको छु कि मरेको छु भन्ने छुट्याउन पनि कहिलेकाहीँ गाहारो लाग्दछ । भारतीय उद्धारकर्ताको टिमले बसको अवशेषसँगै हराइरहेका आफन्तको सास कि लास फेला पर्ने विश्वास आफूलाई रहेको साह बताउँछन् ।

पुतला बनाई दाह संस्कार गरिसकिएको छ तर श्राद्धकर्मसहित अन्य कर्महरु बाँकी नै छन् । त्रिशुलीमा हराइरहेका यात्रीका आफन्तहरुमा सास वा लास भेटिने आशा छँदैछ । एडिआरएफको टोलीले कुनै निष्कर्षमा पुर्याउने विश्वास रहेको चार जना आफन्त गुमाएर आफू मात्र बाँच्न सफल साहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0