<
राैतहट,३१ गते असार ।
असार मसान्त हुँदा पनि मधेश प्रदेशमा सबैभन्दा कम रोपाईँ भएको छ । अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा सबैभन्दा कम रोपाईँ भएको हो । धान उत्पादनको मुख्य केन्द्र नै रहेको मधेश प्रदेशमा सबैभन्दा कम रोपाईँ हुनु चिन्ताको विषय रहेको कृषिविदहरु बताउँछन् ।
कृषि ज्ञान केन्द्र रौतहटका कृषि अर्थविज्ञ विप्लवकुमार गुप्ताले जति ढिलो रोपाइँ गर्यो, त्यसरी नै उत्पादन कम हुने तथा रोग कीराको प्रकोप बढ्ने बताउँछन् । गत वर्ष पनि असार मसान्तसम्म रोतहटमा ४० प्रतिशत रोपाईँ भएको थियो । यसपटक समयमा वर्षा भएकोले असार मसान्तसम्म करिब ६० प्रतिशत धानको रोपाइँ भएको अनुमान गरिएको छ । गत वर्ष रौतहटमा ३५ हजार ५३० हेक्टर जमिनमा धानको रोपाइँ भएको थियो । यस वर्ष करिब ३८ हजार हेक्टरमा धानखेती हुने अनुमान गरिएको छ ।
गत वर्षको तुलनामा रौतहटमा चैते धानखेतीमा पनि वृद्धि भएको छ । गत वर्षको तुलनामा रौतहटमा यस वर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको कृषि अर्थविज्ञ गुप्ताको भनाइ छ । रौतहटमा यस वर्ष करिब ७५ सय मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान गरिएको छ । अर्थविद् गुप्ताले अत्यधिक मात्रामा रासायनिक मलको प्रयोग नगर्न किसानहरुलाई सुझाव दिएका छन् । उनी भन्छन् – अत्यधिक रासायनिक मलको प्रयोगले बाली, माटो र वातावरण सबैलाई नोक्सान पुर्याउँछ, कृषि लागत बढ्छ । रोपाईँ सकिएपछि खेतमा सधैँ पानी भरिराख्नुभन्दा पानी तर्काउनुपर्छ जसले गाज वृद्धिमा मदत गर्दछ र उत्पादन बढ्छ – अर्थविज्ञ गुप्ताको भनाइ छ ।
सिंचाइको सुविधा भएको ठाउँमा पनि रोपाइँ सकिएको छैन । पानीको सुविधा भएको ठाउँमा किसानहरुले धमाधम खेती गरिरहेका छन् । रोपाईँ गर्न पनि समस्या भएकोले केही ढिलो हुन गएको हो । खेतमा बेर्ना तयार छ तर रोपाहार पाउन कठिन छ । कतै कतै आइमाईहरुले नै ब्याडमा बिउ काढ्ने र रोपाईँ गर्ने गर्ने काम पनि गरिरहेका छन् ।
धमाधम रोपाईँ भइरहेकोले साउन महिनाको पहिलो हप्तासम्म मुख्य रोपाईँ सकिने विश्वास रहेको छ । कटहरियाका एक कृषक भुनेश्वर यादव भन्छन् – अबको एक हप्तामा रोपाईँ सकिन्छ होला । वर्षा रोकिने हो भने धानको रोपाईँमा पनि केही ढिलो हुने सम्भावना रहन्छ । पानी नपर्ने हो भने रोपाईँमा एक हप्ता ढिलो हुन सक्ने उनी बताउँछन् । सबै किसानको पहुँचमा सिंचाइ सुविधा नपुगेकोले विद्युतीय सिंचाइको व्यवस्था गर्न किसानहरुले माग गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1