<

जनकपुर,११ गते असार । जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशका सबै सक्रिय पत्रकारहरुको बीमा गर्ने भएको छ । प्राधिकरणले मङ्गलबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको शास्त्री सभाहलमा आयोजना गरिएको कार्यालयको गतिविधि सार्वजनिकीकरण कार्यक्रममा उक्त विषयमा जानकारी दिईएको हो । कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले चालु आर्थिक वर्षमा बजेट अभावले गर्दा पत्रकार महिलाहरुको बीमा कार्यक्रम प्रभावित भए पनि आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा मधेश प्रदेशका सम्पूर्ण सक्रिय पत्रकारका लागि एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमाका लागि पुग्ने गरी ३० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । आगामी आर्थिक वर्षको प्रारम्भदेखि नै प्रेस प्रतिनिधि परिचयपत्र, पत्रकारिता अध्ययन छात्रवृति, खोज पत्रकारिता सम्बन्धि अनुसन्धान, सञ्चार डायरी, अनलाइन मिडियाहरुलाई लोककल्याणकारी विज्ञापन, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुको सबलिकरण सम्बन्धी कार्यक्रमहरु अगाडि बढाउने अध्यक्ष यादवले बताए । उनले सञ्चारमाध्यमहरुको अवस्था अत्यन्त कमजोर रहेको बताउँदै उनले लोककल्याणकारी विज्ञापनका लागि विनियोजित बजेट कम रहेको भनी गुनासो आएपछि मुख्यमन्त्री, गृह, सञ्चार तथा कानुन मन्त्री र अर्थमन्त्रीले बजेट थप्ने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवले कानुनी जटिलता र कर्मचारी अभावले आमसञ्चार प्राधिकरण प्राधिकरणका कतिपय कामहरु प्रभावित हुँदैआएकोले अविलम्ब त्यसको समाधान गरिने प्रतिवद्धता व्यक्त गरे । उनले सञ्चार क्षेत्रमा परिणाममुखि र अनुभूती हुने गरी कामहरु अगाडि बढाउन प्राधिकरण र काउन्सिलले काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्राधिकरणले हालसम्म गरेका गतिविधिहरुबारे प्रशासकीय प्रमुख जय कुमार राउतले चालु आर्थिक वर्षमा आमसञ्चार प्राधिकरणले प्रदेशका पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियो गरी २४२ सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन लागेको जानकारी गराए । कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कर्ण, प्रेस स्वतन्त्रता सेनानी राम भरत साह, वरिष्ठ पत्रकार विश्वमणि खनाल, पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले सुझाव सहित प्रस्ततिकरणमाथि टिप्पणी गरे । कार्यक्रममा अधिकृत सन्तोष कुमार साहले सञ्चालन तथा कम्प्युटर अधिकृत प्रसन्न राज कर्णले स्वागत मन्तब्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0