राैतहट,०७ गते असार । रौतहटको कटहरिया नगरपालिका ५ निवासी रामाशंकर महतोको खेतमा सयपत्री फूल फुलिरहेका छन् । सयपत्री फुलेको दृश्यले गरुडा–कटहरिया मार्गमा हिँड्ने जो कोहीलाई आकर्षित गर्दछ । देहातमा अहिले सयपत्री फूललाई बेमौसमी मानिन्छ तर महतोले चारकट्ठा खेतमा गज्जबै देखिने गरी फूल फुलाएका छन् । अहिले बाटो भएर हिँड्ने जो कोहीलाई लाग्न सक्छ – यो व्यावसायिक फूल खेती हो । चार कट्ठामा कोही घरमा पूजा गर्न र खेतको शोभाको लागि फूल रोप्दैन । जहाँ छरछिमेकको खेतमा चैते धान तथा तिल र मुङदाल लहराइरहेको छ त्यहीँ महतोले आफ्नो खेतमा अरुभन्दा फरक किसिमले सयपत्री फूल फुलाउन सफल भएका छन् । चार कट्ठामा सत्रपत्री लगाएका महतोले गत बैसाख महिनामा मात्र डेढ लाख रुपैयाको फूल बेचेका छन् । एक महिना बेचेर डेढ लाख रुपैयाको आम्दानी गरेका महतो भन्छन् – जेठ र असार महिनामा फूल बेचेको हिसाब गरेको छैन । तर अपेक्षा गरेको जस्तो फूल बिक्री भएको छैन । अहिले फूलको बिक्रीको सिजन छैन । विवाह, सार्वजनिक कार्यक्रमको चटारो र धार्मिक मेलाहरु लाग्ने सिजनमा भने फूलको लागि मारामार हुन्छ । सम्भवतः यसैले अपेक्षा गरेको जस्तो फूलको बिक्री नभएको हुन सक्छ । फूलको बिक्रीको लागि खासै कुनै पहल गर्न नसकेको र कटहरिया बजारमा एउटा बिक्री केन्द्र खोलेर व्यवसाय गर्दै आएको महतो भन्छन् । फूलको खासै बजार अहिले छैन । फूललाई सहरी क्षेत्रसम्म पु¥याउन सकिएको छैन । यसले गर्दा खेतमै फूल सुक्न थालेको छ । फूल खेतमै सुक्दा आफूलाई निकै घाटा भएको महतो बताउँछन् । स्थानीय सरकारले फूलको बजारीकरणमा सहयोग गरेको भए धेरै सहयोग हुन्थ्यो तर स्थानीय सरकारलाई यस प्रकारको व्यावसायिक खेतीप्रति कुनै चासो नै नभएको गुनासो रहेको छ । कटहरिया नगरपालिकामा खपत हुने फूल चाहिँ मुख्य गरी कटहरिया बजारमा रहेको पसलबाट सर्वसाधारणले किन्न थालेकोमा भने आफूलाई खुसी लागेको महतो बताउँछन् । फूलखेती गर्नको लागि धैर्य र लगानी दुवै चाहिएको हुन्छ । मंसिर पुसदेखि फूलखेती गर्दा फागुनदेखि असारसम्म फूल लाग्ने हुन्छ । यसरी सामान्यतया अन्य बालीको तुलनामा फूलखेतीके केही बढी समय चाहिने र लगानी उठ्ने कुनै निश्चित नै नहुने महतोको अनुभव छ । फलफूल र तरकारीका साथै खाद्यान्न जस्तो दैनिक उपभोग्य वस्तुको रुपमा फूल आवश्यक नभएको कारण यसको बिक्री अपेक्षाभन्दा कम भएको महतो बताउँछन् । छोरा, छोरी र पत्नीसहित परिवारका सम्पूर्ण सदस्य मिलेर फूल खेती गर्ने गरेका महतोले फूलखेती गर्न भारतबाट सिकेका हुन् । पहिले इँटा उद्योगमा मजदुर रहेका महतोले आफैँले फूलको व्यावसायिक खेती गर्ने हुनसम्म आफ्नै किसिमले संघर्ष गरेका छन् । इँटा उद्योगमा दिन र रात काम गर्दा पनि परिवार चलाउन र सम्मान पाउन निकै गाह्रो थियो । भारतको सीमावर्ती बजार घोडासहनमा परिचितले फूलखेती गरेको देखेर सिकेका र त्यहीँबाट प्रभावित भएका महतोलाई मौसमअनुसार फूलखेती गर्न आउँछ तर बजार भने अन्य फूलको छैन । त्यसैले महतोले मौसमअनुसार फुल्ने सयपत्री फूलकै खेती गर्दछन् । गत चार वर्षदेखि फूलखेती गर्दै आएका महतोले अहिले चार कट्ठामा दुई किसिमको सयपत्री फुलाउन सफल भएका छन् । अहिले रातो र सेता गरी दुई खेतमा दुई किसिमको सयपत्री फुलाएका महतो भन्छन् – सर्वसाधारणलाई सेतोभन्दा रातो फूल धेरै मन पर्ने रहेछ । बाटोमा हिँड्नेहरुले पनि एकछिन रोकिएर कम्तीमा सेल्फी खिचेर जाने गरेका छन् । हेर्दै आकर्षक लाग्ने फूलखेतीमा लगानीको तुलनामा आम्दानी धेरै छ । अन्य बालीको तुलनामा परिश्रम धेरै गर्नुपर्छ तर सबै फूल बिक्री हुने हो भने आम्दानी पनि निकै हुने महतोको भनाइ छ तर फूल लागेर ढकमक्क भइसकेपछि पनि बिक्री नहुने हो भने फूलको सौन्दर्यले मात्र पेट पाल्न सकिने रहेनछ । फूलखेतीले अहिलेसम्म खासै असन्तुष्टि नदिए पनि अपेक्षाअनुसार आम्दानी नभएको र फूल खेर जाँदा मनमा दुःख लाग्ने गरेको महतो बताउँछन् । बेमौसमी फूलको बीउ कलकत्ताबाट ल्याउने गरेको महतो बताउँछन् । कलकत्ताबाट निकै महँगोमा फूलको बीउ ल्याएर खेती गर्ने गरेको बताउँदै महतो भन्छन् – कम्तीमा नगरपालिकाले पुष्पखेतीलाई सकारात्मक दृष्टिकोणले हेरिदिए पुग्छ । लगातार चार वर्षदेखि फूलखेती गरिरहेको कारण विस्तारै सर्वसाधारणलाई थाहा हुँदै गएको र बेला मौका फूल तथा मालाको आवश्यकता पर्दा आफूलाई सम्पर्क गर्ने गरेको बताउँदै महतो भन्छन् – गाउँ समाजमा हुने सामाजिक तथा धार्मिक कार्यक्रमहरुमा पनि खेतबाटै सोझै फूल र माला माग्नेहरु बढिरहेका छन् । विस्तारै फूलको बेपारमा वृद्धि हुने आत्मविश्वास महतोमा रहेको छ । नयाँ किसिमको खेती गरी आफ्नो साहस र परिश्रमले पहिचान बनाउँदै गएका फूलखेती गर्ने किसान महतो आफैँमा एक उदाहरण बनेका छन् ।
<
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1