<

आरके श्रीवास्तव,राैतहट,३२ गते जेठ । रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कल्वारले नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरेका छन् । शुक्रबार एक समारोहका बिच नगर प्रमुख कल्वारले गरुडा नगरपालिका ४ स्थित गोरु बजार लाग्ने ठाउँमा प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । नगरपालिकाको वर्तमान कार्यपालिका निर्वाचित भएपछि गरेको पहिलो निर्णय नै आफ्नो प्रशासकीय भवन निर्माण गर्ने भन्ने थियो । निर्वाचित भएको दुई वर्षपछि सर्वसम्मत रुपमा कार्यपालिका सदस्यहरुको उपस्थितिमा नगर प्रमुख कल्वारले प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । शिलान्यासपछि समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कल्वारले भने – जसरी सर्वसम्मत रुपमा प्रशासकीय भवन बनाउने निर्णय गरेका थियौँ, त्यसरी नै सर्वसम्मत रुपमा शिलान्यास पनि गरेका छौँ । सबै पक्ष तथा राजनीतिक दलका प्रमुख व्यक्तित्वको उपस्थितिले अत्यन्त हर्षित बनाएको बताउँदै नगर प्रमुख कल्वारले भने – आफूसित बोल्नलाई कुनै शब्द नै छैन । समारोहलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख कल्वार भावुक बनेका थिए । पाँच करोडको लागतमा तिन तल्ले भवनको निर्माणको लागि टेन्डर गरिएकोमो श्रेष्ट बटुक भैरव जेभि वीरगंजले ३ करोड ३३ लाखको लागतमा निर्माण गर्ने ठेक्का सकार गरेको छ । ठेक्का सकार भएको मितिले एक वर्षभित्र निर्माण गरिसक्नुपर्ने जनाइएको छ । ठेक्काअनुसार काम सम्पन्न भएमा अर्को वर्ष नगर सभा नयाँ भवनमा नै गरिने नगर प्रमुख कल्वारले सार्वजनिक गरेका छन् । रौतहटमा दुई गाउँपालिका र १६ नगरपालिका रहेका छन् । गौर र चन्द्रपुरपछि तेस्रो नगरपालिकाको रुपमा रहेको गरुडाभन्दा पहिले गौर, चन्द्रपुर, मौलापुर, गुजरा, गढीमाई, देवाही गोनाही, ईशनाथ लगायतका नगरपालिकाहरुले आफ्नै प्रशासकीय भवनमा सेवा दिइरहेका छन् । जिल्लामा करिब आधा दर्जनभन्दा बढी पालिकाको प्रशासकीय भवन निर्माण भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0