<
रौतहट,२१ गते जेठ । रौतहट÷रौतहटको फतुवा विजयपुर नगरपालिकाको शिक्षा शाखामा नाटकै नाटक देखिएको छ । एउटै नगरपालिकाका दुई शिक्षा शाखा प्रमुखको विपरीत प्रकृतिको पत्र सार्वजनिक भएपछि शिक्षाभित्रको बेथिति सार्वजनिक भएको हो । जेठ २० गतेको मितिमा शिक्षा शाखा प्रमुख राजेश कुमार यादवले नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई सार्वजनिक सूचनामार्फत जेठ २१ म मावि विजयपुरमा बैठक बोलाएका थिए । पत्रको चलानी नम्बर १३१६ लेखिएको देखिएको छ । पत्रको जबाफमा जेठ २१ को मितिमा चलानी नम्बर ५१ राखेर अर्का शिक्षा शाखा प्रमुख विरेन्द्र प्रसाद चन्द्रवंशीले नगरपालिकाका सबै सामुदायिक विद्यालयलाई सम्बोधन गर्दै बैठक नरहेको सूचना सार्वजनिक गरेका छन् । फतुवा विजयपुर नपाको च.न.१३१६ नम्बरको चलानी रहेको पत्र अनाधिृत रहेको पनि चन्द्रवंशीले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ । दुवै पत्र नगरपालिकाको लेटर प्याडमा रहेका छन् भने दुवैमा छाप पनि लगाइएको छ । चलानी नम्बर निकै फरक रहेको दुवै पत्र सार्वजनिक भएपछि नगरपालिकाको शिक्षा शाखाको आधिकारिक प्रमुख को रहेका हुन् भन्ने विषयमा अन्यौल देखिएको छ । दुई फरक किसिमको सूचना सार्वजनिक भए पनि सोमवार विजयपुर बजारस्थित माध्यमिक विद्यालयमा प्रअहरुको बैठक बस्दै विभिन्न निर्णयहरु गरेको छ । गत भदौ महिनादेखि बाँकी रहेको दिवा खाजाको रकम माग गर्ने, चालु शैक्षिक सत्रको पाठ्यपुस्तकको रकम माग गर्ने, केही शिक्षक तथा कर्मचारीको बाँकी रहेको तलब र भत्ता माग गर्ने, एसआइपि, सेनिटरी प्याड, बुक कर्नरको रकमका साथै प्रअ भत्ताको रकम पनि माग गर्ने निर्णयहरु प्रअ बैठकबाट गरिएका छन् । नगरपालिकाको शिक्षा क्षेत्रका साथै सबै क्षेत्रमा भद्रगोल छ । अहिलेसम्म बजेट चलाउने स्थिति नगरपालिकामा रहेको देखिएको छैन । कार्यवाहक नगर प्रमुख अमेया खातुन र प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालको मनोमानीको कारण नगरमा विकास तथा निर्माणका सम्पूर्ण काम पूर्णतया ठप्प रहेका छन् । नगरपालिकाको शिक्षा शाखामा दुई जना शाखा प्रमुखको हालीमुहाली भएपछि शिक्षा क्षेत्र पनि अन्यौलग्रस्त बनेको छ । अहिलेसम्म पाठ्यपुस्तकको रकम निकासा हुँदा शिक्षक तथा विद्यार्थीहरु मारमा परेका छन् । कावा नगर प्रमुख खातुनका श्रीमान् शेख सेराजले नै नगरपालिका चलाइरहेका छन् । शिक्षा शाखाको आधिकारिक प्रमुख को हुन् भनेर प्रश्न सोध्दा सेराजले राजेश कुमार यादव नै नगरको शिक्षा शाखा प्रमुख भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1