<

रौतहट,२० गते जेठ । रौतहट–रौतहटको गौर नगरपालिकाले पहिलोपटक कृषि एम्बुलेन्स ल्याएको छ । कृषि उपजलाई प्रोत्साहित गर्न तथा पशुपक्षी सम्बन्धित सेवा उपलब्ध गराउने उद्देश्यले गौर नगरपालिकाले कृषि एम्बुलेन्स ल्याएको नगर प्रमुख शम्भु साह कानुले जनाएका छन् । कृषकलाई घर तथा खेतसम्म सेवा दिनको लागि कृषि प्राविधिकको उपयोगको लागि कृषि एम्बुलेन्स ल्याइएको हो । नगरको वातावरणलाई पनि हरियो बनाउन कृषि एम्बुलेन्सले सहयोग गर्ने बताइएको छ । जिल्लाको सदरमुकाम समेत रहेको गौर नगरपालिकाले जिल्लामा कृषि एम्बुलेन्स पहिलोपटक संचालनमा ल्याएको हो । कृषक, पशुपालक, कुखुरा व्यवसायी तथा कृषिसित सम्बन्धित अन्य पेसाकर्मीलाई कृषि एम्बुलेन्सले सहयोग गर्ने विश्वास रहेको छ । कृषि र पशुपक्षीसम्बन्धी सम्पूर्ण समस्या समाधानको लागि कृषि प्राविधिक ठाउँको ठाउँ उपलब्ध गराउन कृषि एम्बुलेन्सले नगरका किसानको हकमा महत्वपूर्ण काम गर्ने नगर प्रमुख साहको भनाइ छ । रौतहटको मौलापुर नगरपालिकाले सम्पूर्ण कृषकलाई विद्युत मिटर निशुल्क उपलब्ध गराएर विद्युत महसुल पनि नगरपालिकाले नै तिरिरहेको छ । कृषकलाई गौरसँगै मौलापुर नगरपालिकाले पनि निकै धेरै सहयोग उपलब्ध गराइरहेको देखिएको छ । गौर नगरपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएपछि सबैतिर सकारात्मक चर्चा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0