<

रौतहट,१७ गते जेठ । वातावरणमा नकारात्मक प्रभाव परिरहेको र हरियालीको अभाव हुँदै गएको वर्तमान परिवेशमा रौतहटको एक पालिकालाई हरित पालिका बनाउने अभियान संचालन गरिएको छ । रौतहटको परोहा नगरपालिकालाई हरित पालिका बनाउने अभियान संचालन भएको हो । अन्य पालिकाले विश्व वातावरण दिवसको दिन गमलामा पानी हालेर सामाजिक संजालमा फोटो हाल्दै हरियाली बचाउने घोषणा गरिरहेका बेला परोहा नगरपालिकाले व्यवहारमा नै हरियालीको प्रबर्धन, संरक्षण तथा विस्तार गरिरहेको छ । निर्वाचनको समयमा गरिएको घोषणालाई व्यवहारमा उतार्दै परोहाले हरियाली प्रबर्धन अभियान नै थालेको हो । नगर प्रमुख शेख वकिलले पन्ध्र किलोमिटर पक्की सडक निर्माण गरेर दुवैतर्फ वृक्षरोपण गरिएको बताउँछन् । सुकदेव चौकदेखि भारतको सिमानासम्म करिब १३ किलोमिटर ट्रयाक खोलेर सडक विभागबाट पिच बनाएर सडकको दुवैतिर वृक्षरोपण गरिएको, यसै गरी हुलाकी सडकको दुवैतिर वृक्षरोपण गरी हुर्काइसकिएको र अन्य सडकहरुमा पनि वृक्षरोपण गरिएको बताउँदै नगर प्रमुख वकिलले अब एक घर दुई बिरुवा अभियान संचालन गर्न थालेको बताएका छन् । हरेक परिवारलाई दुई थान बिरुवा उपलब्ध गराउने तथा हरेकलाई हुर्काउने जिम्मेवारी पनि दिइने नगर प्रमुखको भनाइ छ । हरेक वर्ष पाँचदेखि दश लाख रुपैयासम्म बोटबिरुवालाई सुरक्षाको लागि मात्र खर्च गर्ने गरेको वकिलको भनाइ छ । वातावरणमा सकारात्मक प्रभाव पार्ने, नगरको सौन्दर्यमा वृद्धि हुने तथा सबैको लागि फलदायी हुने भएकोले हरित पालिका अभियान फलदायी बनिरहेको नगर प्रमुख वकिलको भनाइ छ । नगरपालिकाले रोप्नको लागि आवश्यक पर्ने बिरुवा बन कार्यालयबाट ल्याउने गरेको छ । बिरुवालाई घेराबेरा गर्ने, बिरुवा हेर्ने हेरालु, निरन्तर पानी हाल्ने र सिंचाइ गर्ने, गोडमेल गर्ने, सरसफाइ गर्ने काम नगरपालिकाको तर्फबाट हुँदै आएको छ । परोहका प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुजले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यस अभियानमा लगाउने योजना बनाएको बताएका छन् । परोहा नगरपालिकाको हरित नगर अभियानको प्रभावकारिता निकै राम्रो रहेको भन्दै स्थानीयवासीले प्रशंसा गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0