<

भक्तपुर, २५ वैशाख । डण्डी, वालुवा, सिमेन्ट, रोडा आदि आधुनिक निर्माण सामाग्रीको प्रयोग विना नै परम्परागत माटो जोडाइबाटै भक्तपुरको थँंथु दरवारको पुनः निर्माण थालिएको छ। भक्तपुरको दरबारक्षेत्रस्थित ५५ झ्याले दरबारको पछाडिको पहिलाको भक्तपुर नगरपालिकाको कार्यालय रहेको दरबार शिलान्यास गरी पुनः निर्माण थालिएको हो।

यसअघि यो दरबार २०७२ सालको भूकम्पमा परी जिर्ण बनेको थियो। जिर्ण भबनलाई भत्काएर अहिले पुनःनिर्माण थालिएको हो। भक्तपुर नगरपालिका वडा नम्बर ३ मा रहेको यो पुरानो दरबारबाट सरेर हाल भक्तपुर नगरपालिकाको कार्यालय भक्तपुर नगरपालिका वडा नम्बर २ व्यासीको नयाँं भबनमा छ।

कूल १२ करोड ८५ लाख ३४ हजार पाँंच सय १६ रुपैयाँं ९६ पैसाको लागत इष्टमेटमा भक्तपुर नगरपालिकाले दरवारको पुनःनिर्माण थालेको हो। यस थँंथु दरबार भबन पुनःनिर्माण आयोजना क्रमागत आयोजना भएकोले पहिलो चरणमा जमिन तल्लासम्मको कार्यको लागि चार करोड ७२ लाख ९१ हजार एक सय २८ रुपैयाँं ९२ पैसाको बराबरको लगत इष्टमेट अनुसार कार्य अगाडि वढाइएको भक्तपुर नगरपालिकाले जनाएको छ।

माटो जोडाइबाट बनाइने भएकोले सवैभन्दा बढी खर्च काठको लागि जाने र पहिलो चरणमा टेण्डरबाट एक करोड ५८ लाख ७८ हजार आठ सय ४९ रुपैयाँं ३० पैसा बराबरको सालकाठ खरिद गरिएको जनाइएको छ।

यसअघि जिर्ण दरबार भत्काउने कार्यको लागि स्थानीय लक्ष्मीप्रसाद स्वंगमिखाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी असार दुई गतेदेखि भत्काउने कार्य गरी भत्काउने कार्य सम्पन्न गरिएको थियो। उक्त कार्य जम्मा १३ लाख ३० हजार १४ रुपैयाँं सात पैसामा सम्पन्न गर्ने इष्टम गरिएको भए पनि ११ लाख ५१ हजार सात सय २८ रुपैयाँंबाट काम सम्पन्न गरिएको थियो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरानो दरबारलाई पुरानै शैलिमा बनाउने उद्देश्यका साथ माटो जोडाइबाट दरबार पुनः निर्माण गर्ने योजनाका साथ काम थालेको जनाए। ‘दरबारको पुनःनिर्माण अझ पहिलाको भन्दा अलि फरक हुनेछ, उनले भने, २०७२ सालको महाभूकम्प भन्दा अगाडिको शैलिमा दरवार पुनः निर्माण हुन्छ।’

२०७२ सालको भूकम्पबाट नै दरबार जिर्ण रहे पनि बढी बजेटको काम भएकाले दरबारको पुनः निर्माणमा ढिलाई भएको उनको स्पष्टीकरण थियो। २०७२ को भूकम्पपछिको पाँंच वर्षमा नगरभित्रका एक सय २४ वटा सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भएको त्यस अवसरमा उनले बताए।

इतिहास एवं संस्कृतिविद् प्रा.डा. पुरुषोतमलोचन श्रेष्ठका अनुसार यो दरबार ३४६ वर्ष पुरानो दरबार हो। उनका अनुसार यो नेपाल सम्वत् ७८९ अर्थात् ५५ झ्याल दरबार भन्दा अगाडि नै (५५ झ्याल दरबार बनेको नेपाल सम्वत् ८२८) बनेको देखिएको छ। आफूले गरेको अध्ययन अनुसन्धान अनुसार यो दरवार ५५ झ्याले दरवारको एउटा भाग रहेको देखिएको उनले जनाए। ५५ झ्याले दरबारको नामाकरण नै नहुँंदै यो दरबारको नाम थँंथु राजकुल दरबार रहेको पाइएको उनले सुनाए।

दरबार साढे तीन तल्लाको हुने छ। दरबार दुई हजार सात सय १० दशमलब नौ स्वाक्यर फिटको क्षेत्रफलमा रहेको छ। दरबारको संघीय सांसद् प्रेम सुवालले शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रजापति, वागति प्रदेश सांसद सृजना सैंजू, उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मी, भक्तपुर नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बसन्त भटराइलगायतले दरबारका ऐतिहासिक तथा त्यसको महत्त्वबारे चर्चा गरेका थिए। न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0