<

झापा, २२ फागुन ।

क्लब स्थापनाको ९०औँ वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैटौँ  झापा गोल्ड कपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ ।

चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो ।

कठिन जित निकालेर लिग च्याम्पियन चर्च ब्वाइजले अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको छ । चर्च ब्वाइजको जितका लागि एकमात्र गोल विदेशी खेलाडीबाट सम्भव भयो । खेलको ३६औँ मिनेटमा अवयोमी फकुन्लेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दायाँ साइडबाट सञ्जित राई (लाहुरे) ले दिएको पासलाई फकुन्लेले गोल गरेका थिए ।

 

चर्च ब्वाइजका मिलन राईले खेलको ३२औँ मिनेटमा पेनाल्टी एरियामा विपक्षी गोलरक्षकसँग वान टु वानको स्थितिमा पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार गोलरक्षक पुजन होनाले उत्कृष्ट बचाउ गरे । ८५औँ मिनेटमा अनमार्क रहेका बिजु भुजेलले गोलरक्षकलाई बिट गरेर पोष्टको बायाँपट्टि गरेको प्रहार बाहिरिँदा अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

एनआरटीले खेलको २२औँ मिनेटमा पाएको अवसर गुमायो । चर्च ब्वाइजका दीप कार्की बिट भइसकेको समयममा अनमार्क रहेका विदेशी खेलाडी ओलावाले आफिजले गोल गर्न नसक्दा खेल बराबरी गर्न चुकेका थिए । ८०औँ मिनेटमा सरोज तामाङले गरेको फ्रिकिक बार माथिबाट बाहिरिँदा एनआरटी स्तब्ध हुँदै घर फर्किन बाध्य भएको हो ।

एनआरटी पाँचपटकको लिग विजेता हो । एनआरटीले यो वर्ष स्थापनाको ९०औँ वार्षिकोत्सव मनाउन लागेको छ । भर्खरै सम्पन्न केपी ओली कपमा उपविजेता भएको एनआरटी लिग विजेता चर्च ब्वाइजसँग स्तब्ध भएको हो ।

 

खेलको प्लेयर अफ दि म्याच विजेता टिम चर्च ब्वाइजका सञ्जित राई (लाहुरे) भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

 

बुधबारको खेल त्रिभुवन आर्मी एफसी र मछिन्द्र फुटबल क्लबबीच हुनेछ । आर्मी चारपटकको झापा गोल्ड कपको विजेता टोली हो । साविक विजेता आर्मीसँग पहिलोपटक सहभागी हुन लागेको मछिन्द्र एफसीले प्रतिस्पर्धा गर्न लागेको हो ।

 

चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले टिमका मुख्य खेलाडीको अभावमा सोचेअनुसारको प्रदर्शन गर्न नसकिएको बताए । टिम सेट हुन समय नपुगेकाले अवसर सिर्जना भए पनि स्कोर गर्न नसकिएको बताए । चर्च ब्वाइजबाट रािष्ट्रय टिमका लागि चारजना स्टार खेलाडी बन्द प्रशिक्षणमा छन् । उनीहरुको अभाव टिममा खड्किएको प्रशिक्षक राईको भनाइ थियो ।

एनआरटीका प्रशिक्षक जीवन सिङकेमानले फिनिसिङको अभाव टिममा देखिएको बताए । मुख्य दुईजना खेलाडी टिममा नभएका कारण तालमेल नमिलेर हार ब्यहोर्नु दाबी गरे ।

 

फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ ।न्युज करखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0