<

बारा, ६ चैत ।

जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा सोमबार कलैया क्रिकेट क्लब बिजयी भएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कलैयाले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबमाथि ९ विकेटको फराकिलो जीत हात पारेको हो ।

सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन जोडेको थियो । आयोजकका लागि पुजन श्रेष्ठले २६, अजय पटेलले १२ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।

आयोजकलाई सस्तोमा समेटने क्रममा शंकर पौडेल र अरनिको यादवले समान दुई विकेट लिए भने अनिलकुमार साह, कुमार थापा र मनु हवारीले एक–एक विकेट लिए । ८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको कलैयाले ७.३ ओभरमै जीत हात पारेको हो ।

 

कलैयाको जीतमा निरज यादवले बिष्फोटक ब्याटिङ गर्दै ५० रन बनाए । खेलमा अविजित रहेका उनले २२ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । यसैगरी कलैयाका ओपनर साहिल पटेलले १६ र कप्तान त्रितराज दासले १० रन बनाए । आयोजकका लागि प्रभात लामाले एक विकेट लिए ।

 

टिमलाई सानदार जीत दिलाएका निरज प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जनता माध्यमिक विद्यालयका सहप्रध्यानाध्यापक बरुण गौतमले पुरस्कार वितरण गरेका थिए ।

 

आयोजकविरुद्ध सानदार जीत हात पारेपनि कलैया प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै चार अंकका साथ पर्सा क्रिकेट संघ फाइनलमा पुग्दा कलैया र आयोजक उपाधी होडबाट बाहिरिएका हुन् ।

 

कलैयाले आफ्नो पहिलो खेलमा आइतबार पर्सा क्रिकेट संघसंग पाँच विकेटको हार व्यहोरेको थियो । पहिलो खेलमा हार व्यहोरेको कलैयाले दोस्रो खेलमा आयोजकविरुद्ध सान्त्वना जीत हात पार्दै दुई अंक बटुलेको हो । यता लगातार दुई खेलमा पराजित हुँदै आयोजक अंकविहिन बनेको छ । आयोजकले आफ्नो पहिलो खेलमा पर्सा क्रिकेट संघसंग ७७ रनले पराजित भएको थियो ।

 

प्रतियोगिता अन्तर्गत मंगलबारदेखि समूह ‘बी’ का खेल हुनेछन् । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुर क्रिकेट संघ र जनकपुर पिस फाउण्डेशन भिड्दैछन् । यस समूहको तेस्रो टोलीको रुपमा खुकुरी क्रिकेट क्लब भैरहवा रहेको छ ।

 

समूह ‘बी’ को शिर्ष टोलीले पर्सा क्रिकेट संघसंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत्र १० गते हुनेछ । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0