<

काठमाडौं, २६ फागुन ।

नेपाली कांग्रेसका नेता लोकेन्द्र रोकायाले काठमाडौंमा चिया संवाद कार्यक्रमको आयोजना गरेका छन्। बझाङ प्रदेश सभा ‘क’ मा बैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसबाट टिकटका लागि दाबी प्रस्तुत गरेका नेता रोकायाले शनिबार काठमाडौंमा उपलब्ध बझाङवासीसँग चिया संवाद कार्यक्रमको आयोजना गरेका हुन्।

उनले दल विशेषभन्दा पनि बझाङ घर भई काठमाडौंमा उपलब्ध समग्र व्यक्तिलाई चिया संवादमा आमन्त्रण गरिएको बताए। ‘राजनीति समग्र जनताको हितका लागि गरिने विषय हो। उहाँहरूको इच्छा अनुसार नै अगाडि बढ्नसकेमात्र जनअपेक्षा अनुसार काम गर्न सकिन्छ। त्यसैले जनताका भावनाको कदर गर्दै उहाँहरूका विचार सुन्न चिया संवादको आयोजना गरेको हुँ,’ उनले भने।

नेता रोकायाले आफू बन्नका लागि नभई जिल्लामा विकास गर्नका लागि राजनीति गरेकाले सबैको साथ पाउने बताएका छन्। ‘अहिले प्रत्येक जनता सक्षम हुनुहुन्छ। उहाँहरूको सक्षमताको कदर गर्दै जनभावना अनुसार नै काम गर्ने हो। मेरो दाबी पनि त्यसैका लागि हो,’ उनले भने। आफ्नो छोटो समयको आमन्त्रणलाई स्विकारेर कार्यक्रममा उपस्थित भइदिएकोमा रोकायाले सहभागीहरूप्रति आभार व्यक्त गरेका थिए।

कार्यक्रममा कांग्रेस नेता एवम् पूर्वमन्त्री नरेश बहादुर सिंहले सबै बझाङवासीलाई एकै थलोमा जम्मा गरेर भेटघाट गर्ने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरे। उनले अहिले राजनीतिक अवस्था फरक रहेकाले कांग्रेस उपनिर्वाचनमा एक भएर जानुको विकल्प नभएको धारणा राखे।

अहिलेको परिस्थितिको सामना गर्न सक्ने व्यक्तिलाई पार्टीले टिकट दिनुपर्ने उनको धारणा थियो। युवाहरूप्रति राजनीतिक आकर्षण बढ्दो रहेकाले पार्टीलाई उक्त मर्मलाई बुझ्न सक्नुपर्ने सिंहको धारणा थियो। उनले टिकट पाइसकेपछि व्यक्तिभन्दा पनि पार्टीको वृहत्तर हितमा केन्द्रित भएर टिकट पाउने उम्मेदवारलाई जिताउनु पर्ने धारणा राखेका थिए।

यस्तै संविधान सभा सदस्य चन्द्रादेवी जोशीले कम्युनिस्टहरूले कांग्रेसलाई चौतर्फी घेराबन्दी गर्न खोजिरहेको समयमा एक भएर जानुको विकल्प नभएको बताइन्। टिकट पाउनुभन्दा पहिले धेरै व्यक्ति आकांक्षी हुनु लोकतन्त्रमा स्वाभाविकै भए पनि टिकट पाइसकेपछि एक भएर कांग्रेस उम्मेदवारलाई जिताउन प्रतिबद्ध हुनुपर्ने उनको भनाइ थियो। एकताको सन्देश दिन रोकायाले चिया संवाद कार्यक्रम आयोजना गरेर राम्रो सन्देश दिन खोजेको उनले बताइन्।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0