<

रौतहट, २१ फागुन।

आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । दुई दशकअघि उत्खननबाट निस्किएको पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अध्यक्ष साहले सरकारसँग आग्रह गरेका हुन्।

सोमबार बिहान हाल जारी रहेको उत्खननको स्थलगत अनुगमन निरीक्षण पश्चात अध्यक्ष साहले त्यस्तो आग्रह गरेका हुन् । मौलापुरमा जारी पुरातात्विक उत्खननबाट दुनियाँलाई चकित पार्ने तथ्यहरु बाहिर आइरहेको उनले बताएका छन्।

उनले भने, ‘पुरातत्वविदका अनुसार यो नेपालमै अहिलेसम्म भेटिएको सबभन्दा पुरानो अवशेष हो । यस्तो अवशेष दुनियाँमा बिरलै पाइन्छ । यो कति पुरानो हो ? फोटोबाटै बुझन सक्नुहुन्छ । यो हाम्रो पुस्ताका लागि अनुपम उपहार हो । यसको संरक्षण र पुनर्निर्माण गर्न तथा यस पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचीमा सूचीकृत गराउन नेपाल सरकारसँग विशेष अनुरोध गर्दछु ।’

यसअघि मौलापुर नगरपालिका पतौरास्थित पुरातात्विक महादेव मन्दिर गुप्तकालको रहेको जिकिर सुरु भएको थियो। उत्खननपछि नेपालसँगै बेलायतका पुरातत्व बिदहरुले कर्नाटकालीन सेनकालीन भन्दै आएको मन्दिर तथा मन्दिरसँगै उत्खननमा भेटिएको अन्य संरचना गुप्तकालको रहेको दाबी सुरु भएको हो।

भारत बिहार सरकारका अवकास प्राप्त एकजना पुरातत्वविद विधा चौधरीले मन्दिर तथा अन्य संरचनालाई चौथो शताब्दी अर्थात दुई हजार वर्ष अघिको गुतकालको भएको दाबी गरेका थिए। केही महिनाअघि उनी मौलापुर पतौरास्थित पुरातात्विक मन्दिर र मन्दिर छेउ उत्खनन भइरहेको स्थानबाट निस्किरहेको इँटालाई गुप्तकालको भएको दाबी गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।


चौधरीले मन्दिर र त्यहाँ प्राप्त अवशेषहरुको गहन अध्ययन अनुसन्धान जरुरी रहेको बताएका थिए।  यसैबीच पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मन्दिर छेउ भईरहेको उत्खननको स्थलगत निरीक्षणपछि त्यसको विस्तृत अध्ययन अनुसन्धान आवश्यक रहेको बताएका थिए।
नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको बेला एक जना स्थानीयले बारी खन्ने क्रममा मन्दिरको संरचना जमिनमुनि भेटेका थिए ।

 

सोही समय सामान्य उत्खनन गर्दा प्राप्त भएको शिवलिङ्गलाई स्थानीयको सहयोगमा मन्दिर बनाएर पूजाआजा गर्न सुरु गरीएको थियो । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मौलापुर नगरपालिकाले मन्दिरको आधिकारिकता पुष्टिका लागि विभिन्न पुरातत्त्वविदसँग समन्वय गरी अध्ययन सुरू गरेको थियो । करिब डेढ वर्षमा वरिष्ठ पुरातत्त्वविद् स्वर्गिय तारानन्द मिश्रको निगरानीमा पतौरा महादेव मन्दिरको उत्खनन तथा संरक्षण गर्ने काम भएको थियो । अध्ययनको प्रारम्भिक नतिजाले मन्दिरको संरचना कर्णाटकालीन भएको देखिएको थियो।


मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको थियो । बाराको सिम्रौनगढमा कर्णाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो  हुन सक्ने पुरातत्वविदहरुको अनुमान रहेको छ । पूर्व मन्त्री प्रभु साहको पहलमा पतौरा महादेव मन्दिरको  बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्विक टोलीले स्थलगत अध्ययन गरेको थियो। जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायतासमेत लिएर रिचिइ विलिइस र एरिक नायलोरको संयुक्त टोलीले पुरातात्त्विक अध्ययन गरेका थिए ।

२०७६ सालमा   पतौरामा उत्खननको क्रममा रहेको महादेव मन्दिरको बेलायतका पुरातात्वबिदहरुले अध्ययन गरेका थिए। मन्दिर उत्खननको क्रममा निकै पुरानो संरचना प्राप्त भएपछि विशेष पुरातात्त्विक अध्ययन गर्न थालिएको थियो । बेलायती पुरातत्वविदले जमीन मुनि देख्ने एक्सरे मेसिनको सहायताले मन्दिरको ५० मीटर उत्तर सम्म जमीन मुनि संरचना रहेको बताएपछि मौलापुर नगरपालिकाले दुईजना अवकास प्राप्त पुरातत्वविद राखेको छ। २०६७ सालादेखिनै नेपालका पुरातत्वविद देवनाथ तिवारी र अर्का अवकास प्राप्त कर्मचारी उत्खननमा नियमित खट्दै आएको मेयर रिना कुमारी साहले बताएकी छन्। तिवारीका अनुसार पछिल्लो उत्खनन पूरा हुन अझै केहीदिन लाग्ने बताएका छन। हाल उत्खनन भईरहेको स्थानमा जमिन मुनि चौथो सताब्दीको ईट प्रयोग गरिएको पर्खाल र ढोकाको स्वरूप देखिएको छ। उत्खनन सकिएपछि पूर्ण रूपमा यकिन हुने उनको ठम्याई रहेको छ।

बिगतमा कर्नाटकालिन, सेनकालीन र हाल गुप्तकालिन भनिएको पुरातात्विक महादेव मन्दिर लाई नेपाल सरकारले  १०० गन्तब्यको सूचीमा समावेस गरेको थियो। सोही मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनु मौलापुर नगरपालिकाले २०७६ सालदेखि प्रत्येक बर्ष महाशिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ।

यसपटक पनि यही २२ गतेदेखि मधानी महोत्सव आयोजना गरिएको छ। महोत्सवमा बलिउड अभिनेता गोबिन्दादेखि नेपाली नायक पल शाह लगायत नेपाल र भारतका ३० जना कलाकारको प्रस्तुती हुने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन्।

चार दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाईने महोत्सवमा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता हुने आयोजनक मौलापुर नगरपालिकाले जनाएको छ । फागुन २३ गते ३ बजे शिव बारात यात्रा, २४ गते ११ बजे मधानी बिशेष पुजा, २५ गते सांस्कृतिक बिशेष कार्यक्रम र २६ गते अन्तर्राष्ट्रीय दंगल (कुस्ती) प्रतियोगिता राखिएको छ । जहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय पुजारी, खेलाडी, कलाकार लगायतको बिशेष सहभागिता हुँदै छ ।न्युज करखाना ा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0