<

काठमाडौं, १८ फागुन ।

तेह्रथुम छथर गाउँपालिका-५ का ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। प्रहरीले हत्यामा संलग्न व्यक्ति पहिचानसमेत भइसकेको र उनलाई पक्रन मात्रै बाँकी रहेको बताएको छ।

 

‘हामीले हत्यारा पत्ता लगाइसकेका छौं, पक्राउ पर्न मात्रै बाँकी हो,’ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले भने।

 

पाठकका अनुसार ढकालको हत्यामा हालसम्म तिनै व्यक्ति संलग्न देखिन्छन्, जुन दिन ढकालसँग उनी मात्रै अन्तिम समयसम्म थिए।

 

सूर्यविनायक नगरपालिका-८ भक्तपुर सिपाडोलको एउटा गोठमा ढकालको शव हत्या गरेको अवस्थामा गत फागुन ११ गते फेला परेको थियो। उनी फागुन ९ गते बेलुका राति ८ बजे सिपाडोलस्थित डेराबाट बाहिर निस्केका थिए।

 

उक्त घटना अनुसन्धानको क्रममा अन्य दुई जना (एक जना केटा र केटी) पक्राउ परेका थिए।

 

‘घटनाको अन्तिम सिनमा ती दुई व्यक्ति देखिँदैनन्, त्यसकारण हत्या गर्ने व्यक्ति ढकालसँग गोठतिर हिँडेका व्यक्ति मात्रै हुन् भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष हो,’ पाठकलले भने।

 

९ गते राति निस्किएपछि ढकाल ती व्यक्तिसँग सिपाडोलको एउटा पसलमा छिरेका थिए। उक्त पसलमा सडकमा मागेर हिँड्ने एक जना केटा र एक केटी पनि छिरेका थिए। पछि ती दुई जना पसलबाट बाहिर निस्केको देखिन्छ।

 

‘त्यहाँको सिसिटिभी फुटेज हेर्दा ढकाल र फरार व्यक्ति गोठतिर उकालो लागेको देखिन्छ,’ पाठकले भने।

 

‘ढकालको हत्या भएको कुरामा दुविधा छैन। गोठमा छिरेपछि ती व्यक्तिले इँटा-ढुंगा जे-जे भेटे, त्यसैले टाउकोमा हिर्काएर हत्या गरेका हुन्,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टले हत्या भएको देखाइसकेको छ।’

 

के एकै जना व्यक्तिले नै ढकालको हत्या गरेको हो? भन्ने प्रश्नमा डिएसपी पाठक घटनाको अनुसन्धानले त्यही अवस्था देखिएको बताउँछन्।

 

ती व्यक्तिसँग ढकालको के ‘रिसिइबी’ थियो भन्ने अनुसन्धानकै पाटो छ। जबसम्म फरार व्यक्ति पक्राउ पर्दैनन्, तबसम्म घटनाको पर्दा नउघ्रिने डिएसपी पाठकले बताए।

 

‘हामी फरार व्यक्तिलाई खोजी गरिरहेका छौं, हाम्रो अनुसन्धान टोलीले चाँडै पक्राउ गर्छ भन्ने आशा राखौं,’ उनले भने।

 

ती व्यक्तिसँग ढकालको कहिलेदेखि चिनजान थियो भन्ने खुलेको छैन। ‘उनीहरूबीच के कस्तो सम्बन्ध थियो भन्ने अभियुक्त पक्राउपछि खुल्छ,’ उनले भने।

 

यसरी भएको थियो हत्या

तेह्रथुम छथर गाउँपालिका-५ घर भएका ३३ वर्षीय गोपालप्रसाद ढकाल पोहोर चैत महिनामा मलेसियाबाट फर्केका थिए। उनी युरोपियन मुलुक जानको निम्ति आवश्यक तयारी गरिरहेका थिए। ढकाल भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा श्रीमतीसँग बस्दै आएका थिए।

 

प्रहरीका अनुसार उनकी श्रीमती अनलाइन व्यापार तथा नजिकैको एउटा बोर्डिङमा काम गर्थिन्। ढकालकी एक जना छोरी थिइन्। यही फागुन ९ गते राति ८ बजे अचानक ढकाल तेल किन्न भन्दै कोठाबाट निस्किएका थिए। उनको त्यही दिन राति हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

 

सोही ठाउँको वडा कार्यालयनजिकै रोशन बस्नेतको कच्ची इँटा र माटोले बनेको गोठमा उनको शव फेला परेको हो। उनको शव परालले छोपिएको अवस्थामा फेला परेको थियो। हत्या भएको स्थान ढकाल बस्ने कोठाबाट धेरै टाढा होइन।

 

डिएसपी पाठकका अनुसार त्यसपछि ढकाल कोठाबाट नजिकैको एउटा पसलमा पुगेको देखिन्छन्।

 

त्यहाँ पुग्दा अन्य तीन जना व्यक्तिसँग उनको भेट हुन्छ।

 

अनुसन्धानका सिलसिलामा वृत्त जगातीले त्यहाँ भेट भएका अन्य दुई जनालाई पक्राउ गरी हिरासतमा राखेको छ। ती दुई जनामध्ये एक जना केटा र अर्की केटी थिए।

 

‘उनीहरू नजिकैको पाटीमा बस्ने, मागिखाने व्यक्ति हुन्,’ पाठकले भने।

 

उनका अनुसार त्यो पसलमा भेट भएपछि खानपिन भएको देखिन्छ। त्यसपछि ती दुई व्यक्ति (केटा-केटी) छुट्टिन्छन्।

 

‘गोठ भएतिर ढकाल र अहिले हामीले पत्ता लगाएर खोजी गरिरहेका व्यक्ति मात्रै गएका देखिन्छन्,’ पाठकले भने।

 

ती दुबै (केटा-केटी)ले मोबाइल फोन बोक्दैनन्। हत्या गर्ने व्यक्तिसँग मोबाइल नभएको देखिएको पाठकले बताए।

 

हत्या आकस्मिक हो वा पहिलेदेखि बनाइएको योजनाअनुसार हो भन्ने खुलेको छैन।

 

जब तीन जना छुट्टिन्छन्, त्यसपछि हत्या गर्नेले ढकालकै मोबाइलबाट उनकी श्रीमतीलाई फोन गरेका थिए।

 

‘योजनाकारले राति नै दुई लाख रुपैयाँ ठिक पार्नू, नत्र मारिदिन्छु भनी ढकालकी श्रीमतीलाई फोन गरेका छन्,’ डिएसपी पाठकले भने।

 

त्यसलगत्तै ढकालको फोन अफ भयो। यता घरपरिवारमा बेचैनी दौडिरहेकै बेला र खोजीको प्रयास हुन नपाउँदै हत्या भएको थियो।

 

गोठमा पुगेपछि इँटा तथा ढुंगाले टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा हिर्काएर हत्या गरिएको देखिएको पाठकले बताए।

 

मोबाइल अफ भएको भोलिपल्ट फागुन १० गते आफन्तले प्रहरीलाई यो खबर सुनाए। खोजीका लागि वृत्त जगातीमा निवेदन दिए।

 

रकम माग गरिएकाले अपहरण भएको हुनसक्ने आशंका गरी प्रहरीले अनुसन्धान सुरू गर्‍यो। अनुसन्धानकै थालिएको भोलिपल्ट ११ गते गोठमा ढकालको शव फेला परेको भनी खबर आएको थियो।

 

फरार भएका व्यक्तिले अफ गरेर ढकालको मोबाइलसमेत लगेका छन्। ‘पक्राउ पर्न मात्रै बाँकी हो, अन्य सबै कुराहरू पत्ता लागिसकेको छ,’ पाठकले भने।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0