<

बारा, ७ फागुन ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक जीतपुरसिमरा महोत्सव हुने भएको छ। जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर पहिलो जीतपुरसिमरा एक्स्पो र जीतपुरसिमरा महोत्सव २०८० फाल्गुन १८ गतेदेखि लिएर फाल्गुन २९ गतेसम्म आयोजना हुन् लागेको जनाएको छ। जीतपुरसिमरा उपमहानगरको वडा नम्बर ३ बजनीमा महोत्सवको आयोजना हुनलागेको आयोजकले जनाएको छ ।

सोमबार संघकै जीतपुरस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर कृषि र पर्यटनलाई प्राथमिकता दिएर जीतपुरसिमरा महोत्सव हुन् लागेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए।‘कृषि पर्यटन, खेल उद्योग र व्यापार जीतपुर सिमरा बारा–मधेस समृद्धिको आधार’ भन्ने नारासहित फाल्गुन १८ देखि २९ गतेसम्म महोत्सव चल्ने छ। संघका अनुसार महोत्सवको आवश्यक तयारी भइरहेको छ।

महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ। आयोजकका अनुसार महोत्सवमा २०० स्टल रहनेछ भने महोत्सवमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन एकै थलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्‍याउने रहेको छ।

महोत्सवमा सबै जातजाति भाषा संस्कृति झल्किने नृत्य गायन कार्यक्रम, नगरपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरूबीच डान्स आइडल, व्यवसायिक स्टल र नेपाली सेना आर्मीको विषेश कार्यक्रमहरू समावेश गरिएको बताइएको छ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको जीतपुरसिमरा महोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिकाले समेत सहयोग गर्ने भएको छ। जीतपुरसिमरा उपमहानगर सहित वडा र उद्योगसँग समन्वय गरेर महोत्सवको आयोजना गरिएको संघका महासचिव प्रकाश गिरीले पत्रकार सम्मेलनमा जनाएको छ।

फाल्गुन १९ गतेदेखि हुन् लागको महोत्सवमा बिद्यार्थीहरुको लागि रु २५ रुपैयाँ, वृद्ध वृद्धालाई नि:शुल्क तथा युवाहरूसँग ५० रुपैयाँ प्रवेश शुल्क लिने आयोजकले जनाएको छ। महोत्सवमा स्टल राख्नका लागि ८ हजारदेखि २५ हजारसम्म शुल्क लाग्ने र स्थानीय व्यवसायीको हकमा छुटको समेत व्यवस्था गरिएको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए।आयोजकले महोत्सवको कुल लागत करिव ८३ लाख रहेको बताएको छ।

अपाङ्गता र वृद्ध वृद्धाका लागि निःशुल्क प्रवेश तथा महोत्सव अवलोकनको व्यवस्था मिलाइएको छ। महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसमेत रहनेछ। महोत्सव सञ्चालनका लागि विभिन्न विधागत समिति समेत निर्माण गरिएको छ।

उक्त पत्रकार सम्मेलनमा संघका महासचिव प्रकाश गिरि,सदस्य तथा महोत्सव प्रचार प्रसार समितिका संयोजक राजु गिरि, संघका संस्थापक अध्यक्ष घनश्याम गिरिलगाएत बारेली पत्रकारहरूको उपस्थिति रहेको थियो ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0