<

रौतहट, २२ माघ ।

प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी रौतहटले विविध कार्यक्रम गरेर मनाएको छ। सोमबार जिल्ला सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा रहेका बिरामीहरूलाई प्रेस चौतारी नेपालले फलफुल वितरण गरेको थियो।

नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ताको प्रमुख आतिथ्यतामा प्रादेशिक अस्पताल गौरमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरिएको थियो। प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसर पारेर सोमबार अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरिएको हो।

प्रेस चौतारीको स्थापना दिवसकै अवसरमा सोमबार नै जिल्ला सदरमुकाम गौरमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य गुप्ताले नेकपा एमालेले गरेका राम्रा कामको विरोध गर्नेहरूलाई प्रेस चौतारीमा आबद्ध सञ्चारकर्मीहरूले जवाफ दिनुपर्ने बताएका थिए।

देशको राम्रो र गौरवशाली पार्टी नेकपा एमाले भएको र एमालेले गरेका राम्रा कामलाई प्रेस चौतारी आबद्ध सञ्चारकर्मीहरुले खुलेर लेख्नुपर्ने उनले बताएका थिए। सो कार्यक्रममा नेकपा एमालेको लेखा आयोगका केन्द्रीय सदस्य राजकिशोर यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रेस चौतारी नेपाल मधेश प्रदेशका महासचिव गौतम श्रेष्ठले स्वागत मन्तव्य राखेको सो अन्तरक्रिया कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश तिमल्सिना संजय मिश्रा, नेपाल पत्रकार महासङ्घका मधेस प्रदेश सदस्य शैलेन्द्र झा, प्रेस चौतारी नेपाल रौतहटका संस्थापक अध्यक्ष शैलेन्द्र गुप्ता, नेकपा एमाले मधेश प्रदेश सदस्य बालविक्रम कार्की लगायतको उपस्थिति रहेको थियो।

प्रेस चौतारी नेपाल रौतहटका अध्यक्ष उत्तम कुमार उपाध्यायको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रम चौतारीका जिल्ला सचिव मुकेश कुमार शाहले सञ्चालन गरेका थिए।न्युजकारखाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0