सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा सोमबार राष्ट्रिय (मातृभाषा) समाचार सेवा समारोहको शुभारम्भ गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवा
<

राजविराज (सप्तरी), २६ पुस :

राष्ट्रिय समाचार समिति (रासस)ले अवधी (मातृभाषा)मा समाचार बुलेटिन प्रकाशन प्रारम्भ गरेकामा मैथिली साहित्य परिषद् सप्तरीले स्वागत एवं प्रशंसा गरेको छ ।

परिषद्का अध्यक्ष अवधेशकुमार झाले आज एक विज्ञप्ति जारी गरी मातृभाषा (राष्ट्रिय भाषा) मा बुलेटिन प्रकाशन गर्ने योजनाअनुसार पहिलो चरणमा राससले अवधी भाषामा बुलेटिन प्रकाशन गरेकामा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो ।

“मुलुकमा बोलिने मातृभाषाहरूको विकास तथा प्रचारप्रसारमा राससले सुरु गरेको यो योजना प्रभावकारी हुने विश्वास गर्न सकिन्छ । मुलुकमा दोस्रो तथा मधेसमा सबैभन्दा बढी बोलिने मैथिलीसँगै अन्य मातृभाषामा पनि बुलेटिन प्रकाशन हुनुपर्ने हाम्रो माग छ । साथै मैथिलीमा पनि बुलेटिन प्रकाशन गर्न यहाँका स्थानीय तहसँग सहयोग र सहकार्य गर्न अनुरोध गर्न चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अध्यक्ष झाले देश सङ्घीय संरचनामा सङ्घीयता र समावेशी मर्मअनुरुप सरकारको स्वामित्वमा रहेको राससले मातृभाषामा पहिलो पटक समाचार प्रकाशन गरेकामा अहिलेको नेतृत्वलाई धन्यवाद दिनुभएको छ । साथै उहाँले नेपालगञ्ज उपमहानगरपालिकाप्रति पनि कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

मधेस प्रदेशको जनकपुर, जलेश्वर, सिरहा, राजविराज र कोशी प्रदेशको विराटनगरलगायत स्थानमा स्थानीय सरकारसँग समन्वय गरेर मातृभाषाप्रति चासो दिएमा अगामी दिनमा मैथिली भाषामा बुलेटिन प्रकाशन गर्न सकिनेमा उहाँले विज्ञप्तिमा जोड दिनुभएको छ ।

अध्यक्ष झाले मैथिली भाषाप्रति जनकपुरमा रहेको मधेस प्रदेश सरकार र सङ्घीय सरकारले पनि चासो लिनुपर्ने बताउँदै तथ्याङ्कअनुसार नेपाली भाषापछि मैथिलीभाषीको सङ्ख्या नेपालमा बढी रहेकाले मातृभाषा मैथिलीमा पनि राससमा समाचार बुलेटिन शीघ्र सुरु गर्न माग गर्नुभएको छ ।(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0