<

 

काठमाडौँ  पुस ६   

वीरगन्जको जितमा नायक रहे घानाका मिडफिल्डर विलियम ओपोकु, उनले गरे प्रतियोगिताको दोस्रो ह्याट्रिक

— वीरगन्ज युनाइटेडले नेपाल सुपर लिगमा त्यस्तो जित निकालेको छ, जसले शीर्ष चारको समीकरण रोमाञ्चक मात्र होइन, जटिल पनि बनाएको छ । तर, यसले धनगढी एफसीको उद्दार गरेको छ । पोखरा थन्डर्स सुरुमा एक मात्र यस्तो टिम देखिन्थ्यो, जसले प्लेअफ खेल्ने निश्चित गरिसकेको थियो । अब यसमा धनगढी पनि थपिएको छ । यसरी मैदानमै प्रवेश नगर्दै धनगढी भाग्यमानी टिम साबित भयो ।

प्लेअफ समीकरणबाट स्पोर्टिङ इलाम र एफसी चितवन मात्रै बाहिरिएका छन् । बाँकी सबैको गणितीय सम्भावना कायम छ । अब लिग चरणमा चार खेलमात्र बाँकी छ । त्यसमा धनगढी एफसीले पोखरा, झापाले चितवन, बुटवल–लुम्बिनीले वीरगन्ज र ललितपुर सिटीले काठमाडौं रेजर्सको सामना गर्नेछ । यसमध्ये धनगढी र पोखराबीचको खेल एक प्रकारले औचापरिकमात्र हुनेछ । यसको नतिजाले शीर्ष चारको वरीयता भने निर्धारण गर्नेछ ।

शीर्ष चारमा पुग्न ललितपुर, झापा, काठमाडौंले आ–आफ्नो खेल जिते पुग्छ । वीरगन्जका लागि आफू जितेर मात्र पुग्ने छैन, अरूको नतिजामा भर पर्नुपर्नेछ । यसक्रममा धेरैखाले ‘तर र यदि’ पनि लागू हुनेछन् । काठमाडौं र ललितपुरले एक आपसमा खेल्ने भएकाले यी दुई टिममध्ये एक मात्र प्लेअफ पुग्ने पनि हुनसक्छ । यो नै प्रतियोगिताको अन्तिम लिग खेल रहेको छ । यसमै एकै टिम मात्र विजेता हुने भएकाले धनगढीको भाग्य खुलेको हो । काठमाडौं र ललितपुरबीचको खेल बराबरी भएर वीरगन्जले आफ्नो खेल जितेमा शीर्ष चारभित्र स्थान बनाउन सक्छ ।

वीरगन्जका विलियम ओपोकु । उनको ह्याट्रिकमा वीरगन्जको प्रभावशाली जित ।

आखिरमा कसले सोचेको थियो र यस खेलअघि पुछारमा रहेको वीरगन्जले डिफेन्डिङ च्याम्पियनलाई यति ठूलो अन्तरले हराउने छ भनेर ? तर यस्तै अविश्वसनीय जित आत्मसात् गरेपछि वीरगन्जको ७ खेलबाट ८ अंक भएको छ । टोली छैटौं स्थानमा उक्लेको छ । काठमाडौं भने ७ खेलबाट ९ अंकमा सीमित रहेर पाँचौं स्थानमा कायम रह्यो । निश्चित जितको संघारमा रहेर पनि काठमाडौं हार बेहोर्न बाध्य रह्यो । यसको दोष पनि टोलीकै रह्यो ।

सुशील लामाको प्रहार आन्द्रेस निआको हातमा छोएर बाहिरिएकामा रेफ्री सुरोजित दासले पेनाल्टीको निर्णय दिएका थिए । भिडियो रिप्लेमा भने ठ्याक्कै के भएको थियो, त्यो प्रस्ट देखिएन ।

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले त्यो निर्णय विवादास्पद रहेको दाबी गरे र यसैले खेलको दिशा फेरिएको दाबी गरे । दोस्रो हाफ सुरु भएको ४८ सेकेन्डमै वीरगन्जले दोस्रो गोल थप्यो । सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका सुनील खड्काले गोल गरे ।

ओपोकुले ५६ औं मिनेटमा फ्रि–हेडरको मदतमा टिमका लागि तेस्रो गोल गरे । उनले ह्याट्रिकका लागि लामो समय कुर्नुपरेन । यो ५७ औं मिनेटमा सम्भव भयो । यो भने प्रतियोगिताको इतिहासकै एक उत्कृष्ट गोल रह्यो । सुशीलले निकालेको पासमा ओपोकुले लगभग ३० यार्डबाट गरेको प्रहार विपक्षी गोलरक्षक अञ्जल श्रेष्ठ बिट गर्दै गोलमा परिणत भएको थियो । यसअघि पहिलो संस्करणमा काठमाडौंका लागि मेसुके ओलेमोउले ह्याट्रिक गरेका थिए ।

ओपोकुले यस संस्करणमा गरेको गोलसंख्या ५ पुगेको छ । ‘आजको खेल जित्न सक्छौं भनेर त सोचेका थियौं, तर यति धेरै अन्तरले जित्नेबारे सोचेका थिएनौं,’ खेलपछि वीरगन्जका प्रशिक्षक सनोज श्रेष्ठले प्रतिक्रिया दिए । अर्कोतर्फ काठमाडौंका प्रशिक्षक महर्जनले भने आफ्नो प्रशिक्षक जीवनमै यो हार सबैभन्दा पीडादायी रहेको बताउँदै भने, ‘आज हाम्रा अधिकांश खेलाडीले स्वार्थी भएर खेले । त्यसले पनि हाम्रो प्रदर्शन राम्रो हुन नसकेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0