<

 

काठमाडौँ, मङ्सिर १९ गते ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को चारमहिने अभियान प्रभावकारी बन्दै गएको सम्बद्ध नेताहरूले दाबी गरेका छन् । माओवादीले यसअघि दुईमहिने अभियान सञ्चालन गरे पनि खासै प्रभावकारी हुन सकेको थिएन । अघिल्लो अभियानका बखत कतिपय नेताले अभियान सकिँदासमेत अत्तोपत्तो पाएनन् ।

गत भदौ १६ देखि सुरु भएको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान ‘जन जनमा माओवादी, घर घरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु भएको हो। पार्टीका नेताहरूले बैठक, भेला, प्रशिक्षण, सङ्गठन पुनर्गठन, प्रशिक्षण, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरणलगायतका काम पुस १५ गतेसम्म सकिने प्रतिबद्धता जनाएका छन् ।

यो चारमहिने अभियान प्रभावकारी भइरहेको प्रदेशका नेताहरूको अनुभव छ। माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले दुईमहिने अभियानभन्दा चारमहिने अभियान प्रभावकारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको पछिल्लो अभियान प्रभावकारी बन्दै गएको छ । यो बिचमा दसैँ, तिहार, छठलगायतका पर्वले अभियान सुस्ताए जस्तो भयो । अब एक महिनामा अभियान प्रभावकारी बनाउन योजना र कार्यक्रम बनाउँदै छौँ । त्यसमा भेला, प्रशिक्षण बैठक, नयाँ सदस्यता वितरण, नवीकरणका कार्य गर्ने तयारी छ ।” निष्क्रिय रहेका नेताहरू सक्रिय भएको बताउँदै उहाँले गाउँघरमा पुगेर कार्यकर्ता र जनता भेट्न थालेको बताउनुभयो।

पार्टी सचिव एवं मधेश प्रदेशका इन्चार्ज लीलामणि पोखरेलले प्रदेश समिति नहुँदासमेत अभियान प्रभावकारी भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “भर्खर पार्टीमा आएका युवालाई प्रशिक्षित नगरेपछि विचार बुझ्ने कुरा भएन । अवसर मात्रै खोज्न थालेपछि स्वार्थ समूह हाबी भएपछि गुट बनाउँदा प्रदेश कमिटी बन्न सकेन ।” मधेशमा गुट बनाएपछि अर्को गुटलाई पूरै निषेध गर्ने प्रचलन भएकाले पार्टी नराम्रोसँग बिग्रिएको अवस्थामा यो अभियान पार्टीलाई एकताबद्ध गर्न सफल भएको बताउनुभयो ।

आफू प्रदेश इन्चार्ज भएपछि अन्तरजिल्ला कार्यविभाजन गर्दा अभियान प्रभावकारी भएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “केन्द्रीय सदस्यहरूको कार्यविभाजन भयो। नेताहरूको अन्तरजिल्ला र पालिका स्थानान्तरण गरियो । जिल्लाले पालिका र वडाको कार्यविभाजन ग¥यो । त्यसपछि अगुवा कार्यकर्ता भेला गरेर टोलसम्मको कार्यविभाजन भयो ।”

माओवादी केन्द्रका बागमती प्रदेश सचिव इन्द्रबहादुर थिङले योजनाबद्ध रूपमा अभियान जारी राखेको बताउनुभयो। उहाँले भन्नुभयो, “माओवादीले अभियानलाई विगतको तुलनामा राम्रो बनाएर लगेको छ । यो अभियानले जनतामा सकारात्मक सन्देश गएको छ । जनतामा माओवादी फर्किनु पर्छ भन्ने छ । माओवादीप्रति जनताको आशा पुनर्जागृत भएको पाएका छौँ ।”

माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले प्रदेशको अभियान प्रभावकारी रूपमा भइरहेको जानकारी दिनुभयो। “गण्डकीमा अभियान प्रभावकारी रूपमा अगाडि बढेको छ । माओवादी सङ्गठनलाई बलियो र व्यवस्थित बनाउँदै लगिएको छ । अब एक चरण वडाका भेला गरिने छ । प्रदेशका ८८ पालिकामा एक पटक वैचारिक प्रशिक्षण चलाउने तयारी छ,” उहाँले भन्नुभयो ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पार्टी अभियानबाट सङ्गठनलाई जनताको बिचमा जरा टेकाउने काम भएको बताउनुभयो। “पार्टी अभियानले गति लिएको छ । वडासम्मका नेतृत्वमा भएका नेता साथीलाई पार्टीको विचार, दर्शन, अर्थशास्त्रलगायतका विषयमा प्रशिक्षण भइरहेको छ । वडा तहसम्म जनवर्गीय सङ्गठन बनाएर उत्पादन र श्रममा जोड्ने प्रयास गर्दै छौँ । हामी पार्टीलाई जनतामा स्थापित गर्न जनताका काममा केन्द्रित भएका छौँ,” उहाँले भन्नुभयो ।

माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टी अभियान भूकम्प प्रभावित क्षेत्रको उद्धार, उपचार, राहत वितरण, अस्थायी टहरा निर्माणमा केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको अभियान जारी थियो । दसैँतिहार मनाइरहेका थियौँ । तिहारलगत्तै भूकम्प आएपछि सबै अभियान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेका छौँ । अरू जिल्लाका साथीसमेत जुट्नुभएको छ ।”

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष मानसिङ मालले पार्टी अभियान जारी भए पनि प्रदेश इन्चार्ज डिलाराम आचार्य बिरामी हुँदा समस्या भएको बताउनुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0