<

 

काठमाडौं,मंसिर १७,/                  ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा छाड्न आदेश दिएका ७ जना प्रतिवादी आइतबार पनि छुटेका छैनन्।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलले ७ जना प्रतिवादीहरूलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएको थियो। उक्त आदेश जारी भएपनि उनीहरू छुटेका छैनन्।

केन्द्रीय कारागार जगन्नाथदेवलका जेलर ललित बस्नेतका अनुसार धरौटी बुझाएर तीन जना र साधारण तारेखमा एक जना प्रतिवादी छुट्ने प्रक्रियामा छन्।

प्रतिवादीहरू हरिभक्त महर्जन, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी र आशिष बुढाथोकीलाई छाड्न उच्चले आदेश दिएको थियो।

उच्चले हरिभक्तसँग १५ लाख, शमशेर र नरेन्द्रसँग १०-१० लाख रुपैयाँ धरौटी मागेको थियो। पुर्पक्षको लागि थुनामा रहेका आशिष बुढाथोकीलाई पनि साधारण तारेखमा राख्न उच्चले आदेश दिएको थियो।

उनीहरूले उक्त धरौटी बुझाएर कारागारमा आउँदा ढिला भएकाले प्रक्रिया पुर्‍याउने काम नसकिएको जेलर बस्नेतले बताए।

‘जिल्ला अदालतबाट ४ बजेतिर मात्रै फाइल आयो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागमा पठाउँदा ढिला भयो,’ उनले भने, ‘आज ढिला भयो। भोलि उहाँहरू छुट्ने सम्भावना हुन्छ। विभागले के भन्छ त्यसअनुसार हुन्छ।’

उच्च अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग ३० लाख र रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0