<

 

काठमाण्डौ मंसिर १७,/    

– नेपालमा केरामा देखा परेको पानामा रोगको नयाँ प्रजाति टीआर-फोरको सङक्रमण नियन्त्रण हुन सकेको छैन । कृषि वैज्ञानिकहरुको एक टोलीले गरेको अनुसन्धानमा गएको भदौ पहिलो हप्ता कैलालीमा पानामा रोगको टीआर-फोर नामक हानिकारक प्रजाति देखा परेको पुष्टि गरेको थियो ।

त्यसबेला कैलालीको टीकापुरमा देखिएको रोग एक महिनापछि नवलपरासीमा पनि देखिएको थियो । नवलपरासीमा कैलालीबाट रोग सरेको नभइ भारतबाट सरेको अनुमान गरिएको छ । तर अहिलेसम्म रोगको सङक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम हुन सकेको छैन ।

नार्कको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काका अनुसार पानामा रोगलाई तत्कालै नियन्त्रण  गर्न  नसकिए पनि यसलाई फैलिनबाट जोगाउनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ । तत्काल रोग रोकथाम तथा नियन्त्रणका प्रयास नभए केरा व्यवसाय नै जोखिममा पर्ने विज्ञले चेतावनी दिएका छन् ।

देशका अरु ठाउँमा पनि केरामा सङक्रमण देखिन थालेको र नमुना सङ्कलन गरी अनुसन्धानको काम भैरहेको नार्कका बाली रोग विज्ञ डा खड्काले बताउनुभएको छ । कैलालीमा यो रोग देखिनेवित्तिकै चनाखो बन्न विज्ञले स्थानीय सरकार र किसानलाई सुझाएका थिए ।

तर त्यसअनुसार आवश्यक काम नभएको पाइएको छ । नेपालमा अहिले व्यावसायिक रुपमा ‘जी–नाइन’ जातको केरा खेती भइरहेको छ । यो प्रजातिमा नयाँ रोग लागे केराको पुराना पातको फेद कुहिने र धेरै फैलिएपछि बोट ढल्ने हुन्छ । यो रोग गानो र माटो तथा संक्रमित क्षेत्रबाट अर्को ठाउँमा हुने ओसार पसारबाट फैलने विज्ञले बताएका छन् ।

सङ्क्रमण देखिएको केराबारीमा प्रयोग भएको औजार, गाडीको चक्का, मानिसको ओहोरदोहोरबाट पनि रोग सर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन बाली रोग वैज्ञानिक खड्काको आग्रह छ । नार्कले अन्य संघसंस्था तथा पालिकासँग मिलेर रोग नियन्त्रणको प्रयास, बगैँचाको सरसफाइलगायतका काम गरिरहेको छ । पानामा रोगको पछिल्लो अवस्था र जाेखिमबारे छिट्टै थप जानकारी गराउने तयारी पनि भैरहेको नार्कले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0