<

    हमास मंसिर ९

राहत कार्यमा लागेको संस्था रेड क्रसले हमासको कब्जाबाट २४ बन्धक रिहा भएको पुष्टि गरेको छ ।

सामाजिक सञ्जालको पोस्टमा रेड क्रसले लेखेको छ, ‘२४ बन्धकलाई सुरक्षित रिहा गरिएको पुष्टि गर्दा हामी राहत महसुस गरिरहेका छौँ ।’

अर्को एक पोस्टमा संस्थाले भनेको छ, ‘दुवै पक्षबीच आफ्नो निष्पक्ष भूमिका निभाउँदै हामीले यी बन्धकलाई गाजाबाट निकालेर इजिप्टसँग जोडिएको सीमासम्म ल्यायौँ ।’

इजरायली मिडियामा हमासले १३ इजरायली बन्धकलाई राहत कार्यमा लागेको संस्था रेड क्रसको जिम्मा लगाएको खबर आएको थियो । यसअघि हमासले थाइल्याण्डका केही बन्धकलाई छोडेको थियो । थाइल्याण्डका प्रधानमन्त्रीले आफ्ना १२ नागरिक सकुशल रिहा भएको जानकारी दिएका थिए ।

टीभी च्यानल १२ का अनुसार, सबै बन्धकलाई रफाह क्रसिङमार्फत इजिप्ट लगिएको छ । हमासले कहाँनेर बन्धकलाई रेड क्रसको जिम्मा लगायो भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन ।

इजिप्टले इजरायली बन्धक आफ्नो देशमा आइसकेको जानकारी दिएको छ ।

हमास र इजरायलबीच मध्यस्थ गरिरहेको कतारको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘छोडिएका बन्धकहरूमध्ये १३ इजरायली नागरिक हुन्, १० थाइल्याण्ड र एक फिलिपिन्सका नागरिक छन् ।’

इजिप्ट पुगेपछि हमासले छोडेका सबै मानिस अहिले इजरायली सुरक्षा सेवाको साथमा छन् ।

उनीहरूलाई विमानस्थलमा लगिने छ, जहाँबाट सैन्य हेलिकोप्टरमार्फत इजरायल पुर्‍याइने अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

युद्धविरामको सम्झौताअनुसार, पहिलो दिन इजरायलले पनि ३९ प्यालेस्टाइनी कैदीलाई रिहा गर्नुपर्ने छ । इजरायली जेलमा बन्द यी मानिसलाई वेस्ट बैंकमा छोड्नुपर्ने छ । उनीहरूलाई रामल्लाहस्थित बेलुनियामा रिहा गर्नुपर्ने भए पनि त्यहाँ झडप भएको खबर छ ।

७ अक्टोबर एकाबिहानै हमासले जमिन र हवाई बाटोबाट इजरायलभित्र पसेर आक्रमण गरेको थियो । उक्त हमलामा करिब १२ सय मानिस मारिएका थिए ।

यस क्रममा हमासका लडाकुले एक नेपाली विद्यार्थीसमित करिब २ सय ४० मानिसलाई बन्धक बनाएको थियो ।

यसपछि इजरायलले हमासविरुद्ध जवाफी कारबाही गर्दै गाजामा भीषण आक्रमण थालेको थियो । गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलको कारबाहीमा अहिलेसम्म १४ हजार प्यालेस्टाइनीको मृत्यु भएको छ ।

यसैबीच, हमासले रिहा गरेका २४ जनामा नेपालका विपिन जोशी रहे, नरहेको स्पष्ट छैन । उनको अवस्थाबारे समेत अहिलेसम्म कुनै आधिकारिक जानकारी छैन । केही दिनअघि इजरायली डिफेन्स फोर्सका प्रवक्ताले हमासको कब्जामा एक नेपाली नागरिक पनि देखिएको बताएका थिए ।

विपिन जोशीको रिहाइमा सघाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कतारसित आग्रह गरेका छन् । हमास र इजरायलबीच मध्यस्थता गरिरहेको कतारबाट विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखी अहिले नेपाल भ्रमणमा छन् । हिजो साँझ आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री दाहालले विपिनको सकुशल रिहाइमा सघाउन अल–मुरैखीलाई आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0