<

काठमाडौं, ६ मंसिर ।

सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदका लागि ६ जनाको नाम सिफारिस भएको छ । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएका छन् । रिक्त एक पदमा अझै सिफारिस भएको छैन । प्रस्तावित नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरुको नियुक्ति हुनेछ । सर्वोच्च अदालतमा कार्यरत न्यायाधीशहरु उमेरहदका कारण अवकाश भइरहने तर नयाँ सिफारिस हुन नसक्दा साढे दुई वर्षदेखि सर्वोच्च अदालतमा न्यायाधीशहरु रिक्त हुदै आएको थियो ।

अहिले सर्वोच्च अदालतमा २१ मध्ये ७ जना न्यायाधीश छैनन् । यसैबीच सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । २७ कात्तिकमा मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीहरुको सर्वोच्च अदालतमा रिट परेको थियो । न्यायाधीश शर्माको इजलासले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । यो मुद्दालाई मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0