<

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले टिकटक बन्द नभई नियमन गर्नुपर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्दै टिकटक चल्न दिनुपर्ने बताएका हुन् ।

‘बन्द समाधान होइन, अहिले जस्तो बन्द नै गर्ने होइन । यो बन्दलाई टिकटकसँग नियमन गर्न दह्रो  आधार बनोस्,’ उनले भनेका छन्, ‘मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।’

आफ्नो नाममा भएका कयौं फेक आईडीले दु:ख दिएकोसमेत उनले स्मरण गरेका छन् ।

उनले टिकटकमात्रै होइन अन्य सामाजिक सञ्जालहरूलाई पनि अनुगमन, नियम र करको दायरामा ल्याउनु पर्ने बताएका छन् ।

यस्तो छ उनको प्रतिक्रिया

यदि तपाईँहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नुभयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन् । जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।

हामीले यस्ता फेक आइडी बन्द गर्न टिकटकलाई पटक पटक अनुरोध गर्‍यौं । नेपाल प्रहरीको साइबर ब्युरोमा पनि गुहार्‍यौं । नेपाल दूरसञ्चार प्राधिकरण पनि गुहार्‍यौं । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता फेक आइडी हटाउने र मिथ्या सूचना रोक्ने कुरामा ध्यान नदिएको अवस्था थियो ।

मेरो व्यक्तिगत रूपमा धेरै नै फेक आइडीले गर्दा शुभचिन्तकहरूले दु:ख पाउनुभएको अवस्था थियो । तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन ।

यसले विकृति मात्रै ल्याएको मात्र छैन, धेरै नयाँ उद्यमीलाई आफ्नो बजार प्रवर्द्धन गर्ने थलो भएको भएको छ । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूलो platform भएको छ । यति मात्रै हैन टिकटकले नेपाली गीतसङ्गीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको पनि छ ।

अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला । अब भनेको करको दायरामा ल्याउने र टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन,

अब यो बन्दलाई टिकटकसङ नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् । लोकान्तर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0