बारा,९ कात्तिक, २०८०
बाराको निजगढ नगरपालिकाका किसानले असारमा रोपेको धान अहिलेसम्म पसाएको छैन । बाला लाग्ने समयमा धानको बोट फस्टाएको छ तर पसाउने सुरसार छैन । धान खेतमा पटकपटक गोडमेल गरे पनि धान घाँसजस्तै देखिएको छ ।
उक्त क्षेत्रमा किसानले रोपेको धानको नाम हो, ‘डेल्टा रानी’ । निजगढ नगरपालिका–९ का किसान मानबहादुर श्रेष्ठले ८ कट्ठा खेतमा ‘डेल्टा रानी’ जातको धान रोपेका थिए । श्रेष्ठले निजगढकै एउटा एग्रोभेटबाट ‘डेल्टा रानी’ जातको नयाँ बिउ ल्याएर रोपेका हुन् । धान फल्ला र वर्षभरि खाउँला भन्ने आशामा रोपेको धानमा बाला नलागेपछि यतिबेला उनी निराश छन् ।
राम्रो धान हो, फल राम्रो लाग्छ, चाँडो पनि पाक्छ भन्ने वितरकको कुरा सुन्दा अहिले आफू समस्यामा परेको उनी बताउँछन् । श्रेष्ठ मात्र होइन, निजगढका धेरै किसानको व्यथा उस्तै छ । उक्त नगरपालिकाको २, ३, ७, ८ र ९ नम्बर वडाका किसानले लगायको ‘डेल्टा रानी’ जातमा समस्या देखापरेको निजगढ नगरपालिका कृषि शाखाका कृषि प्रसार अधिकृत रिनीचा भण्डारीले बताइन् ।
उनका अनुसार कति किसानकोमा समस्या देखिएको छ भनेर यकिन भने भइसकेको छैन । ‘धानमा बाला नलाग्ने समस्याले धेरै किसान पीडित छन्,’ भण्डारीले भनिन्, ‘कति किसानले उक्त जातको धान लगाएका थिए भन्ने यकिन तथ्याङ्क संकलन भइसकेको छैन । केही किसानको धान बालीमा म आफै गएर पनि हेरेको थिए । ‘डेल्टा रानी’ जातको धान रोपेका कुनै पनि खेतमा बाला लागेको छैन ।’
डेल्टा रानी धान लगाउने निजगढका किसानले यसपालि चामल किनेर खाने अवस्था आएको उनको भनाइ छ । पसाउन नसकेको सबै धान ‘डेल्टा रानी’ जातको धान हो । अरू जातको धान सबै ठाउँमा पहेँलपुर भइसक्यो भने कतै धान भित्र्याएर किसानले तोरी छरिसकेका छन् ।
पाक्ने समयसम्म पनि बाला नलागेर किसान पीडित भएको यो पहिलोपटक भने होइन । हरेक वर्ष विभिन्न जिल्लाका किसानले यस्तो समस्या झेल्दै आएका छन् । विगत वर्षमा चाइनिज धान डीवाई २८ हाइव्रिड, ‘युएस ३१२’ हाइब्रिड, सावा मन्सुली, गरिमा वर्णशङ्कर (हाइब्रिड) लगायत धेरै जातको बिउमा धान नलाग्ने समस्या देखिएको थियो । विभिन्न क्षेत्रका किसानले बर्सेनि यस्ता समस्या झेल्दै आए पनि सरकारले भने बेवास्ता गर्दै आएको छ ।
सूचीकृत जातको बिउले पनि किन दिन्छ धोका ?
‘डेल्टा रानी’ जातको बिउ नेपाल सरकारबाट २०७२ सालमा सूचीकृत जात हो । यो निजगढ जस्तै तराई र भित्री मधेशका लागि सिफारिस गरिएको छ । तर, सिफारिस जातमा पनि बाला नलागेपछि कसरी यस्तो भयो भन्ने धेरैको मनमा प्रश्न उब्जिएको छ ।
हुन त निजगढ नगरपालिकाको केशमा ‘डेल्टा रानी’ जात धानमा नै बाला नलागेको हो, होइन भन्ने पुष्टि भइसकेको छैन । तर, किसानले बाहिर प्याकेटमा लेखिएको नामअनुसार ‘डेल्टा रानी’ जातकै धान हो । यो विषयमा सम्बन्धित निकाय भने बेखबर छ ।
बिउ बिजन गुणस्तर केन्द्रका सूचना अधिकारी डा. प्रकाश आचार्यले यो विषयमा कार्यालयलाई आधिकारिकरूपमा कुनै जानकारी नभएको बताउँछन् । ‘धानमा बाला नलागेको भन्ने खबर हामीलाई थाहा छैन,’ उनी भन्छन्, ‘यो खबर यहाँसम्म नआएको हुनाले अहिले नै किन यस्तो भयो भनेर भन्न सकिँदैन । ‘डेल्टा रानी जात नै हो, होइन त्यो पहिला पहिचान गरेपछि मात्रै समस्याको पहिचान हुन्छ ।’
यद्यपि कहिलेकाही सिफारिस जातमै पनि यस्तो समस्या आउने कृषि अनुसन्धान परिषद् राष्ट्रिय प्रजनन बाली तथा अनुवाशिंक अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत डा. उज्ज्वलकुमार सिंह कुशवाहा बताउँछन् । उनका अनुसार बिउ पुरानो हुँदै गए उत्पादकत्व घट्दै जान्छ । एउटा हाइब्रिड जातको बिउको आयु बढीमा १० वर्षको हुन्छ । तर, नेपालमा एउटा हाइब्रिड जातको बिउ सिफारिस भयो भने अनिश्चित कालसम्म प्रयोग गरिन्छ ।
‘एकपटक सिफारिस भएको जात पुरानो हुँदै जाँदा समयअनुसार त्यसको गुण परिवर्तन हुन सक्छ र वातावरणीय प्रभाव पर्न सक्छ,’ कुशवाहा स्पष्ट पार्छन्, ‘डेल्टा रानी जातमा पनि त्यही भएको हुन सक्छ । यो जात पुरानो भइसक्यो । अहिले ८ वर्ष पुगिसक्यो । दुई वर्ष ट्रायल समय हुन्छ । यो हिसाबले १० वर्ष पुगिसक्यो ।’
सिफारिस गरिएको समयमा उक्त जात राम्रो हुन सक्छ । तर , ८/१० वर्ष पछि जुनसुकै बेला त्यो भेराइटी फेल हुन सक्ने उनी बताउँछन् । त्यसको लागि सरकारले नीति नियम नै बनाउनु पर्ने उनको सुझाव छ । ‘बाला नलाग्ने समस्या सल्ट्याउँन सरकारले नियम कानुन नै बनाउनुपर्छ,’ उनी भन्छन्, ‘१०/१२ वर्ष पछि कि सरकारले फेरि एक पटक भेराइटी टेस्ट गरेर मात्र किसानलाई खेती गर्न दिनुपर्यो, कि त्यो भेराइटी नै उक्त समयपश्चात स्वतः विस्थापित गर्ने नियम ल्याउनुपर्छ । नभए भोलिका दिनमा स्थिती अझै भयावह हुनसक्छ ।’
कुशवाहाका अनुसार नेपाल सरकारले एउटा जातको सिफारिस गरेपछि त्यो अनिश्चितकालसम्म सिफारिस नै रहन्छ । दोस्रोपटक बिउको परीक्षणसमेत हुँदैन । त्यसकारण विदेशी हाइब्रिड १०/१२ वर्षमा स्वतः अस्वीकृत हुने नीति नियम बनाउनुपर्ने सरकारलाई उनको सुझाव छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार हाइब्रिड बिउको १०/१२ वर्ष मात्रै आयु हुन्छ । विदेशमा उक्त समयपश्चात स्वतः बिउ बिक्री/वितरण बन्द हुन्छ । तर, नेपालमा अनिश्तिकालसम्म प्रयोग भइरहने उनको भनाइ छ । ‘केही वर्षअघि गरिमा धानको बिउमा पनि यस्तै समस्या देखिएको थियो । तर, अहिले पनि त्यो बिउ किसानले लगाउन छोडेको छैन । यदि त्यही केश विदेशमा हुन्थ्यो भने स्वतः रोकिन्थ्यो,’ प्राविधिक अधिकृत कुशवाहा उदाहरण दिँदै भन्छन्, ‘नेपालमा नीति नियम नभएका कारण यस्तो समस्या पटक–पटक आइरहन्छ । सरकारले यस्ता नीति नियम बनाउने हो भने यस्ता समस्या स्वतः घट्न थाल्छ ।’
धानको हाइब्रिड बिउ एकदमै संवेदनशील हुन्छ । ‘मकै गहुँलगायत अरू बालीको बिउभन्दा धानको बिउ एकदमै संवेदनशील हुन्छ,’ कुशवाहा भन्छन्, ‘अलिकति तापक्रम घटीबढी भयो भने दाना नै लाग्दैन । निजगढको केशमा पनि तापक्रम नमिलेको हुन सक्छ ।’
प्रत्येक वर्ष श्रेष्ठले ‘शंखर युएस–३१२’ जातको धान रोप्दै आएका थिए । यो वर्ष पनि उनी त्यही जातको धान रोप्ने तरखरमा थिए । तर, उक्त बिउ पाइएन । बिउ वितरकले पनि अन्य जातभन्दा बढी उत्पादन दिन्छ भनेपछि आफूले पनि ‘डेल्टा रानी’ जातको बिउ लगाएको उनको भनाइ छ । श्रेष्ठले प्रतिकेजी २/३ सय तिरेर चार किलो बिउ किनेका थिए ।
साथै हाइब्रिड बिउ पुरानो हुँदै जाँदा उक्त जातबाट आउने प्रतिफल घट्दै जाने, अर्कोतर्फ मलजल र विषादीको लागत बढ्ने भएकाले धेरै पुरानो बिउ बढी प्रयोग गर्न नहुने प्राविधिक अधिकृत डा. कुशवाहा बताउँछन् । ‘नेपालमा निर्वाहमुखी खेती गरिने भएकाले पुरानो जात बढी प्रयोग भइरहेको छ । बजारमा सहजै बिउ पाइने वातावरण निर्माण, मूल्य श्रृङ्खलामा हस्तक्षेप गर्न सक्यो भने नयाँ जातको प्रयोग बढ्ने हो भने धान उत्पादन पनि बढ्ने थियो,’ उनले भने ।
नयाँ जातको बिउ बदलिँदो वातावरणसँगै हुर्कन सक्ने भएकाले उत्पादकत्व बढाउन पुराना बिउ प्रतिस्थापन गर्नु पर्ने डा. कुशवाहाकोे भनाइ छ ।
के भन्छ सरकार ?
कुनै हाइब्रिड बिउमा समस्या देखा परे नेपालमा पनि सूचीकृत जातबाट हटाउन सकिने प्रावधान रहेको बिउविजन गुणस्तर केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी डा. आचार्यले कुनै जातमा समस्या देखियो भने अनि मात्र सूचीबाट हटाउन सकिने बताए ।
‘विदेशमा जस्तै नेपालमा पनि धानको बिउलाई सूचीकृत जातबाट हटाउन सकिने प्रावधान छ,’ उनी स्पष्ट पार्छन्, ‘तर, जब जब त्यो जातले जेनेटिक प्युरिटि मेन्टेन गर्न सकिएन, रोग कीराको एकदमै समस्या पर्यो भने हामीले पनि सूचीबाट हटाउँछौँ । तर, यति वर्षमा नै हटाउनु पर्छ भन्ने प्रावधान छैन ।’
यस्तै, कुनै जातमा समस्या देखा परे पनि त्यसको सुधार गरेर फेरि प्रयोग पनि गर्न सकिन्छ । कृषि अनुसन्धान परिषद् (नार्क) ले बिउको जातीय सुधार अन्तर्गत प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने तथा मेन्टेन गर्ने काम गर्छ । जसले गर्दा ४०/५० वर्ष अघिका धानका जात अहिले पनि किसानहरूले प्रयोग गर्दै आएको उनको भनाइ छ ।
‘हुन त नयाँ–नयाँ जातको खोज अनुसन्धान गरेर पत्ता लगाउनु पर्ने आवश्यकता त छ,’ केन्द्रका सूचना अधिकारी डा. आचार्य भन्छन्, ‘तर, १०/१२ वर्ष भन्दा धेरै वर्ष पुराना जातहरू अहिले पनि नेपालमा प्रयोग भइरहेका छन् । नार्कले बिउको मेन्टेन गरेर उत्पादन पनि राम्रो दिइरहेको छ । यति वर्ष पछि हटाउनै पर्छ भन्ने हुँदैन ।’
सूचीकृत जात भए पनि हाइब्रिड बिउमा जुनसुकै देशमा समस्या देखिने उनी बताउँछन् । हाइब्रिड बिउ एकदमै संवेदनशील हुन्छ । थोरै हावापानी, तापक्रममा तलमाथि हुनेबित्तिकै समस्या देखा पर्ने आचार्यको भनाइ छ । नेपालमा अधिकांश विदेशी हाइब्रिड धानको बिउ किसानको रोजाइमा पर्ने गरेको छ । नेपालमा हालसम्म दुई वटा हाइब्रिड धानको बिउ विकास भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हर्दिनाथ हाइब्रिड–१ र हर्दिनाथ हाइब्रिड–३ गरी दुई जात मात्र विकास गरेको छ । उक्त हाइब्रिड बिउ धेरैजसो तराई क्षेत्रमा लगाइन्छ । पछिल्लो समय किसानमा हाइब्रिड जातको बिउ प्रति आकर्षित हुँदा बिउमा परनिर्भरता बढेको छ । जसले गर्दा प्रत्येक वर्ष किसान ठगिने गरेका छन् ।
पछिल्लो समय सरकारले नै सूचीकृत गरेको हाइब्रिड धानको बिउबाट बाला नै नलागे समस्या देखा परिरहेको छ । मुख्य अन्न बाली नै सप्रिन नसकेपछि बर्सेनि धानको उत्पादकत्व घट्दै गएको छ । फरकधार